इलाममा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु

इलाम । इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. गोविन्द केसीले गरेको २५औँ सत्याग्रह अन्त्य गराउन सरकारले इलामसहित विभिन्न जिल्लामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन गर्ने सहमति गरेपछि इलाम नगरपालिकाले आवश्यक तयारी थालेको हो ।

एक हजार रोपनी जग्गा व्यवस्थापनको तयारीमा नगरपालिका

मेडिकल कलेज स्थापनाका लागि नगरपालिकाले वडा नम्बर ९ र १२ मा जग्गा व्यवस्थापनको काम अघि बढाएको नगरप्रमुख केदार थापाले जानकारी दिए । उनका अनुसार मेडिकल कलेज स्थापनाका लागि करिब एक हजार रोपनी जग्गा आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको छ । केही वर्षअघि पनि इलाममा मेडिकल कलेज स्थापना गर्ने विषय उठेको थियो । त्यसबेला केही जग्गा नगरपालिकाको स्वामित्वमा रहेको र थप जग्गा मुआब्जा दिएर व्यवस्थापन गर्ने योजना बनाइएको नगरप्रमुख थापाले बताए ।

इलामसहित पाँचथर, ताप्लेजुङ, झापा र तेह्रथुम जिल्लालाई समेटेर इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने माग डा. गोविन्द केसीले राख्दै आएका थिए। यसअघि विभिन्न सरकारले यस विषयमा चासो देखाए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । त्यसपछि डा. केसीले इलाममै २५औँ पटक सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौंमा उनको सत्याग्रह अन्त्य गराउन गत कात्तिक २१ गते नेपाल सरकारका तर्फबाट शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इलाम, डडेलधुरा र उदयपुरमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरकारसँगको सहमतिपछि नगरपालिकाले प्रक्रिया थप तीव्र बनाएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलालले बताए । उनका अनुसार इलाम अस्पताल रहेको क्षेत्रको जग्गा र उपलब्ध पूर्वाधारलाई समेत समेटेर मेडिकल कलेज स्थापनाको तयारी भइरहेको छ । इलाममै सरकारी मेडिकल कलेज स्थापना भए चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज हुने र विदेशमा अध्ययन गर्दा लाग्ने खर्चसमेत बचत हुने प्रवक्ता दुलालको भनाइ छ ।

यसका लागि वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठको नेतृत्वमा समिति गठन गरी काम अघि बढाइएको उनले जानकारी दिए ।मेडिकल कलेज स्थापनासम्बन्धी थप प्रक्रिया अघि बढाउन नगरप्रमुख थापा काठमाडौं जाने र आवश्यक कागजात तयार गर्ने काम अघि बढाइने जानकारी नगरपालिकाले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएको छ ।

पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गर्नुका साथै स्थानीयस्तरमै स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कार एकेडेमीद्वारा ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक