सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को ठगी मुद्दामा प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले उनीहरुलाई थुनामै पठाउने आदेश गरेको हो । तिनै जना प्रतिवादीहरु यसअघिको आदेशले करिब २ वर्षदेखि कारागारमै थिए ।

स्रेस्तेदार राजन खनालले भने, ‘केही दिनअघि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता भएकामा सहकारीको बिगोको हकमा पूरक जाहेरी परेको थियो । प्रतिवादीहरुको बयान गरेर थुनछेक गर्दाखेरी थुनाकै निरन्तरता भएको हो ।’

पोखराको चर्चित ठगी प्रकरण सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धिकरण तथा संगठित अपराध मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेतका प्रतिवादीहरुका सम्बन्धमा भने ठगी मुद्दा यथावत् राखी सम्पत्ति शुद्धीकरण, संगठित अपराध एवं नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतका मुद्दाहरु फिर्ता लिने आदेश गरेको थियो । गत ८ जेठमा न्यायाधीश हिमलाल बेल्बासेको इजालासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयबमोजिम जिल्ला सरकारी वकिल कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै अभियोग संशोधनको अनुमति दिएको थियो ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा ६३ जनालाई प्रतिवादी बनाइएको छ । एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ तीन पैसा बिगो माग दाबी गर्दै जिल्ला अदालतमा गत वर्ष पूरक तथा थप समेतका अभियोगपत्र दायर भएको थियो । सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्तापछि भने ठगी मुद्दामात्र अदालतमा विचाराधीन छ ।

केही दिनअघि मात्रै अर्का प्रतिवादी महेन्द्रबहादुर गुरुङ (महेन्द्र भोटे) लाई जिल्ला अदालतले तोकिएको अभियोगमा तोकिएको बिगो रकम बुझाउनुपर्ने शर्त राख्दै ५ लाख धरौटीमा रिहाको आदेश दिएको थियो ।

यसैगरी, कारागारमा रहेका बाँकी प्रतिवादीहरुविरुद्ध सहकारीको बिगोका सम्बन्धमा पूरक जाहेरी परेकामा शुक्रबार थुनछेक बहस भएको हो ।

प्रतिवादीहरुका तर्फबाट अधिवक्ता दीपेन्द्र खतिवडा, अधिवक्ता हेमराज अधिकारी, दीपक पराजुलीले बहस गरेका हुन् । अधिवक्ता हेमराज अधिकारीले बहसका क्रममा पक्षहरु अर्याल र भट्टराई सूर्यदर्शन सहकारी संस्थाको वास्तविक संचालन नभई गोर्खा वेब लिंक प्रालिको प्राविधिक कर्मचारी मात्र रहेको र अभियोगमा व्यक्तिगत बिगो नखुलाइएकाले थुनामा राखिराख्नु उचित नभएको भन्दै साधारण तारेखमा रिहा हुनुपर्ने जिकिर गरेका थिए ।

उनले भने, ‘बिगोसम्बन्धी विषयमा २ वर्षभन्दा बढी समय प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखिराख्नु कानूनसम्मत हुँदैन । त्यसैले पछि फैसलामा ठहरेबमोजिम हुने गरी हाललाई बिनाशर्त साधारण तारेखमा छाड्नुपर्छ ।’ तर अदालतले प्रतिवादीको बहस जिकिरमा साधारण तारेखमा रिहा गर्न इन्कार गरेको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेकी थिइन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य प्रतिवादी जीबी राई हालसम्म फरार छन् । अर्का प्रतिवादी कैलास दर्लामी जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामा अझसम्म फर्केका छैनन् । बाँकी प्रतिवादीहरु सबै फरार सूचीमा छन् ।

अघिल्लो वर्ष ८४ दिनको हिरासत बसाइँपछि रास्वपा सभापति लामिछानेसमेत ७ जना प्रतिवादीलाई यही सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्ने आदेश भएको थियो । न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्व डिआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख धरौटी माग गर्दै रिहाको आदेश दिएको थियो ।

सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई सुरुमा प्रतिवादी बनाई अभियोगपत्र दायर भएकामा जिल्ला सरकारी वकिल कार्यालयले थप ४४ जनासमेत कुल ६३ प्रतिवादी बनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित