पोखरा । छिमेकी देश चीनबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको प्रमुख पर्यटकीय नगरी पोखरा समेत उच्च जोखिममा छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी सजकता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
कास्कीमा पनि संक्रमणको सम्भावना दृष्टिगत गर्दै संक्रमणको फैलावट घटाउन वा जोखिम कम गर्न धेरै भिडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थलमा भेला, मेला, भेटघाट, जमघट र समारोहजस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
कोरोना भाइरस विश्वका ७७ बढी मुलुकमा फैलिसकेको छ । नेपालसहित विश्वभरमै यसको जोखिम रहेको जेखाजोखा विश्व स्वास्थ्य संगठनले गरिसकेको उल्लेख गर्दै सजकता अपनाउन सहायक प्रजिअ श्रीनाथ पौडेलले बुधबार सूचना जारी गरेका हुन् । सूचना जारीसँगै पूर्व निर्धारित विभिन्न कार्यक्रमहरु धमाधम क्यान्सिल भएका छन् । सम्बन्धित संघसंस्थाले विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणको खतरा भन्दै आफ्ना पूर्व निर्धारित कार्यक्रम तत्काललाई स्थगित गरेको जनाएका हुन् ।
मादी गाउँपालिकाले नोवल कोरोना भाइरसबाट सुरक्षित उपाय अपनाउन गाउँपालिकाभित्र कुनै सभा, सम्मेलन, गोष्ठी, सेमिनार, मेला, पर्वजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ । साथै गाउँपालिकाको आयोजनामा आगामी वैशाख १ देखि १० सम्म हुने भनिएको ऐतिहासिक मादी पर्यटन महोत्सव–२०७७ समेत स्थगित भएको छ ।
यस्तै, पोखरा फिल्म सोसाइटीले यहाँ गर्न लागेको चौथो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल समेत स्थगन गरेको छ । सोसाइटी अध्यक्ष जितेश प्रधानले विज्ञप्ति जारी गरी आगामी १ र २ चैतमा पोखरा थियटरमा हुने भनिएको पूर्व घोषित फिल्म फेस्टिभल हाललाई स्थगित गरिएको जनाएका हुन् । पोखरामा ५ वर्षदेखि लगातार हुँदै आएको सो फेस्टिभलमा यसपाली २२ देशका ४२ चलचित्र छनोट भएका छन् ।
तर, मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले आज (बिहीबार) देखि पोखरा रंगशालामा राष्ट्रिय–अन्तर्राष्ट्रिय १८ औं आहा रारा गोल्डकप सुरु हुँदैछ । धमाधम अन्य कार्यक्रम स्थगनको घोषणा आइरहँदा १० दिनसम्म आयोजकले पोखरा रंगशालामा फुटबलको कुम्भ गर्दैछ । विगतमा प्रतियोगिता हेर्न हजारौं दर्शक रंगशाला पुग्ने गरेको पाइन्छ । मानिसहरुको खचाखच हुने गर्दछ ।
तर, क्लब अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताको पूर्वसन्ध्यामा आइसकेकोले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सधैँझैं सबैको सहयोगको अपेक्षा गर्दै विज्ञप्ति जारी गरेका छन् । भारतको टिमसमेत सहभागी हुने प्रतियोगितामा १० टिमको सहभागिता छ । १ चैतसम्म चल्ने प्रतियोगिताको उद्घाटनमा आयोजक र ब्रीगेड ब्याइज क्लब (बीबीसी) बीच प्रतिष्पर्धा हुनेछ ।






