कांग्रेसमा किचलो : संस्थापन पेल्दै, इतर तर्साउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नेसम्मका गतिविधि गरेपछि कांग्रेसभित्र फेरि किचलो देखिएको हो ।

सभापति देउवाले केही दिनअघि पार्टीका रिक्त विभागमा आफू निकट केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएका थिए । यस्तै, उनले अन्य पार्टीबाट विभिन्न समयमा कांग्रेस प्रवेश गरेकाहरूलाई समेत पार्टीमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी दिएका थिए ।

संस्थापन समूहको सो किसिमको रणनीतिपछि कांग्रेसभित्रको इतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह आक्रोशित भएको छ । सो समूहले संस्थापन समूहको रणनीतिलाई कसरी रोक्ने भन्ने विषयमा दिनहुँजसो छलफलसमेत गर्दै आएको छ ।

पौडेल समूहले बुधबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा रणनीति बनाउन भन्दै बैठक गरेको थियो । बैठकपछि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार जिल्ला उपसभापतिहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम पौडेल समूहले बहिष्कार गरेको छ ।

‘बैठकपछि हामी प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गएनौं । सभापतिबाट भएको गलत निर्णय सच्याउन हामीले प्रतिष्ठानको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पौडेल पक्षको बैठकमा सहभागी एक जिल्ला उपसभापतिले राजधानीसँग भने ।

पौडेल समूहको बैठकमा राजधानीमा उपलब्ध केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपसभापतिको सहभागिता थियो । भेलालाई सम्बोधन गर्दै नेता पौडेलले महाधिवेशन भाँड्न सभापति देउवाले उपसभापतिहरूको प्रशिक्षण आयोजना गरेको
आरोप लगाए ।

‘महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा महाधिवेशन भाँड्ने खेल भइरहेको छ । महाधिवेशन नगर्न अनेक चलखेल हुँदै छ, त्यतातर्फ ध्यान दिऔं,’ वरिष्ठ नेता पौडेलले बैठकमा धारणा राख्दै भने । बैठकमा सहभागी महामन्त्री शशांक कोइरालाले १४औं महाधिवेशनलाई प्रभवित पार्ने गरी पार्टी नेतृत्वबाट चलखेल भइरहेको धारणा राखे ।

‘१४औं महाधिवेशनलाई रोक्न अनेक कार्यक्रम गर्ने नीति लिइएको छ, यो राम्रो होइन । महाधिवेशन प्रभावित हुने काम हुन नदिन सबैले आवाज उठाऔं,’ महामन्त्री कोइरालाले बैठकमा राखेको धारणा’bout एक नेताले भने । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि संस्थापन समूहले आयोजना गर्ने उपसभापतिलाई प्रशिक्षण कार्यक्रममा नजान आफू निकटका नेतालाई आग्रह गरे ।

‘महाधिवेशन प्रभावित पार्न प्रशिक्षण आयोजना गरिएको हो । सभापतिले पेल्दै जाने हो भने ठीक हुँदैन । प्रशिक्षणमा नजानुस् । निर्णय सच्याउन सबैले दबाब दिनुपर्छ,’ सिंहले भने । कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल