संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला छिमेकी देशका कारण पनि यो ट्रान्जिट बनेको छ । यति मात्र होइन, विश्वसँग यसको आफ्नै सम्बन्ध छ । हवाई उड्डयनले यसलाई विश्वका धेरैजसो देशसँग जोडेको छ । कोरोना महामारीले गर्दा यो सम्बन्ध र सम्पर्क नेपाली जनस्वास्थ्यका लागि उच्च खतरा बनिरहेको छ । हाल देशमा फैलिइरहेको कोरोना महामारीको दोस्रो लहरमा विश्वका विभिन्न भ्यारियन्टको मिसावट नेपालमा पाइन थालेको विज्ञ तथा विशेषज्ञहरूको अनुसन्धानसँगै कल्पना गरिएकोभन्दा खतरा निम्तने देखिएको छ । हाल देशमा यूके भ्यारियन्ट, अफ्रिकी एपी–वान र दिल्ली भ्यारियन्टले एकसाथ आक्रमण गरिरहेका छन् । यी एक्लाएक्लै पनि र मिश्रित रूपमा पनि देखिने खतरा बढेर गएको छ । पहिलो लहरभन्दा भिन्न रूपमा देखिएका यी भ्यारियन्टको आक्रामक क्षमता पनि बढी छ । यिनले मानिसको मिर्गाैला र कलेजोमा बढी आक्रमण गरिरहेका छन् । छातीमा गरिने आक्रमण पनि पहिलेको लहरमा भन्दा निकै आक्रामक र गम्भीर प्रकृतिको रहेको छ ।

यी भ्यारियन्टले लक्षण पनि भिन्न देखाउने गरिरहेका छन् । पहिले देखिएका लक्षणमा थप नाकबाट निरन्तर सिँगान बगिरहने, शरीरको तौल घट्ने, खानामा रुचि नहुने, लगातार पखाला लाग्ने आदि देखिएका छन् । शरीर पनि बढी दुख्ने र आँखा पोल्ने वा च्यातिएझैं हुनेगरी टाउको दुख्ने लक्षण पनि थप देखिएको छ । यस्तो बेलामा नेपालमा औषधिको अभाव हुने र सेवा नपाइने हो कि भन्ने चिन्ता बढेर गएको छ । दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै गइरहेको छ । तथापि, यसको रोकथामका लागि हालसम्म प्रयोगमा ल्याइएका अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजनको चरम अभाव हुँदै गइरहेको सेवा प्रदायक नै स्वीकार गरिरहेका छन् । दैनिक संक्रमणदर २ हजारमाथि हुँदै गएको छ । आम नागरिकले पहिलो चरणको पहिलो खोप पनि पाएका छैनन् । चीनबाट ल्याइएको खोप पनि प्रभावकारी रूपमा लगाउन सकिएको छैन । यता अस्पतालमा भर्ना भएका संक्रमितहरू गम्भीर अवस्थामा रहेका छन् । यिनीहरूलाई व्यवस्थित उपचारको सम्भावना कमै छ । सरकारी प्रतिबद्धता केवल प्रतिबद्धतामा सीमित नरहून् भन्ने जनताको चाहना छ । एकै दिनमा २ हजार ३ सय ५१ जना संक्रमित थपिन थालेका छन् भने एकै दिनमा १० जनाको मृत्यु हुन थालेको छ ।

यस्तो बेला बिनाढिलाइ स्वास्थ्य सेवा दिइने ठाउँमा आवश्यक औषधि तथा सामग्रीको व्यवस्था गरिनु जरुरी छ । अस्पतालमा अक्सिजन प्लान्ट अभाव हुन नदिन र कोरोना कक्ष निर्माण गरी सेवा दिन सरकारले पनि आवश्यक सहयोग र सहकार्य गर्नु जरुरी छ । यसका साथै स्वास्थ्य अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारी आदिको सेवासुविधा र सुरक्षाका लागि विशेष ध्यान दिइनुपर्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रले समय छँदै उच्च प्राथमिकताका साथ पहल लिनु जरुरी छ । मानवसेवाका लागि समर्पित हुनु मानव जातिका लागि सबैभन्दा ठूलो उपकार हो भन्ने नैतिक मान्यतालाई पनि बढावा दिनु जरुरी छ । संक्रमण रोकथामका लागि सबै पक्ष गम्भीर बन ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल