काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि आइसोलेसन केन्द्र स्थापना गर्न थालेका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको पहलमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।
पनौती नगरपालिकाले नगरमा बढ्दै गएको कोरोना संक्रमितको संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचारको सहजताका लागि अक्सिजनसहितको २५ शैयाको आइसोलेसन केन्द्र स्थापना गरेको छ । आइसोलेसन केन्द्र स्थापना गरेको हो । आइसोलेसन नगरपालिका–४ स्थित वडा कार्यालयमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
अक्सिजनसहित स्थापना गरिएको आइसोलेसन केन्द्रमा रहेका प्रत्येक बेडमा अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले जानकारी दिइन् । उनका अनुसार बिरामीको हेरचाहका लागि २४ घण्टै स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ का बिरामी संख्याका आधारमा स्वास्थ्यकर्मी खटाइने उनले बताइन् । पनौती नगरपालिकासँग ८० वटा बेड रहेको र आवश्यकता परेको खण्डमा आइसोलेसन केन्द्रमा बेड थप गर्न योजना उपप्रमुख बन्जाराले सुनाइन् ।
जिल्लाको चौंरीदेउराली गाउँपालिकामा पनि अक्सिजनसहितको आइसोलेसन कक्ष तयार भएको छ । गाउँपालिकाले तीन स्थानमा १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेसँगै वडा नम्बर–५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० बेडको आइसोलेसन कक्ष तयार भएको हो ।
गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार एक जना संक्रमित सो आइसोलेसनमा भर्ना भएको छ । ‘गाउँ कार्यपालिका र स्वास्थ्य संस्थाका प्रमुखको बैठकले निर्णय गरेबमोजिम हामीले अक्सिजन सिलिन्डर समेत खरिद गरी ल्याइसकेका छौं ।’ अध्यक्ष गौतमले भने, ‘२० सिलिन्डर तयारी अवस्थामा राख्ने योजनाअनुसार १० वटा ठूलो सिलिन्डर ल्याइसकेका छौं बाँकी पनि चाँडै आइपुग्नेछ ।’
गाउँपालिकाले तोकिएको २ वटा स्वास्थ्य संस्थामा भने आइसोलेसन कक्ष निर्माणको तयारी तीव्र गतिमा भइरहेको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । ‘भोलिसम्ममा वडा नम्बर–२ मा रहेको डीसीडब्लूसी सामुदायिक अस्पताल र वडा नम्बर–३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष तयारी हुनेछ ।’
त्यस्तै जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा अक्सिजनसहितको ४० शøयाको आइसोलेसन केन्द्र स्थापना गरेको छ । नगरपालिका–४ स्थित जनक बहुमुखी क्याम्पसमा स्थापना गरिएको आइसोलेसनमा केन्द्रमा हाल एक जना संक्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ । संयुक्त रूपमा स्थापना गरिएको आइसोलेसन केन्द्रमा दुवै पालिकाबाट एक÷एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड–१९ का बिरामीको संख्याको आधारमा दुवै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।






