लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा गएराति स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोलले पराजित गरेको थियो ।
पोल्यान्डका गोलकिपर वाचिन्ज सान्जेनीको सामान्य गल्ती हुँदा १८ औं मिनेटमा आत्मघाती गोल हुन पुग्यो । त्यसपछि पोल्यान्डको तर्फबाट ६२ औं मिनेटमा जर्जिगोरेज किचोविकीले जवाफी गोल फर्काए । तर स्लोभाकियाका मिलान स्कीनियरले ६९ औं मिनेटमा गोल गर्दै जितलाई सुनिश्चित गरे ।
सोही समूहको अर्को खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेभियाको घरेलु मैदानमा स्पेनले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाएको हो ।
स्वीडेनले पनि गोल गर्ने मौका गुमाएको थियो । बराबरीसँगै समान एकएक अंकसहित स्पेन दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छन् । यस समूहमा ३ अंक जोडेको स्लोभाकिया शीर्ष स्थानमा छ ।
आज हुने खेल
समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चुगल (राति ६ः४५ बजे/बुडापेस्ट)
समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)






