मानपुर दाङकी रविना क्षेत्रीले २ कट्ठा जग्गामा साउन २०७७ मा गोलभेंडा खेती गरिन् । गोलभेंडाका बिरुवामा एक्कासी किरा लागेपछि रबिनाले घोराहीको अनुप एग्रोभेटबाट ‘साइफर मिथेन’ नामक विषादी किनेर ल्याइन् ।
गोलभेंडाका बिरुवालाई किराबाट जोगाउन उनले विषादी त किनेर ल्याइन् तर कसरी छर्कने थाहा थिएन । तैपनि बिरुवामा बिषादी छर्किइन् । पछि थाहा भयो कि रबिनाले आबश्यकता भन्दा बढी बिषादी छर्केकी रहिछन् । जसको असर अर्को पटक गोलभेँडा खेती गर्दा देखियो, उत्पादन राम्रो भएन । उनी भन्छिन्, ‘गाउँमा कृषि प्राविधिक आउँदैनन् । विषादी छर्किने ज्ञान नहुँदा बर्षेनी उब्जनी घट्दै गएको छ ।’ घट्दो उब्जनीले उनी चिन्तित छन् ।
काभ्रे मुडेका रोशन पाण्डेले ४ कट्ठा जग्गामा सिमी खेती गर्दै आएका छन् । पाण्डेले खेती गरेको सिमीमा एकाएक ‘लाई’ किरा देखा पर्यो । त्यसपछि धुलिखेलस्थित रोश्ना एग्रोभेटबाट किनेर ल्याएको रासायनिक विषादी सिमीमा छर्किए, लाई मार्न । जतिबेला उनलाई बिषादीको मात्रा कति प्रयोग गर्ने भन्ने थाहा थिएन । पाण्डे भन्छन्, ‘के गर्नु विषादि प्रयोग नगरी उब्जनी हुँदैन ।’ तर, यो वर्ष सिमी खेती गरेको माटोको उर्वराशक्तिमा ह्रास आएर उत्पादन नै घटेको उनले गुनासो गरे । बाली संरक्षण अधिकृत मनोज पोखरेल स्थानीय तहमा कृषिसम्बन्धी ज्ञान भएका व्यक्ति नहुँदा विषादीको समुचित प्रयोग हुन नसकेको बताउँछन् ।
खेतीयोग्य जमिनमा रासायनिक विषादिको समुचित प्रयोग हुन नसक्दा माटोको उर्वराशक्तिमा बर्षेनी ह्रास हुँदै गएको छ । अधिकांश किसानमा विषादी कसरी प्रयोग गर्ने भन्ने ज्ञान छैन । तर छोटो समयमै धेरै उत्पादन गरी अधिक फाइदा हाता पार्ने लोभमा खेतीयोग्य जमिनमा अत्यधिक विषादिको प्रयोग गर्ने गरिएको छ । कुन बिरुवामा कति मात्रामा विषादी प्रयोग गर्नुपर्छ भनेर एग्रोभेट भनिने कृषि सामग्री विक्रेताहरुले किसानलाई बुझाउन नसक्दा यस्तो समस्या बढ्दै गएको हुन सक्ने विज्ञहरु बताउँछन् । कतिपय किसानले सुरुमै कडा खालको औषधि प्रयोग गर्ने गरेको पाइएको बालीविज्ञ प्रतिमा पौडेल बताउँछिन् । विषादिको जथाभावी प्रयोगले वातावरणमा समेत प्रतिकुल असर पार्ने पौडेलको भनाई छ ।
रु. ९५ करोडको बिषादी
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लाण्ट क्वारेन्टाइन एबम् विषादी व्यवस्थापन केन्द्रको २०७५/०७६ को तथ्यांक अनुसार नेपालमा ६ सय ३५ मेट्रीक टन विषादी आयात भएको थियो । यो परिमाणको बिषादी आयातमा रु. ९५ करोड ८९ लाख ७१ हजार ९१० खर्च भएको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लाण्ट क्वारेन्टाइन एबम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार विषादीको जथाभावी प्रयोगले ओजोन तहमा छिद्र, जैविक विविधतामा ह्रास, माटोमा प्रदुषण, वायु प्रदुषण तथा कृषि उत्पादनमा लागत बढ्ने हुन्छ । हुमागाई भन्छन्, ‘कडा खालको विषादी प्रयोगले माटोमा रहने सुक्ष्म जीवहरुको मृत्यु हुन्छ, यसो हुँदा माटो मृत्युतुल्य हुन्छ । जसबाट माटोको उर्वराशक्ती ह्रास हुन्छ ।’
केन्द्रका प्रमुख हुँमागाई रासायनिक विषादीको सट्टा जैविक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् । केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ वाली संरक्षण अधिकृत राजीवदास भण्डारीका अनुसार नेपालमा प्रतिहेक्टर ३९६ ग्राम विषादी खपत हुने गरेको छ । उनले भने, ‘तरकारीमा प्रतिहेक्टर १६०० ग्राम विषादी प्रयोग हुने गरेको छ ।’ तरकारीमा बिषादीको प्रयोग कुन हदसम्म भएको थियो भन्ने थाहा पाउन २ बर्षअघि काठमाडौंको कालिमाटी तरकारी बजारमा गरिएको नमूना परीक्षण नै काफी छ । २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७ हजार ४४३ नमुना परीक्षणमा ६४ वटा तरकारी खान अयोग्य भएको पाइएको थियो ।
अत्यधिक विषादी प्रयोग गरिएका यस्ता खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गर्दछ । त्यस्ता खाद्यवस्तुको उपभोगले क्यान्सर, पक्षघात, मुटुरोग, मृगौलाले काम नगर्ने जस्ता समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमाल विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको बताउँछन् । उनी भन्छन्, ‘विषादीको प्रयोगले मधुमेह बढ्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।’ विषादीको प्रयोग बढि भएको ठाउँमा क्यान्सरका बिरामी भेटिएको उनले बताए । सहि तरीकाले विषादी प्रयोग नगर्दा टाउको दुख्ने, रिगंटा लाग्ने, बेहोस हुने जस्ता तत्कालीन समस्यासमेत देखा पर्ने गरेको डा. धिमालले उल्लेख गरे ।
आफूखुसी विषादी प्रयोगले आयातकर्ता, बिक्रेता र किसान सबैभन्दा बढी जोखिममा परेका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार संसारभर हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ । साथै केन्द्रका अनुसार विश्वमा विषादीकै कारण हरेक बर्ष ३ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
केन्द्रले तयार पारेको पुस्तिकामा नेपाल धेरै विषादी प्रयोग हुने देश नभए पनि विषादी प्रयोग गर्ने तरीका खतरनाक रहेको औल्याइएको छ । पुस्तकमा भनिएको छ,‘नेपाल जस्ता जथाभावी विषादीको प्रयोग गर्ने देशमा ज्यादै धेरै मानिसको शरीरमा विषादीको अवशेष पाइन्छ ।’
केन्द्रका अनुसार दुई किसिमा बिषादी हुन्छन्, वातावरणमा क्षय हुँदै जाने र थुप्रिदैं जाने । जसमध्ये पहिलो किसिमका विषादी वातावरण (पानी, हावा, प्रकाश, ताप) को सम्पर्कमा आइसकेपछि विस्तारै क्षय हुँदै जान्छन् । दोस्रो किसिमका बिषादी वातावरणमा थोरै दिन रहेपछि आफै क्षय भएर जान्छन् । डाइमेथोयट (नुगर, रोगर, डाइमेट),मालाथायन, डाइक्लोरभोस (डुम,भेपोना), फेनिट्रोथिओन (फोलोथिओन) यसमा पर्दछन् ।
उपभोक्ता अधिकारकर्मी माधब तिमल्सिना रासायनिक विषादीको छ्यापछ्याप्ती विक्री नियन्त्रणका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विषादी विष हो, औषधि होइन । तर पनि बजारमा औषधि भनी विक्री भइरहेको छ ।’ यसलाई उपभोक्तामाथि खेलवाड ठान्छन् उनी ।
कृषि विकास मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले जनशक्ती अभावमा विषादीको प्रयोग सम्बन्धमा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार्छन् । यद्यपि अनुगमन नियमित प्रकृया भएको उनको भनाई छ । कृषि प्राविधिकको दरबन्दी खुल्न नसकेको कारण पनि विषादी प्रयोगको अवस्था ’bout अनुगमनका कार्यक्रमहरु प्रभाबित भएको उनले बताए ।
बिषादीले पारेको असरपछि सरकारले २०५७ चैत २७ देखि २०७६ साउन १९ सम्म २४ प्रकारका विषादिमा प्रतिवन्ध लगाएको छ । जसमा क्लोरडेन, डीडीटी, डाईअल्ड्रिन, ईन्ड्रिन, हेप्टाक्लोर, मीरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करी क्लोराईड, मिथायल पाराथियन, मनोक्रोटोफस, इण्डोसल्फान, फोरेट, कार्वोफ्यूरान, कार्बारील, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्बोसल्फान, एलम्यूनियम फोस्फाइड ३ ग्राम टेव्लेट छन् । कृषि प्राविधिक शुलभ बैद्यले अबैध तरीकाले भारत लगायतका देशबाट प्रतिवन्धीत विषादि भित्रीने गरेको बताए । उनले भने,‘अहिले भारत लगायतका देशबाट प्रतिवन्धीत विषादी अबैध तबरबाट भित्रिरहेको छ भने केहि स्टकमा पनि छन् । अधिकांश किसानहरुलाई विषादी प्रयोग ’boutमा ज्ञान छैन । दक्ष जनशक्तीको अभाव हुँदा पनि किसानहरु मर्कामा परेका छन् । राज्य संयन्त्रले यस्तो विषयमा निगरानी बढाउनुपर्छ ।’ उनले प्रतिवन्धीत विषादी रोकथाममा राज्यले एग्रोभेटहरुको निगरानी बढाउनुपर्ने र एग्रोभेटहरुपनि सचेत हुनुपर्ने बताए ।
कडा विषादी प्रयोग सम्वन्धमा कसुर, सजाय र क्षतिपूर्तिको व्यवस्था गरिएको छ । जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ मा वातावरण प्रदुषण हुने गरी जीवनाशक विषादी प्रयोग गरेमा, जीवनाशक विषादी व्यवस्थापनमा अवरोध पु¥याएमा, विषादीको जथाभावि प्रयोग वा मिसावटयुक्त विषादी विक्री वितरण गरिएमा अधिकतम एक लाख रुपैंयासम्म जरीवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।






