दिवंगत स्रष्टा चेतन कार्कीको अन्तिम म्युजिक भिडियो

काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीप्रति श्रद्धासुमन अर्पण गर्दै अग्रज संगीतकार नारायण ओलीले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । कार्कीले केही समयअघि लेखेको गीत मर्न दिँदैन माया…को म्युजिक भिडियो ओलीले मंगलबार सार्वजनिक गरेका हुन् । कार्कीको आइतबार ८४ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको हो ।

गीतमा स्वर पनि नारायण ओलीकै रहेको छ । आफूले पछिल्लो समय कार्कीका थुप्रै गीतमा संगीत गरिरहेको पनि ओलीले बताए । कार्की जीवित रहँदा खिचिएको उनको अन्तिम म्युजिक भिडियो नै मर्न दिँदैन माया गीतको भिडियो भएको पनि ओलीले बताए ।

कोरोना संक्रमणका कारण जारी लकडाउन हटेपछि चेतन कार्कीको हातबाट यो गीतको भिडियो रिलिज गर्ने योजना ओलीको थियो । तर, देहरादुनबाट फर्किएका कार्की दुई साताअघि अकस्मात कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भए । उनको उपचारका क्रममा अस्पतालमै आइतबार निधन भयो । सोही कारण कार्कीको हातबाट यो गीत रिलिज गर्न नपाएको ओलीले बताए । अहिले कार्कीप्रति श्रद्धासुमन व्यक्त गर्दै यो गीतको भिडियो मंगलबार युट्युबबाट रिलिज गरिएको छ । भिडियो म्युजिक नेपालको युट्युबमार्फत रिजिल गरिएको छ ।

ओलीले कार्कीप्रति श्रद्धासुमन अर्पण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंले गन्ती गरे अनुसार एक वर्षमा हाम्रा ६७ वटा गीत भए भनेको झल्झली याद आउँछ । त्यसमध्ये १८ वटा जति आउने क्रममा थिए र धेरै मलाई गाउन भन्नुभयो, केही भने अरूले पनि स्वर दिएका छन् ।’ कार्कीका १८ वटा गीत नै आफूबाट संगीतबद्ध भएको र बाँकी आउने क्रममा रहेको पनि ओलीले बताए । तीमध्ये कुनलाई कार्कीको अन्तिम गीत भनौं भनेर आफू अलमलमा रहेको पनि उनले बताएका छन् । तथापि कार्की जीवित नै हुँदा छायांकन भएको भिडियो नै यो अन्तिम भएको पनि उनले जानकारी गराए । आफूसँग भएका कार्कीका अधुरा काम सबै सम्पन्न गरेर गीतिसंग्रह ल्याउने पनि नारायण ओलीले बताएका छन् ।

मर्न दिँदैन माया…को भिडियो पनि गीतकार कार्कीकै अवधारणामा तयार भएको हो । यो गीतको भिडियोमा समाजको एउटा वास्तविक घटनालाई प्रस्तुत गरिएको पनि ओलीले बताए । सुभाष प्रधानको संयोजनमा निर्माण भएको यो गीतको भिडियोमा मनोज ओली र रश्मि श्रेष्ठको अभिनय छ । डम्बर राइको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको यो म्युजिक भिडियोको निर्देशनमा चाँदनी शाहीले गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे