भ्रष्टाचार राज्यको पहुँचबाहिर हुने कारण

३ करोड नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउने भ्रष्टाचार राष्ट्रघाती अपराध हो । भ्रष्टाचार मौलाइरहेको, यसमा उच्चस्तरीय पदाधिकारीकै नाम बराबर जोडिँदै आएको तथा कसुरदार दण्डित गराउन राज्य नै सक्रिय नबनेको विद्यमान अवस्थाले भ्रष्टाचार कतै राज्य संरक्षित अपराध भइसकेको त होइन भन्ने आशंका उत्पन्न गराएको छ । करोडौंको भ्रष्टाचारमा नाम जोडिएका उच्च राजनीतिक पदाधिकारीले सत्ताशक्तिको आडमा अनुसन्धानको दायरामै तानिनु नपर्ने निश्चिन्त अवस्थाले ठूलो परिमाणको भ्रष्टाचारको जड पहिल्याउन राज्यसंयन्त्र नै असफल हुने गरेको छ । उच्च पदस्थ राजनीतिक व्यक्तिद्वारा हुने भ्रष्टाचारको कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिसँगै पकड हुने भएकाले यस्ता भ्रष्टाचारले छुट पाउँदै आएको कुरा सर्वसाधारणले नै महसुस गरिसकेका छन् ।

सबै भ्रष्टाचारीलाई अन्य अपराधकै जस्तो समानुपातिक ढंगले नै कारबाही गर्ने कानुनी व्यवस्था भए पनि कानुनको व्यावहारिक प्रयोग समानुपातिक रूपमा हुन छोडेको छ । राजनीतिक पदाधिकारी सम्बद्ध उच्च परिमाणको भ्रष्टाचार ‘ए’ ग्रेडको सम्मानित अपराध मानिन थालेको छ । ‘ए’ ग्रेडका भ्रष्टाचारीले कानुनको दायरामा आउनु नपर्ने र राज्य संयन्त्रले कारबाही त होइन छुनै नसक्ने भइसकेको छ । यसैले ‘ए’ ग्रेडका भ्रष्टहरू व्यवहारमा राज्य संरक्षित अपराधीकै रूपमा चिनिँदै आएका छन् । मध्यम स्तरीय वा ‘बी’ ग्रेडका भ्रष्टहरू पनि अधिकांश त कानुनको दायरामा आउँदैनन्, यस वर्गमा तल्लो वरीयताका नेता र उच्च पदस्थ कर्मचारीकै संलग्नता हुने गर्छ । तर, यस्तै व्यक्तिको पकड राष्ट्रिय राजनीतिमा भएको अवस्थामा यिनीहरू पनि कारबाहीको दायराबाट जोगिन्छन् । राजनीतिक पकड नभएका ‘बी’ ग्रेडका निरीह भने कारबाहीमा पर्दै आएका छन् । अर्को तेस्रो वा ‘सी’ ग्रेडको भ्रष्टाचार भने सामान्य राष्ट्रसेवक कर्मचारीद्वारा हुने भएकाले अधिकांश कारबाहीमा पर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही समूहका निरीह भ्रष्टलाई कारबाहीको दायरामा ल्याएर आफ्नो साख जोगाउँदै आएको छ ।

पछिल्लो समयमा ‘ए’ ग्रेडका भ्रष्टहरू अख्तियारको नजरमै पर्न छोडेका छन् । न त उनीहरू अख्तियारकै पकडमा पर्छन् । कारबाही होइन यस्ता भ्रष्टलाई जोगाउने कार्यमै अख्तियार लागिपरेको देखिन्छ । अख्तियारको निराशाजनक विभेदित व्यवहारले यसको स्थापना भ्रष्टाचार नियन्त्रण गर्न होइन आफैंलाई अख्तियारमा पदासीन गराउन उल्लेख्य भूमिका अपनाउने राजनीतिक भ्रष्ट जोगाउनकै लागि गरिएको भन्ने अनुभूति दिलाउँछ । मुलुकको भ्रष्टाचारको विद्यमान अवस्था हेर्दा यो पहिलेको सफेदपोष अपराधकै परिवर्तित स्वरूपमा सक्रिय बनेको देखिन्छ । अन्य अपराधबाट व्यक्ति र समाज प्रभावित बन्छ भने भ्रष्टाचार सम्पूर्ण नेपाली र राष्ट्रलाई प्रभावित बनाउने अपराध ठानिन्छ । अझ ‘ए’ ग्रेडको ठूलो परिमाणको राजनीतिक भ्रष्टाचारको त आफ्नै विशेषता हुन्छ । राष्ट्रिय संकटकै समयमा, ठूला राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना सञ्चालन गर्ने क्रममा, दातृ राष्ट्रबाट प्राप्त सहयोग र अनुदान परिचालनका क्रममा तथा आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने राष्ट्रिय पुँजी प्रयोग गर्दाकै अवस्थामा राज्यले नै विश्वास गरेका उच्च स्तरीय राजनीतिक पदाधिकारीबाटै हुने भ्रष्टाचार विशिष्ट प्रकृतिको सम्मानित अपराध बनिसकेको छ । राष्ट्रिय पुँजी परिचालन गर्नुपर्ने आकस्मिक एवं असामान्य अवस्था त राजनीतिक भ्रष्टका निम्ति अवसर बन्दै आएको छ ।

मुलुकबाट भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीले नै अग्रसरता लिई छानबिनको दायरामा ल्याउन निर्देशन दिनुपर्छ

पहिले पहिले उद्योग कलकारखानाको स्वामित्व लिएका वा त्यसको जिम्मेवारी बहन गर्ने उच्च ओहदामा पदासीन व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा गर्ने अपराधलाई सफेदपोष अपराध ह्वाइट क्राइम भनिन्थ्यो । यो अपराधको नामकरण कलकारखानामा कार्यरत पदाधिकारीकै पदीय हैसियतमा आधारित रही गरिएको थियो । कलकारखानाका मालिक वा मेनेजरले प्रारम्भिक कालमा आफ्नो पहिचान दिन सेतो पोसाक लगाउनुपथ्र्याे । त्यसैगरी, तल्लो तहका कामदार र श्रमजीवीहरूले नीलो पोसाक लगाउनुपथ्र्याे । उपल्लो तहका वा सेतो पोसाकधारी व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा गर्ने अपराधलाई सफेदपोष अपराध भनी विश्व चर्चित अपराध शास्त्री सुथरलेन्डले सर्वप्रथम सन् १९३९ मा यसको नामकरण गरिदिएका थिए । यसपछि नै यो प्रकृतिको अपराध सफेदपोष अपराध भनी विश्वमै चिनिँदै आयो । यही सफेदपोष अपराध अहिले हाम्रो मुलुकमा राजनीतिक अपराधमा रूपान्तरित भएको छ । उद्योग कलकारखाना त सबै निजीकरण भइसकेका छन् । निजी उद्योगभित्र के भइरहेको छ त्यो राज्यको चासोको विषय बन्न छोडेको छ । काम कर्तव्यको क्षेत्र पनि उद्योग कलकारखानाबाट राजनीतिमा परिणत भएको छ । सफेदपोष अपराधमा संलग्न व्यक्तिलाई कठोर दण्ड सजाय दिलाइन्थ्यो तर उही प्रकृतिको राजनीतिक व्यक्ति सम्बद्ध अहिलेको भ्रष्टाचारलाई भने हामीले कानुनभन्दा माथिको ठान्न बाध्य हुनुपरेको छ । सफेदपोष अपराध र राजनीतिक अपराधबीचको भिन्नता यही हो । कार्य प्रकृति भने दुवैको समान छ ।

मुलुकको भ्रष्टाचारको स्वरूप हेर्दा यसको विशेषता सफेदपोष अपराधसँग हुबहु मिल्छ । भ्रष्टाचार संस्थागत रूपमै हुने गर्छ । यसको प्रमुख नाइके पनि अख्तियार प्राप्त उच्च स्तरीय पदाधिकारी नै हुन्छन् । जिम्मेवार पदाधिकारीले बनाउने सञ्जालभित्रै विश्वास पात्र सहयोगी, ठेकेदार, व्यापारी, तस्कर र बिचौलिया सहभागी बन्छन् । यिनीहरूबीचको सम्बन्ध संगठनात्मक रूपमा सुदृढ, गोप्य र क्रियाशील हुन्छ । कर्तव्य पालनकै सिलसिलामा हुने भएकाले झट्ट हेर्दा बाहिरका व्यक्तिले अन्य अपराधजस्तो भ्रष्टाचारलाई देख्न सक्दैनन् । लामो समयपछि वा कार्यपरिणाम नकारात्मक देखिएपछि मात्रै सार्वजनिक हुने भ्रष्टाचार पेसेवर अपराध हो । भ्रष्टले अन्य सम्बद्ध अपराधीलाई संरक्षण गर्छन्, आफू पनि सुरक्षित रहन्छन् । भ्रष्टाचारको असर प्रत्यक्ष रूपमा राष्ट्रलाई पर्ने हुँदा यसबाट सम्पूर्ण देशवासीले नै पीडित बन्नुपर्छ । पुलपुलेसा, बाटोघाटो, बाँध, सिँचाइजस्ता सार्वजनिक महत्वका संरचनामा भ्रष्टाचार भए त्यस्ता संरचना समयमै पूरा नहुने, पूरा गराउने निहुँमा बराबर राष्ट्रिय बजेट दुरुपयोग हुने, पूरा भए पनि टिकाउ नहुने भएकाले सम्पूर्ण उपभोक्ता नै मारमा पर्छन् ।

भ्रष्टले खुलेआम रूपमा काुनको उल्लंघन गर्दैनन् । तर, कानुन कार्यान्वयन गर्ने वा कानुनी प्रक्रिया पूरा गर्ने गराउने क्रममै कार्य गर्दा भ्रष्टाचार गर्ने भएकाले यस अपराधमा सोझै कानुन उल्लंघन भएको देखिँदैन । काम गर्दा गराउँदा तेस्रो व्यक्ति जस्तो सम्पर्ककै व्यक्ति, ठेकेदार, बिचौलियामार्फत् लिने खाने गर्छन् । यस क्रममा रीतपूर्वककै बोलपत्र आह्वान गर्ने, प्रक्रिया पु¥याएर आफ्नै निकटस्त व्यक्तिलाई काम गर्ने अख्तियारी प्रदान गर्ने तथा यस्तै व्यक्तिमार्फत रकम घोटाला गरेर नजरिया कार्य सम्पन्न गरेको देखाउन उच्चस्तरीय पदाधिकारीहरू नै पोख्त हुन्छन् । भ्रष्टाचार अधिकांश त कानुनी प्रक्रिया पूरा गर्ने गराउने क्रममै हुन्छ । भ्रष्टचारको अर्को विशेषता कानुनकै संरक्षकत्वमा यो अपराध हुनु हो । प्रक्रियागत ढंगमै भ्रष्टाचार हुने भएकाले भ्रष्टाचारको संरक्षण पनि कानुनले नै गरेको हुन्छ । हेर्दा कानुनी त्रुटि नहुने तर ठूलो लागतमा सम्पन्न हुने गुणस्तरहीन कार्यले मात्रै त्यहाँ भ्रष्टाचार भएको उजागर गर्छ । नजरिया संरचना टिकाउ नहुँदाबराबर एउटै कार्यमा राष्ट्रिय बजेट खर्चिनुपर्ने अवस्था आउँछ । यसको साथै कतिपय भ्रष्टाचार त उच्च पदस्थ व्यक्तिले नै कानुन हातमा लिएर गरेका हुन्छन् । यस प्रकृतिको भ्रष्टाचार भने तत्कालै देखिन्छ ।

मुखले मात्र नियन्त्रण गर्ने भ्रष्टाचार व्यवहारबाट कहिल्यै नियन्त्रित हुँदैन

विश्वासघात भ्रष्टाचारको अर्को विशेषता हो । उच्च ओहदामा पदासीन व्यक्तिलाई राज्यले विश्वास गरेरै महत्वपूर्ण जिम्मेवारी दिएको हुन्छ । उनीहरूको कामकर्तव्यको दायरा पनि कानुनले स्पष्ट पारेको हुन्छ । तर, आफूलाई विश्वास गरी अख्तियारी दिने राज्यकै विश्वासघात त्यस्ता भ्रष्टले गर्छन् । यो मानसिकताका भ्रष्टको राष्ट्रघाती कार्य देश र जनताकै लागि असरदायी हुन्छ । अनियमित आर्थिक लाभ भ्रष्टाचारको अर्को विशेषता हो । तल्लो स्तरको होस् वा उपल्लो स्तरको, सबै प्रकारको भ्रष्टाचार प्रत्यक्ष र अप्रत्यक्ष राष्ट्रिय स्रोत साधनसँगै सम्बन्धित रहेका हुन्छन् । ‘ए’ ग्रेडको भ्रष्टाचारमा सोझै उच्चस्तरीय पादधिकारीको बदनियत हुन्छ भने कतिपय तल्लो तहबाट हुने भ्रष्टाचारमा पनि उपल्लो तहकै पदाधिकारीसँग सम्बन्ध स्थापित हुने गर्छ । हाम्रो मुलुकको सन्दर्भमा अधिकांश भ्रष्टाचार उच्च पदस्थ राजनीतिक व्यक्तिसँग नै सम्बन्धित रहेको देखिएको छ ।

कतिपय अवस्थामा पद, प्रतिष्ठा र सम्मनका लागि पनि भ्रष्टाचार हुने गर्छ । राज्यले विश्वास गरेका उच्च पदस्थ व्यक्तिहरूमा उच्चस्तरीय कर्मचारी नियुक्त गर्ने, सरुवा, बढुवा गर्ने, आम्दानीको दृष्टिले राम्रो मानिने स्थानमा पदस्थापन वा सरुवा गर्ने असीमित अधिकार हुन्छ । सो कार्य सम्पन्न गर्ने क्रममा अनुचित लाभ नलिई कार्य नगर्ने कसैको आदत हुन्छ । यस्ता व्यक्तिहरूले प्रायः गरी आफ्नै परिवारकै सदस्यलाई नै अग्रसर बनाई लिन खान गर्छन् । सम्भाव्य उम्मेदवार धेरै भए वा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा भए त्यस्तो अवस्था त बदनियतपूर्ण पदाधिकारीका निम्ति अवसरै बन्ने गर्छ । बढाबढकै क्रममा बढी लाभ पु¥याउनेलाई नियुक्ति दिने, सरुवा गर्ने, बढुवा गर्ने कार्य उनीहरूले विधिवतै गर्ने भएकाले यसरी हुने भ्रष्टाचार भने कमै मात्र सार्वजनिक हुन्छन् । यो प्रक्रिया पूरा गर्ने क्रमकै पीडितरहित अपराध नै भ्रष्टाचार भएकाले राज्यको प्रशासनिक निकायहरूमा यस्तो भ्रष्टाचार बढी हुने गर्छ । यसको सम्बन्ध पनि राजनीतिसँग जोडिएको हुन्छ ।

भ्रष्टाचारको अर्को विशेषता भनेको यस अपराधमा घरानिया वा सम्पन्न व्यक्तिकै संलग्नता हुनु हो । कतिपय भ्रष्टाचार विपन्न र बाध्यात्मक परिस्थितिसँग सम्बन्धित हुने गर्छन् । तथापि, अधिकांश प्रशस्त आम्दानी हुने, सम्पन्न र घरानिया व्यक्तिद्वारा नै हुन्छ । यो यस अपराधको अनौठो विशेषता हो । यही विशेषताले यस्ता भ्रष्टाचारको पहुँच सत्ताशक्तिसँग हुने, राज्य संयन्त्रका उच्च पदस्थ पदाधिकारीसँग हुने तथा अवस्थाअनुसार करोडौं खर्च गरी न्यायमूर्तिसमेतका प्रभावशाली व्यक्तिलाई आफ्नो बनाउने सामथ्र्य यस्ता भ्रष्टमा हुन्छ । यस्ता भ्रष्टलाई सीतिमिति राज्यले पक्राउनै गर्न सक्दैन । उनीहरूको धनवलसँग सधैं प्रभाव र प्रतिष्ठा जोडिइरहने भएकाले राज्यका उच्च तहका कर्मचारी नै उनीहरू सामु नतमस्तक हुन्छन् । यिनीहरूको बोलबाला सधैं रहिरहन्छ । यिनीहरूले निम्तन सक्ने सम्भावित समस्यालाई आँकलन गरी प्रभावकारी प्रतिरक्षात्मक प्रणाली अपनाएरै ‘ए’ ग्रेडको भ्रष्टाचार गर्ने भएकाले सधैं सुरक्षित रहन्छन् ।

धनवलको ‘ए’ ग्रेडका सम्मानित भ्रष्ट कथंकदाचित पक्राउ परिहाले पनि सत्ताले नै उनीहरूको संरक्षण गर्ने हुँदा राज्यले नै उनीहरूउपर मुद्दा चलाउन सक्दैन । यस्ता भ्रष्ट निर्दोष हुन भनी उल्टै राज्य सत्ताकै दबाब आउने भएकाले कर्मचारीले नै पक्राउ गर्ने हिम्मत गर्दैनन् । यो स्तरका भ्रष्टको सम्बन्धको स्तरलाई छोडेर केबल अपराधिक क्रियाकलापलाई मात्रै आधार मानी राज्यकै उच्च तहकै कर्मचारीले पक्राउ गरे पनि कतिपय अवस्थामा पक्राउ गर्ने कर्मचारी उपरै, को कसको आदेशले पक्राउ गरिस् भनी उल्टै कारबाही हुने अवस्था आइलाग्न सक्छ । यसको पुरानो एक दृष्टान्त हेरौं । घटना २०३४ सालको हो, जुनबेला यो स्तम्भकार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थियो । काठमाडौंकै कुख्यात तस्कर डीडी शर्मालाई लाखौंको अवैध लागूऔषध र क्युरियो सामग्रीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय हनुमानढोका, काठमाडौंका इन्स्पेक्टर तोमप्रसाद विमलीले भण्डारण स्थलबाटै रेडह्यान्ड पक्राउ गरे । तर, कसको आदेशमा डीडी शर्मालाई पक्राउ गरिस् भनी भोलिपल्टै मध्य क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी पदमबहादुर मानन्धरले विमलीउपर कारबाही प्रारम्भ गरे । एक कान दुई कान हुँदै त्यो कुरो अञ्चलाधीश र प्रधानमन्त्री डा. तुलसी गिरीसम्म पुग्यो । प्रधानमन्त्रीले घटनाको ’boutमा गम्भीरताका साथ छानबिन गर्ने निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका प्रमुख डीएसपीसहित डीआईजी मानन्धरसमेतको अवैध सम्बन्ध तस्कर शर्मासँग रहेको देखिएपछि अन्ततः डीआईजी र डीएसपी कारबाहीमा परी सेवाबाट हटाइए । प्रहरी निरीक्षक तोमप्रसाद विमली भने प्रशंसाको पात्र बनी पुरस्कृत भए । यो अवस्था अहिले पनि यदाकदा देखिँदै आएको छ । तर, अहिलेको तस्कर संरक्षकको दायित्व भने प्रहरी अधिकृतको हातबाट राजनीतिक व्यक्तिले आफ्नै हातमा लिएका छन् ।

‘ए’ ग्रेडका भ्रष्ट त मुलुको कानुन निर्माणकर्ता नै हुन्छन् । यिनीहरू आफू अनुकूल कानुन बनाउन पछि पर्दैनन् । चर्चामा आएका ‘ए’ ग्रेडको पछिल्ला भ्रष्टाचार वाइडबडी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गा लिज प्रकरण, पहिले र अहिलेकै कोरोना संक्रमण सम्बद्ध स्वास्थ्य सामग्री खरिद तथा बालुवाटार जग्गा प्रकरणलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । यी घटनामा को कसको नाम जोडिएको छ भनी उल्लेख गरिरहनै पर्दैन । यस’boutमा सर्वसाधारण नै जानकार छन् । यी घटनामा राज्यका जिम्मेवार मन्त्रीहरूकै नाम जोडिएको छ । यसैले राज्यले उनीहरूउपर छानबिन गर्ने हिम्मतै गरेन । दोषी भए कारबाही गर्ने निर्दोष भए किन बदनाम गराइयो भन्ने दायित्वबाट राज्य नै पन्छियो । अहिले त सत्तासीन व्यक्तिले नै राष्ट्रसेवकलाई भ्रष्टाचार गर्ने व्यावहारिक शिक्षा प्रदान गर्दै आएका छन् । यसैले मुलुकबाट भ्रष्टाचार नियन्त्रण गर्ने नै हो भने कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नै अग्रसरता लिई चर्चामा आउने सबैलाई छानबिनको दायरामा ल्याउने निर्देशन दिनुपर्छ । अन्यथा मुखले मात्र नियन्त्रण गर्ने भ्रष्टाचार व्यवहारबाट कहिल्यै नियन्त्रित हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

epaper

ताजा समाचार

एनभिडियाको नेतृत्वमा जेन्सेन हुआङको नाटकीय पुनरागमन