नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य उपस्थिति देखाउन थालेपछि क्रिकेट खेल आफैंमा नेपालका लागि नयाँ पहिचान बन्न पुगेको छ । यो वर्षको चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका सार्वजनिक हुने क्रमसँगै काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ । छिमेकी तथा मित्रराष्ट्र पाकिस्तानले नेपालको क्रिकेट क्षेत्रको प्रगतिलाई नजिकबाट नियालिरहेका कारण पनि यो संयोग सम्भव हुन गएको हो । अफ्रिदीको अनुबन्धन’bout नेपालको घोषणासँगै उनले भिडियो कन्फ्रेन्समार्फत् काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको उत्साहजनक प्रतिक्रिया दिएका छन् । अनुभव र सहकार्यका हिसाबले आफूलाई नेपाली क्रिकेट तथा खेलाडीका विषयमा धेरै जानकारी हुन नपाए पनि अबका दिनमा नेपाली युवा खेलाडीसँग व्यावहारिक रूपमै सहकार्य गर्न पाउँदा उत्साहको बहार आएको समेत बताएका छन् ।

४१ वर्षीय परिपक्व अफ्रिदी विश्व क्रिकेट जगत्का अलराउन्डर खेलाडी हन् । ‘बुमबुम’ अफ्रिदी भनेर चिनिने उनी क्रिकेट खेलमा ठूला सर्ट र स्पिन बलिङका लागि माहिर मानिन्छन् । आफूले जानेका कुरा नेपाली क्रिकेट खेलाडीलाई सिकाउने र सिकेर थप प्रगति गर्न उत्साहित बनाउने उनको सोच रहेको छ । विश्व क्रिकेटमा पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडीआई र ९९ टी–२० जस्ता अन्तर्राष्ट्रिय खेल खेलिसकेका अफ्रिदी ईपीएलमा सहभागी भएर नेपाली क्रिकेट जगत्मा आफ्नो अनुभवलाई सकारात्मक रूपमा पस्किन चाहन्छन् । यो मनोभावनालाई नेपाली क्रिकेट जगत्ले पनि यही रूपमा बुझेको देखिन्छ । सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढेका उनले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन तथा ३ सय ९५ विकेट लिएका छन् । सन् २००६ मा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यु गरेपछि उनी १ हजार ४ सय १६ रनसहित ९८ विकेट लिएर चर्चाको धुरी चढ्न सफल भएका थिए । काठमाडौंले गत वर्ष नाम सार्वजनिक गरेका केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नेपाल आगमन निश्चित नभए पनि अफ्रिदी भने नेपाल आउने र ईपीएलमा सहभागी हुने देखिएको छ ।

क्रिकेट खेल अहिलेको विश्व जगत्मा पहिचान र प्रतिस्पर्धाको नयाँ नाम बनेको छ । विश्वमा कुन देश कति आधुनिक छन् । कतिले प्रगति गरेका छन् र विश्वमा आफ्नो पहिचान तथा उपस्थिति कायम राखिरहन कति सचेत प्रयत्न गरिरहेको छ भन्ने कुरा खेल जगत्बाट मापन हुन थालेको छ । खेल आफैंमा एक कूटनीतिक सम्बन्ध कायम गर्ने नयाँ कूटनीतिक साधनका रूपमा विकसित हुँदै आएकाले पनि यो विश्वमा बढी स्वीकार्य हुँदै गएको छ । सम्बन्धित देशका जनताको मनोभावना र राष्ट्रिय एकताको पहिचान पनि भएकाले खेल आफैंमा दुई देशबीचमा सुदृढ जनसम्बन्ध स्थापनाको साधन पनि बन्न पुगेको छ । अलराउन्डर शाहिद अफ्रिदीको एपीएल क्रिकेट खेलमा सहभागितासँगै नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा गाढा बनेर जानेछ । अफ्रिदीको अनुबन्धन नेपाल र नेपाली क्रिकेट जगत्का लागि नयाँ अनुभव, उत्साह र प्रेरणा बनोस् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर