जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा प्रत्येक वर्ष दिइने एक लाख रुपैयाँको अनुसन्धान पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई प्रदान गरिएको छ । मैथिली भाषाका महाकवि विद्यापतिको नाउँमा स्थापित मैथिली भाषाको अनुसन्धान पुरस्कारको राशी एक लाख रहेको छ । रामजानकी विवाह उत्सवलाई लिएर पत्रकार झा अनुसन्धान गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा आज आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरे । पत्रकार झाको मैथिली भाषामा आठवटा कृति प्रकाशित छन् ।
संस्कृति मन्त्रालयले मैथिली भाषामा दिएने पुरस्कारका लागि एक करोडको अक्षयकोष स्थापना गरि विद्यापति पुरस्कार कोष बनाएको छ । सो कोषले एकजनालाई दूई लाख, ३ जनालाई १–१ लाख र दूईजनालाई ५०–५० हजारको पुस्कार दिदै आएको छ ।

दूई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद राजविराजलाई, एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार पत्रकार सुजीतकुमार झा, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार पूर्व सांसद वृषेशचन्द्र लाल, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार कवि अमरेन्द्र यादवलाई तथा ५० हजारको नेपाल विद्यापति मैथिली कला संस्कति पुरस्कार अजितकुमार साह र नेपाल विद्यापति मैथिली कला संस्कति पुरस्कार सुनिताकुमारी साहलाई प्रदान गरिएको छ ।
पुरस्कार वितरण गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का प्रमुख भाषा मैथिली र भोजपुरी सहितको भाषाको विकासका लागि प्रदेशमा प्रज्ञा प्रतिष्ठान बनाउने घोषणा गरेका छन् ।
मधेशी आयोगका अध्यक्ष विजय दत्तले मैथिली साहित्य र कला संस्कृति विकासका लागि संघिय सरकारले राम्रो कार्य गरिरहेको चर्चा गर्दै प्रदेश सरकारलाई योगदान दिन आग्रह गरे । विद्यापति पुरस्कार कोषका अध्यक्ष रामचन्द्र यादको अध्यक्षतामा भएको सो समारोहमा पूर्व सांसद वृषेशचन्द्र लाल, कोषका सचिव नविनकुमार मिश्र, पत्रकार हिमांशु चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।






