काठमाडौं । पछिल्लो समय एकपछि अर्को सुविधा थप गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई आकर्षित बनाउँदै अघि बढिरहेको सामाजिक सुरक्षा कोषले सूचीकरणमा समावेश भई नियमित योगदान गर्ने योगदानकर्ता श्रमि कलाई योगदानको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनले आर्थिक वर्ष २०७६÷७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आव २०७६÷७७ को वृद्धावस्था सुरक्षा योजनाअन्र्तगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैयाँबाट प्रतिफल वितरण गर्ने निर्णय गरेको जानकारी गराए ।
उनले योगदानकर्ताकालागि यो नयाँ सुविधा थप भएकाले बेलैमा यस्तो सुविधाको अवसर प्राप्त गर्न सम्बन्धित रोजगारदाता र योगदानकर्तालाई आग्रह गरे । कार्यकारी निर्देशक ज्ञवालीले कोषले सञ्चालनमा ल्याएका समाजिक सुरक्षा योजनाको सफल कार्यन्वयनमा सबै सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षासहित जतिसक्दो छिटो कोषमा आबद्ध भई कोषले प्रदान गर्ने सुविधा उपयोग गर्न आग्रह गरे ।
अब योगदान रकम जम्मा भएको आधारमा ८ प्रतिशत प्रतिफल पाइन
यसैगरी, कोषका प्रवक्ता विवेक पन्थीले ८ प्रतिशत प्रतिफल रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा जम्मा गर्ने जानकारी गराए । प्रवक्ता पन्थीका अनुसार सरकारले आगामी आवका लागि गत १५ जेठमा सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत योगदानकर्ताको गत जेठ र असार महिनाको योगदान जम्मा गरि दिने निर्णय पनि कार्यान्वयनको चरणमा पुगेको छ ।
अहिलेसम्म कोषमा कुल १४ हजार ५ सय ८० वटा रोजगारदाता प्रतिष्ठान÷उद्योग, २ लाख ५१ हजार २ सय ९२ जना योगदानकर्ता आबद्ध भइसकेका छन् । अहिलेसम्म ६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ योगदान रकम संकलन भइसकेको छ ।
यसैगरी, कोषले सञ्चालन गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख रुपैयाँ, दुर्घटना तथा असक्तता योजनामा ९१ जना योगदानकर्तालाई २६ लाख ९१ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख रुपैयाँ गरी ११ करोड ६२ लाख रुपैयाँ कोषबाट भुक्तानी भइसकेको छ ।
कोषका उपनिर्देशक तथा सहायक प्रवक्ता रोहित रेग्मीले २०७७ सालको २९ माघमा सामा िजक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि यस कार्यक्रमप्रति रोजगारदाता तथा श्रमिकमा थप आकर्षण बढेको कोषले महसुस गरेको बताए ।
कार्यविधिको दोस्रो संशोधनपछि मात्रै कोषमा १ हजार ३ सय २८ रोजगारदाता, ६४ हजार ९ सय ५६ जना योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी गराउँदै उनले यसबीचमा कोषमा निरन्तर रूपमा योगदानकर्ता तथा रोजगारदाताको संख्यामा वृद्धि भइरहेको बताए ।
सामाजिक सुरक्षा कोषले सञ्चालन गरिरहेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनका लागि २०७५ सालको २६ कात्तिका राजपत्रमा सूचना प्रकाशित गरी २०७६ सालको १ साउनबाट निरन्तर योगदान रकम संकलन भइरहेको कोषले जनाएको छ ।






