प्राकृतिक वितण्डाको डरलाग्दो स्थिति

देशको खासगरी पहाड, मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुबान देशका लागि प्रमुख समस्याका रूपमा रहेको छ । यस सालको मनसुन भने गत जेठ २८ गतेदेखि देशमा सुरुवाती भएको छ । प्रत्येक वर्ष नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने हुन्छ । यो देश पहाडैपहाडले घेरिएको र सानाठूला गरी करिब ६ हजार नदीनाला उत्तर दक्षिण बगिरहेका छन् । हाम्रो देशमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । किनकि यसै अवधिमा मनसुनको प्रभाव रहन्छ । यो अवधिमा वर्षा हुन्छ र हाम्रो खासगरी प्रमुख बाली धान, जसलाई बढी पानी चाहिन्छ, यही अवधिमा रोपिन्छ र फल्न पनि थाल्छ । मनसुन मौसमी वायु हो, जसले हामी कहाँ वर्षा गराउँछ । तसर्थ बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गर्ने मनसुनले झन्डै १ सय १० दिनसम्म मुलुकमा वर्षा गराउने गर्छ ।

यो खास गरिकन जेठ, असार, साउन र भदौ, नेपालमा पानी पर्ने महिना हुन् । तर, जलवायु परिवर्तनजस्ता कारणले यो क्रम बिस्तारै पछि धकेलिँदै गएको छ । यसलाई नै बाढीपहिरोको मूल कारक मानिन्छ र वर्षभरिमा औसत १ हजार ६ सय मिलिमिटर वर्षा हुने गरेको छ । यहाँ औसत ८० प्रतिशत वर्षा वर्षायाममा नै हुन्छ । यसको मतलब बाढीपहिरोको जोखिम वर्षायाममै अधिक रहन्छ भन्ने नै हो । नेपाल विपद् प्रतिवेदन–२०७४ ले नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको कुरा सार्वजनिक गरिएको छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।

यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुनुका साथ साथै हजारौं नागरिक बेपत्ता र घरबारविहीन भई विस्थापित भएका छन् । यसरी खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो भए तापनि समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ । एक तथ्यांकअनुसार नेपाल बाढीपहिरो जोखिमका दृष्टिले विश्वमा ३०औं, जलवायु परिर्वतन जोखिममा चौथो, भूकम्पीय जोखिममा ११औं र बहुप्रकोपीय विपद् जोखिमका हिसाबले २०औं स्थानमा छ । सरकारसँग जोखिममा खर्च गर्ने बजेट पनि छ । यसैअनुरूप चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि समेत नेपाल सरकारले बजेट विनियोजन गरेको छ ।

मुलुकमा तत्काल विपद् परेकाको उद्धार, सबै प्रदेशमा आपत्कालीन सामग्री ५०औं वर्षदेखि नेपालमा विपद् कम गर्न प्रयास भइरहेका छन् । यसका नाममा हुने खर्च बर्सेनि अर्बाैंको आँकडामा देखापर्ने गरेका छन् । आज यहाँ टाल्यो, भोलि अर्को ठाउँ भत्किन सक्छ । जसले गर्दा बालुवामा पानी हालेजस्तो भएको छ । स्मरण रहोस् २०११ सालमा नेपालमा ठूलो बाढी आएको थियो । त्यो हाम्रा पिताहरूले भोगेका कुरा हुन् । अहिले पनि गाउँठाउँमा ११ सालको बाढीको कुरा कोट्याउनुभयो भने त्यो बेलामा भूस्वरूपमै परिवर्तन गर्नेगरी बाढी पहिरो आएको थियो भन्ने बुझ्न र थाहा पाउन सकिन्छ । त्यसबेला अहिलेको तुलनामा जनसंख्या निक्कै कम हुँदा पनि करिब ३ सय ५० मानिसको मृत्यु भएको थियो ।

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आँकलन गरेको छ

गाईवस्तु र धनको पनि उत्तिकै क्षति भएको थियो । तत्कालीन सयमा ३ हजार घर क्षतिग्रस्त भएको थियो भने १०औं लाख मानिस घरबार विहीन भएका थिए । त्यतिखेर बाढीपीडित सहयोग गर्न राष्ट्रिय दुःख निवारण कोषको स्थापना गरी सहयोग संकलन गरिएको थियो । नेपाल प्राकृतिक प्रकोपको दृष्टिले अत्यन्त जोखिममा रहेको छ । प्राकृतिक प्रकोपले हरेक वर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । यसैले हामी सधैं नै सजग र होसियार हुनुपर्छ । वन विनास र प्रकृति दोहन नै यस विपित्तको प्रमुख कारक हो । हिमालदेखि तराईसम्मै हामीले सचेतनामूलक अभियान सञ्चालन गर्न सकेमा र सबैले अनुशासित भई प्रकृतिको संरक्षण गर्न परेमा मात्र यस्ता विपित्तबाट हुने क्षति न्यूनीकरण सम्भव हुन्छ । किनकि, सरकारी प्रयासले मात्र यो सम्भव हुँदैन ।

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आँकलन गरेको छ । यसै क्रममा २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो गएको छ । यस वर्ष बाढीबाट १७ लाख र पहिरोबाट १ लाख १७ हजार जनसंख्या प्रभावित हुने अनुमान छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आँकलन पनि प्राधिकरणले गरेको छ । मूलतः कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्सेनि अर्बौंको धनजनको क्षति भइरहेको छ । यसरी प्राकृतिक विपत्तिका लागि प्रकृतिबाहेक कोही जिम्मेदार नहोला । तर, केही वर्षदेखि मानिस आफैंले सिर्जना गरिरहेका छन् यस्तो विपत्तिलाई ।

यसको साथसाथै तर भूकम्प, डढेलो, बाढी, पहिरो, डुबान, हावाहुरीजस्ता अनेक विपत्तिको सामना नेपालले निरन्तर गर्नुुपरिरहेको छ । विपत्तिको सामना गर्न र आवश्यक उद्धारका लागि संसारले अनेक प्रविधि, सीप र संयन्त्रको विकास गरिसके पनि नेपाल निकै पछि छ । भन्न त रेल चलाउने, पानीजहाज ल्याउने अनेक गफ निरन्तर सुनिने गरिन्छ । त्यसैगरी, रेल भने नेपालीका लागि पुरानो होइन । सधैं अनेक शब्दमा आलोचित राणा सरकारकै पालामा नेपालमा रेल र तुइन सञ्चालनमा थिए । मुलुकको परिवर्तनसँगै ती सबै विलुप्त भएका छन् । जनकपुर–जयनगर रेल्वे छुुुकछुक चलिरहेको सुनिन्छ । नत्र बाँकी गफ मात्रै भएका छन् र ती सबै नारा राजनीतिका लागि मात्र सीमित हुन पुगेका छन् । यसैगरी मनसुन सुरु भएसँगै असारको १ गते मंलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, जुम्ला, बाग्लुङ, दाङ, प्युठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए ।

यसको साथसाथै बाढीपहिरोको चपेटामा अन्य जिल्ला पनि परेका छन् । फलतः अहिलेसम्म बाढी र पहिरोका २ सय २ वटा घटना भएका छन् । यसको साथै सोही कारणले गर्दा ४८ जिल्लामा गरी ४ सय ८९ घरपूर्णमा भत्किएका छन् भने १ सय १२ घरमा आंशिक क्षति पुगेको छ । यसमध्ये गृह मन्त्रालयका अनुसार बाढीका कारण ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । र ५१ जना घाइते भएका छन्् । यस वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा पु¥याएको छ । यही अवधिमा ३९ अर्बबराबरको भौतिक क्षति भएको सरकारले दाबी गरेको छ । अविरल वर्षाका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुने क्रम जारी रहेको छ भने हजारौं मानिस गन्तव्यमा पुग्न नसकेर बाटोमा नै अलपत्र परेका छन् । त्यसरी नै गत वर्ष भेलपहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपालि पनि मनसुनको सुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

विपद् व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको विकास गरी सबै संयन्त्र परिचालन गर्न सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ

समग्रमा भन्नुपर्दा जनतालाई बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने कार्य बेलैमा सचेत गराउन सकियो भने विपद्बाट हुने ठूलो जनधनको क्षतिमा कमी ल्याउन सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ । मूलतः नेपाल सरकारले विपद्अधि गर्नुपर्ने पूर्वतयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी प्रत्येक वर्ष विपद्को सामना गर्नुपर्ने देशले पूर्वतयारीमा ध्यान दिन नसक्नुलाई बिडम्वना मान्नुपर्छ । अतः देशमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने नेपालको बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ । विकासको नाममा मुलुकभरि गरिएको अवैज्ञानिक तवरबाट खनिएका सडक हाल पहाड, मध्य पहाड, हिमाल, तराई क्षेत्रमा बसोबास गर्ने मानिसका लागि कालस्वरूप बन्दै गएको प्रमाण एकातिर छ भने अर्कोतिर छिमेकी देश भारतले सीमा क्षेत्रको दसगजामा सडक विस्तार गर्न थालेपछि नेपाली भू–भाग बाढी पहिरोमा पर्दै गएको कुरा सर्वविदित्तै रहेको छ । हाम्रो देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको देखिन्छ । मनसुनकै पानीले हाम्रो जीवन र अर्थ व्यवस्था चल्छ । मनसुन राम्रो भएको वर्ष हाम्रो आर्थिक वृद्धिदर र उत्पादन पनि राम्रो हुन्छ ।

जुनबेला मौसम गडबड हुन्छ, पहिरो जान्छ अनि आर्थिक वृद्धिदर पनि तल झर्छ । आखिर मनसुन नभए घाटा हुन्छ । पछिल्ला वर्षहरूमा मनसुनले किन क्षति गरिरहेको छ ? गम्भीर हुन जरुरी छ । तसर्थ विपद्लाई सदाका लागि बिदाइ गर्न जरुरी छ । विपद् व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको विकास गरी सबै संयन्त्र परिचालन गर्न सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ । यसर्थ घटना हुनुभन्दा अगाडि केही सचेत भए धेरै जनधनको क्षति हुन पाउने थिएन । यसकारण विगत वर्षहरूबाट विपत् व्यवस्थापनको पाठ सिकेर बेलैमा तीनै तहका सरकारले चलाखो भई मनसुनजन्य विपत्लाई घटाउन सकिने कुरामा कसैको पनि दुई मत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागको निर्देशन