लन्डन । स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । क्लबको ९४ वर्षको इतिहासमा भिल्लारियलले पहिलो पटक उपाधि जितेको हो । उसले सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०–१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले सडन डेथमा प्रहार गर्नुपरेको थियो ।
एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियल च्याम्पियन बनेको हो ।
त्यसअघि खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । ड्यानी परेहोको फ्रिकिकलाई मोरेनोलाई सदुपयोग गर्दै मोरेनोले गोलरक्षक डेविड डे हेयालाई बिट गर्दै गोल गरेका थिए ।
युनाइटेडले दोस्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । एडिन्सन काभानीले कर्नरको रिबाउन्डमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए ।






