उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनता संरक्षणमा नेपाली सेनाको स्थापनाकालदेखि नै गौरवमय सुनौलो इतिहास रहँदै आएको बताए । सरकारले अबलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोचबमोजिम एक नागरिक एक फलफूलको बिरुवा कार्यक्रमअनुरूप नेपाली सेनाले उदयपुरको रौतामा गरेको बृहत् वृक्षरोपणको उनले प्रशंसा गरेका प्रशंसा गरेका छन् । उदयपुरको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल रौता पोखरीमा सेनाले गरेको बृहत् वृक्षरोपणको मुख्यमन्त्री राईले प्रशंसा गरेका हुन् ।
मुख्यमन्त्री राईले उदयपुरको रौतामाई गाउँपालिकाको रौता पोखरी परिसरमा नेपाली सेनाद्वारा आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएको हो । उनले केन्दीकृत शासन पद्धतिलाई फड्को मारेर मुलुक अहिले विकास र समृद्विको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको र सुखि नेपाली समृद्व नेपालको यस महान् अभियानमा नेपाली सेना हरपल सबैको साथमा रहेको बताए । उनले मुलकमा स्थिर सरकार र स्थायी शान्ति नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने भएकाले अबको दिनमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले संघीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकताअनुसार विकास निर्माणका काम गर्नेबेला आएको बताए ।
‘द्वन्द र केन्द्रीकृत शासन प्रणालीबाट गुज्रिएर आर्थिक विकासमा निकै पछि परेको नेपाललाई सभ्य र समृद्ध बनाउने सबैको सामूहिक दायित्व भएको भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘विगतमा १० हजारको योजना ल्याउन सिंहदरबार धाउँदा पनि नसकिने अवस्था थियो तर अहिले स्थानीय सरकार, अलि परको प्रदेश सरकार र त्योभन्दा परको संघीय सरकारले करोडौंको बजेट गाउँगाउँमा पु¥याइरहेको छ ।’ उनले पर्यटकीयस्थल रौता पोखरी क्षेत्रमा पर्यटन प्रवद्र्वन गरी आकर्षक गन्तव्य बनाउन रौतामाई गाउँपालिकाले तयार पारेको गुरु योजनाअनुरूप बजेट उपलब्ध गराउन आफू तयार रहेको बताए ।
रौता पोखरी आसपासमा खाली रहेको करिब ५ सय हेक्टर क्षेत्रफल जमिनमा नेपाली सेनाले वृक्षरोपण गरेको छ । नेपाली सेना १८ नम्बर बाहिनीको नेतृत्वमा टिमुर ३ हजार, तेजपात ३ हजार र नासपाती ३ सय गरी जम्मा ६ हजार ३ सय बिरुवा रोपिएको हो । स्थानीय रौतामाई गाउँपालिका उदयपुरले उपलब्ध गराएको ५ सय हेक्टर क्षेत्रफलमा मुख्यमन्त्री राई र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले वृक्षरोपण गरेका हुन् ।






