काठमाडौं । सरकारले गत भदौमा भएको जेनजी आन्दोलनका घटनाको छानबिन, पीडितलाई न्याय, क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन छुट्टै आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सशस्त्र द्वन्द्वपीडितको न्यायको यात्रा भने २० वर्षदेखि अलपत्र छ । द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न र पीडितलाई न्याय तथा परिपूरण दिन गठित दुई आयोगका पदाधिकारी हटाइएको सात महिना बितिसक्दा पनि सरकारले नयाँ नियुक्ति गरेको छैन ।
२५ मंसिर, २०६३ मा तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । सम्झौताले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाको छानबिन गरी पीडितलाई न्याय दिने प्रतिबद्धता गरेको थियो । तर, शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको संक्रमणकालीन न्याय अझै टुंगिएको छैन । न्यायको आशामा आयोगमा उजुरी दिएका हजारौं पीडितको अवस्था उस्तै छ ।
सरकारले गत २२ वैशाखमा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी हटाएको थियो । त्यसयता दुवै आयोगमा नयाँ पदाधिकारी नियुक्त भएका छैनन् । पदाधिकारीविहीन भएपछि आयोगको कामसमेत रोकिएको छ ।
———————————————————————————————————————————————
–२० वर्षदेखि द्वन्द्वपीडित न्यायको प्रतीक्षामा
–७ महिनादेखि पदाधिकारीविहीन संक्रमणकालीन न्यायका दुई आयोग
–जेनजी आन्दोलनका मुद्दा छानबिन र क्षतिपूर्तिका लागि अध्यादेश
……………………………………………………………………………………………………………………………………………………………………….
सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणको व्यवस्था गर्न तयार पारेको अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आन्दोलनका क्रममा पीडित बनेका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको सरकारको भनाइ छ ।अध्यादेशले आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने, क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने तथा गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार गर्ने बताइएको छ ।
२० वर्षदेखि संक्रमणकालीन न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडितका लागि बनेका आयोगलाई निष्क्रिय बनाएर नयाँ आन्दोलनका पीडितका लागि छुट्टै कानुनी व्यवस्था गर्न खोजिएपछि राज्यको न्यायिक प्राथमिकता र समान व्यवहारको प्रश्न उठेको छ ।
हजारौं उजुरी अलपत्र
१ फागुन २०५२ देखि ५ मंसिर २०६३ मंसिरसम्म चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको संख्या’bout विभिन्न निकायका तथ्यांक फरक छन् । सरकारी अनुमानअनुसार द्वन्द्वका क्रममा १७ हजार ८८६ जनाको मृत्यु भएको थियो । एक हजार ५३० जना बेपत्ता पारिएको, करिब ८० हजार विस्थापित भएको र हजारौं नागरिक अपांगता तथा अन्य शारीरिक र मानसिक समस्याबाट प्रभावित भएको सरकारी तथ्यांक छ ।
शान्ति सम्झौताले द्वन्द्वकालमा बेपत्ता पारिएका तथा मारिएका व्यक्तिको वास्तविक नाम, थर र ठेगानासहितको विवरण सार्वजनिक गर्ने र परिवारलाई जानकारी गराउने प्रतिबद्धता गरेको थियो । त्यस्तै, मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र परिपूरण उपलब्ध गराउने व्यवस्था गर्ने भनिएको थियो ।
त्यसका लागि २७ माघ २०७१ मा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो । तर, आयोगको पटकपटक पुनर्गठन र पदाधिकारी परिवर्तन भए पनि अपेक्षित परिणाम आउन सकेन । ३१ वैशाख २०८२ मा तेस्रोपटक पदाधिकारी नियुक्त गरिएको थियो । उनीहरूले पनि एक वर्ष काम गर्न नपाउँदै २०८३ वैशाखमा पद गुमाए ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा हाल ७८ हजार ९०९ उजुरी दर्ता छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पनि हजारौं उजुरी छन् । विशेषगरी द्वन्द्वकालीन यौन हिंसाका पीडितका ४ हजार २२६ उजुरी दर्ता भएका छन् ।
सत्य निरूपण आयोगकी सचिव निर्मला अधिकारीका अनुसार यौन हिंसासम्बन्धी एउटा उजुरीमाथि पनि अनुसन्धान सुरु हुन सकेको छैन । पीडितसँग बयान लिने, गोपनीयता कायम गर्ने र सुरक्षा सुनिश्चित गर्ने प्रक्रियासम्बन्धी निर्देशिका तयार भए पनि पदाधिकारी नहुँदा स्वीकृत हुन सकेको छैन ।
जेनजी आन्दोलन क्षतिपूर्तिको नयाँ व्यवस्था
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
आन्दोलनमा २ हजार ६६० जना घाइते भएको सरकारी विवरणमा उल्लेख छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट भएको मानवीय क्षतिका अतिरिक्त आगजनी, तोडफोड र लुटपाटका घटनाले सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पु¥याएको थियो ।
आन्दोलनपछि शहीद परिवार र घाइतेका लागि राहत, उपचार, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र दीर्घकालीन परिपूरणको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको थियो । सरकार र जेनजी पक्षबीच भएको १० बुँदे सहमतिमा पनि पीडित परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने व्यवस्था उल्लेख छ ।
आन्दोलनका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो । उक्त आयोगले घटनाको छानबिन गरी प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनले तत्कालीन सरकार र सुरक्षा निकायका जिम्मेवार पदाधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो । आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिमाथि मुद्दा चलाइएको छ ।
सशस्त्र द्वन्द्वका पीडितले २० वर्षसम्म न्याय नपाउनु र जेनजी आन्दोलनका पीडितका लागि नयाँ आयोग गठनको प्रक्रिया अघि बढ्नुले राज्यको जवाफदेहितासम्बन्धी बहसलाई फेरि सतहमा ल्याएको छ । नयाँ आन्दोलनका पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको दायित्व हो । तर, त्यही दायित्व दुई दशकदेखि न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडितका हकमा पनि उत्तिकै लागू हुनुपर्ने अधिकारकर्मी बताउँछन् ।
संक्रमणकालीन न्यायको प्रक्रिया पूरा गर्न सरकारले राजनीतिक सहमति जुटाउने, आयोगलाई स्वतन्त्र र सक्षम बनाउने तथा पीडितको सहभागितामा अनुसन्धान र परिपूरणको काम अघि बढाउनुपर्ने अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले औंल्याउँदै आएका छन् ।
सम्बन्धित समाचार
एमाले राष्ट्रिय भेला: आन्तरिक एकता कि शक्ति सन्तुलनको अभ्यास ?
स्थानीय तह निर्वाचनवारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी, अरु को-को तानिँदैछन् ?
ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको मंसिरमा गर्न आयोगको प्रस्ताव
यी हुन्- प्रधानमन्त्री बालेनसँग भारत प्रस्थान गर्ने ३५ सदस्यीय प्रतिनिधिमण्डल
भारतद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा






