काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले यो डेढ महिनाको अवधिमा करिक एक दर्जन गीत आफ्नो स्वरमा रेकर्ड गरिसकेका छन् ।
यी गायक बिहीबार शान्तिश्री परियारसँग नयाँ गीत फसें मायालु…रेकर्डमा व्यस्त रहे । यिनै गायक शुक्रबार अर्को नयाँ गीत असारै मास साइँली…को रेकर्डमा व्यस्त थिए । राजेन्द्र बजगाईंको संगीतमा उनले शुक्रबार यो गीत रेकर्ड गरे । अबको केही दिनबाट लकडाउन खुल्ने आशामा यी गायक छन् । अहिले यतिबेला उनले गाउनुपर्ने १५ वटा गीत तयार अवस्थामा छन् । तीबाहेकका एक दर्जन गीत यो डेढ महिनामा रेकर्ड गराइसकेका छन् । अब लकडाउन खुलेपछि बाँकी गीत रेकर्ड गर्ने उनले बताएका छन् ।
यी गायक पछिल्लो ६ महिना यताबाट व्यस्त भएका हुन् । त्यसपछि काठमाडौंमा राम्रो गीत गाउन अवसर नपाएर आफ्नो गाउँ पाल्पा फर्कन लागेका थिए । सो क्रममा यी गायकको पीडादायी अन्तरवार्ता एउटा मिडियामा देखेपछि संगीतकार अर्जुन पोखरेलले ६ महिना अघि उनलाई छुदिनँ म जालै रुमाल गीत गाउने अवसर दिए । यो गीत दर्शकले रुचाए । छोटो समयमै यो गीत हिट भएपछि गायक आलिफलाई एकपछि अर्को गर्दै गायनका लागि प्रस्ताव आएको हो ।
त्यसपछि यी गायकलाई सुमित्रा कोइरालाको भोगटे…भन्ने गीतले त भाइरल नै बनाइदियो । सुमित्राकै शब्द र संगीत रहेको यो गीतमा सुमित्रा र आलिफको स्वर रहेको थियो । यो गीत हिट हुनासाथ उनलाई अर्को लोक दोहोरी गीत जालै रुमाल…को प्रस्ताव आयो । अमृत सापकोटा, सुनिता बुढा, लक्ष्मी खड्कासँग उनले संयुक्त रूपमा गीत रेकर्ड गराए । रिलिज भएको तीन महिनामा यो गीतलाई ३० लाखभन्दा बढी दर्शकले युट्युबमा हेरिसकेका छन् ।
यो निषेधाज्ञापछि मात्र उनका सुमित्रा कोइरालासँगै नयाँ गीत पानी कुवाको…रिलिज भएको छ । भोगटेपछि यो गीतलाई पनि दर्शकले मन पराए । सुमित्रा कोइरालाको शब्द संगीत रहेको यो गीतमा राजेन्द्र बजगाईको संगीत संयोजन रहेको थियो ।
करिब एक दशकदेखि काठमाडौंमा गायनका लागि संघर्ष गरिरहेको अवस्थामा उनीसँग काम थिएन । छुँदैन म जाले रुमाल रिलिजपछि आफूले काम पाएको उनले बताए । अहिले एकपछि अर्को गर्दै गीतको प्रस्ताव निरन्तर आइरहेकोमा यी गायक खुसी छन् ।
निषेधाज्ञापछि आलिफको स्वरमा सुनैको मुरली…, बाँच्नै गाह्रो भो…, उधारोमा आफ्नै काम…, छाडेर जानेको…जस्ता गीत आइसकेका छन् । यीमध्ये बाँच्नै गाह्रो भो…, छाडेर जानेका गीत अहिले चर्चामा छ ।
अहिले अर्जुन पोखरेलकै संगीतमा रेकर्ड गर्न उनले चारवटा गीत अभ्यास गरिरहेका छन् । यस्तै, राजेन्द्र बजगाई, रमेशराज भट्टराई, झरक संगीतसहित थुप्रै संगीतकारको गीतको अहिले आफूले अभ्यास गरिरहेको पनि उनले बताए ।






