नेपालमा राजनीतिक दलको इतिहास ८० वर्ष लामो भइसके पनि नेपाल र नेपाली जनताका लागि राजनीतिक दलले आशाप्रद परिणाम दिन सकेका छैनन् । देशमा गरिबी, असुरक्षा र विनासको कहालीलाग्दो तस्बिर छ । चुनाव हुने, सरकार बन्ने र विघटन हुने प्रवृतिले आजित जनता दलसँग आशा गर्न पनि छोडेका छन् । प्रजातन्त्र गणतन्त्र स्थापना गरे पनि जनताको आकांक्षा पूरा गर्न नसक्नु राजनीतिक दलको असक्षमता हो, असफलता हो । नेपालका राजनीतिक दलमा निर्णय क्षमता छैन या त निर्णय क्षमता निर्देशित छ वा स्खलन भएको छ भन्दा अतिशयोक्ति हँुदैन ।
अनुत्तरदायी, भ्रष्ट, कर्तव्यच्युतजस्ता शब्द पार्टीका अगाडि आउने विशेषण बनेका छन् । राजनीतिक दलहरू पार्टीभित्रको गुट र अन्तरगुट विवाद व्यवस्थापनमा चुकेका कारण दलहरूको शक्ति पनि विश्वासझंै क्षीण हँुदै गएको छ । हाम्रो देश प्रजातन्त्र र विकास सँगसँगै हिँड्न सक्दैनन् कि † भन्ने तर्क प्रमाणित गर्ने थलो बन्दै गएको हो कि जस्तो लाग्छ । गण्तन्त्र संघीयता स्थापनाको एक दशक पुग्दा नपुग्दै विकल्पको खोजी र विघटनका स्वर गाउँ सहरमा घन्किन थालेका छन् । यही वातावरण रहिरहे जनता रैथाने दलको विकल्पमा संगठित हुने दिन आउन पनि बेर छैन ।
नेपाली समाज पनि डिजिटल समाज, सुसूचित समाज, चरम व्यक्तिवादी समाज, भर्चुअल नेटवर्कको समाजमा रूपान्तरण हुँदै गएको छ । जनताका आवश्यकता, चाहना, दृष्टिकोण बदलिएका छन् । सामाजिक सञ्जालले राजनीतिक सामाजिक आर्थिक सवालमा नयाँ ढंगले सोच्नुपर्ने बनाएको छ । मानिसको जीवनमा भौगोलिक दुरता घटेको छ र आफन्तपनको सामिप्यताको परिभाषा बदलिएको छ । समाजमा राजनीतिक सैद्धान्तिक मान्यता र आस्था फेरिएका छन् । परंम्परागत रूपमा पाइने सैद्धान्तिक स्थिरता र अडान मानव जीवनमा अनिवार्य हुन छोडेको छ ।
सूचनाको पहुँच र सामाजिक सञ्जालले देशको राजनीतिक निर्णयमा अन्तर्राष्ट्रिय सीमा पार बस्ने नेपालीहरूको प्रभाव पनि बढ्दै गएको छ । संघीयताले प्रादेशिक राजनीतिक दलको सम्भावना अगाडि ल्याएको छ । राजनीतिक प्रतिस्पर्धा गम्भीर, खर्चिलो र चुनौतीपूर्ण बन्दै गएको छ । भूराजनीतिले अन्तर्राष्ट्रिय दृष्टिकोण र छिमेकी चासोलाई पनि ग्लोबल बनाएको छ ।
देशमा राजनीतिक सामाजिक आर्थिक विकास र परिवर्तनको गति सुस्त छ । गरिबी, रोग बढोत्तरी र वातावरण विनास आर्थिक विकासका कठोर चुनौती बनेका छन् । प्रविधिको दु्रत परिवर्तनले समाजमा संवेदनशील वातावरणको सिर्जना गरेको छ । विश्वको विकास र परिवर्तनसँग परिचित युवा संसारभरको विकास र परिवर्तन तथा सार्वजनिक सेवाको सहज उपलब्धताका आधारमा आफ्नो देशको सरकार र राजनीतिक दलको मूल्यांकन गर्ने हैसियतमा पुगेका छन् । नेपाली युवाले सामाजिक सञ्जालमार्फत परिवर्तनको पक्षमा एकजुट हुने चरित्र पनि देखाउने गरेका छन् ।
युवाहरू पटकपटक नेतृत्व गर्ने अवसर पाएर असफल भएको राजनीतिक व्यक्तिलाई नै पटकपटक भोट दिएर निर्वाचनमा जिताउन पनि चाहँदैनन् । उनीहरूको राजनीतिप्रति चाख पनि घट्दै गएको छ । युवाहरू नेपालको राजनीतिमा विकासमुखी परिवर्तन देख्न चाहन्छन् । राजनीतिक चरित्र, व्यवहार र गतिविधिले नेपाली जनतामा राजनीतिक दलप्रतिको विश्वास, आस्था र माया नराम्ररी स्खलन भएको घडीमा विगत कथा बिर्सेर राजनीतिक दलले संगठनात्मक रूपमा बलियो भई जनताको मन जित्ने गरी काम गरेर छुट्टै पहिचान बनाउन सक्नुपर्छ ।
राजनीतिक दलभित्रको गुट र अन्तरगुट विवाद व्यवस्थापनमा चुकेका कारण पनि शक्ति र विश्वास क्षीण हुँदै गएको छ
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक वातावरण परिवर्तनशील छ । जनविश्वास जर्गेना गर्दै सरकारको नेतृत्व गर्ने लक्ष्य हासिल गर्न तथा देशमा प्रजातन्त्र, गणतन्त्र, विकास, समृद्धि र खुसी हासिल गर्न आर्थिक सामाजिक विकास गरी देशमा आमूल परिवर्तन गर्नेगरी खरो उत्रन राजनीतिक दलको अगाडि रहेको अहं प्रश्न हो । गतिशील, अनुशासित र जनभरोशाको राजनीतिक दल बनाउन प्रत्येक दलले आफ्नो दललाई वैचारिक, सांगठनिक र नेतृत्वका दृष्टिले मजबुत हुनुपर्ने आवश्यकता हिमालभन्दा अग्लो छ । अनुशासित, परिणाममुखी, उत्तरदायी, पारदर्शी, इमानदार र जनप्रिय पार्टी बनाउन राजनीतिक दल अगाडि गम्भीर चुनौती रहेका छन् ।
नेपाली जनताको मन जित्नेगरी काम गर्नु प्रथम र अहं चुनौती हो । देशमा रहेका राजनीतिक दलमध्ये आफ्नो दललाई बढी सक्रिय, परिवर्तनशील, प्रतिस्पर्धी र जनप्रिय पार्टी बनाउने अर्को चुनौती हो । नेपाली युवालाई राजनीति दलप्रति आकर्षित गर्ने र युवाको चाहनालाई दलले समेटनुपर्ने अर्को ठूलो खाँचो छ । पार्टीे संगठनलाई देशका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडासम्म संगठित र गतिमान बनाई जनताको नगिच पु¥याउनुपर्ने आवश्यकता उस्तै महŒवपूर्ण छ । पार्टी कार्यकर्तालाई तालिम दिएर पार्टीको सिद्धान्त, लक्ष्य र कार्यक्रमको विषयमा जानकार बनाई पार्टीको पक्षमा बहस गर्न सक्नेगरी सक्षम र उत्प्रेरित बनाउनु पनि छ ।
त्यसैगरी, पार्टीप्रति आस्था र विश्वास राख्ने तमाम सर्मथक र कार्यकर्ताको क्षमताको न्यायिक उपयोग गरी पार्टी सशक्तीकरण गर्नुपर्ने जरुरी पनि उत्तिकै महŒवपूर्ण छ । पार्टीमा स्वतः नेतृत्व विकास हुने परिपाटी विकास गर्नु राजनीति दलको स्वाभाविक तथा समसामयिक चुनौती हो । पार्टीभित्र पाइने स्थायी गुट प्रवृतिको अन्त तथा मुद्दामा आधारित पक्ष विपक्ष बन्ने र विघटन हुने संस्कृतिको विकास गर्ने चुनौती पनि छ । पार्टी समर्थक शुभचिन्तक र सहयोगी पार्टीका नेता कार्यकर्ताबीच रहेको अनावश्यक गुटबन्दी र निर्वाचनमा हुने अनुशासनहीन अन्तरघात र मतदानमा अनुपस्थित हुने बेइमानी चरित्र समाप्त हुनुपर्ने मान्यता राख्छन् । नेता कार्यकर्ताले जथाभावी सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्दै नहिँडुन् भन्ने पनि चाहन्छन् । यसकारण पार्टीमा मजबुत एकता र पार्टीका नेता र कार्यकर्ताबीच आपसी विश्वास, सम्मान र सहयोगको स्थापना गर्नु पनि जरुरी छ ।
आफनो पार्टीलाई जीवन्त, गतिशील र परिणाममुखी बनाउने चुनौती प्रत्येक पार्टीको नेतृत्वसामु सगरमाथा भई खडा छ । बदलिँदो नेपाली समाज, परिवर्तित राजनीतिक वातावरण, नागरिकको कनेक्टिभिटी, भूराजनीतिक अवस्था र पार्टीका अगाडि रहेका चुनौतीहरूको सामना गर्न आफ्नो दललाई सशक्त क्रियाशील र विश्वासिलो पार्टीका रूपमा खडा गर्न पार्टी जहिले पनि रूपान्तरणउन्मुख हुनुपर्छ । नेतृत्वले एकातर्फ पार्टीलाई लोकतान्त्रिक व्यवहार र आचरण, विधान र विधिअनुसार चलाउनुपर्छ भने अर्कोतर्फ पार्टीलाई राजनीतिक वृतमा प्रतिस्पर्धी र जनमनको पार्टी बनाउनु पनि पर्छ ।
राजनीतिक दलहरूले आफ्नो पार्टीलाई देशको राजनीतिक स्पर्धामा अग्रपंक्तिमा खडा गर्न सुज्ञानी तथा सुसूचित, तर्क गर्ने, निर्णय गर्ने, नेतृत्व गर्ने, समन्वय गर्ने र पार्टीमा पाइने गुटगत राजनीति समाप्त गर्ने र पार्टीलाई बदलिँदो समाजसँगै रूपान्तरण गर्ने क्षमता भएको इमानदार नेतृत्वको पार्टीका लागि सधंै आवश्यक हुन्छ ।
प्रजातान्त्रिक प्रणालीमा राजनीतिक नेताको योग्यता उमेरको कसीमा नाप्न मिल्दैन र उमेर बढ्दै जाँदा जीवनको मूल्यमा ह्रास आउने पनि होइन् । नेतृत्वको पुस्तान्तरण वा हस्तान्तरण प्रजातान्त्रिक निर्वाचनले गर्ने हो । विश्वमा धेरै पाका र धेरै युवाले पार्टी र देशको नेतृत्व गर्ने अवसर पाएका छन् र गरिरहेका छन् । नेतृत्वको पहिचान उसमा अन्तर्निहित अग्रगामी सोच, क्षमता र क्रियाशीलताले गर्छ । नेतृत्वले आफनो खुबी कार्यकर्तामाझ देखाई उनीहरूको विश्वास र लोकप्रियता आर्जन गर्नुपर्छ ।
नेतृत्व रहेर गरेर वा मागेर पाउने अवसर होइन । शारीरिक वा बौद्धिक वा अवसर नपाएको कारण देखाएर पनि नेतृत्व पाउने होइन । र नेतृत्व पालो कुरेर पनि पाइँदैन । यसकारण नेतृत्वमा पुग्न प्रतिस्पर्धा नै गर्नुपर्छ । कोही नेता कार्यकर्ता निर्वाचनमा प्रतिस्पर्धा गर्न चाह्यो वा उत्रियो भने त्यस्ता नेता कार्यकर्तालाई कर्के नजरले हेर्ने होइन उत्प्रेरित गर्नु प्रजातान्त्रिक संस्कार हो ।
प्रजातन्त्रमा निर्वाचन सभ्यता आफंैमा महŒवपूर्ण पक्ष हो । निर्वाचनले पार्टीभित्र आन्तरिक प्रजातान्त्रिक संस्कार र सभ्यताको विकास गर्छ । निर्वाचन नेतृत्व चयनको विधि भएकाले नेतृत्व छनोट र विकासका लागि फराकिलो, स्वतन्त्र र निष्पक्ष निर्वाचनको महŒवपूर्ण योगदान रहन्छ । निर्वाचनमा कार्यकर्ता मतदाताले भइरहेको वा हुन खोजेका राजनीतिक नेता कार्यकर्ता जसले पार्टीका लागि पाएको जिम्मेवारी र सोको नतिजाको सफलता असफलताको मूल्यांकन गरेर निर्णय लिन्छन् । उत्तरदायी नेतृत्वले निर्वाचनमा आफ्नो उपलब्धिको स्वतन्त्र समीक्षा गर्ने अवसर दिनुपर्छ र सफलता असफलताको जिम्मेवारी पनि लिनुपर्छ ।
राजनीतिक दलले राजनीतिक, आर्थिक सामाजिक दृष्टिकोण, संगठनात्मक संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्दै नेतृत्व र निर्णय गर्न सक्ने क्षमताको विकास गर्नु जरुरी छ
निर्वाचनमा दुई वा धेरै पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । आकांक्षीले एउटै मञ्चमा उभिएर आफ्नोे आफ्नो भिजन र लक्ष्यको सम्बन्धमा कार्यकर्ता र समर्थकलाई बुझाएर उनीहरूको मन जित्नुपर्छ । निर्वाचनपद्धति स्वीकार गरी सकेपछि राजनीतिक नेताहरूले प्रतिस्पर्धा र आलोचनालाई सहज रूपमा ग्रहण गर्न सक्नुपर्छ । र परिणामपछि पार्टीको नीति सिद्धान्तअनुकूल आचरण गर्दै पार्टीको हितअनुकूल निर्वाचित नेतृत्वलाई सहयोग गर्ने प्रजातान्त्रिक संस्कार संस्कृतिको विकास र पालना पनि गर्नुपर्छ ।
स्वस्थ निर्वाचन प्रणालीले निर्वाचनमा नेतृत्वको चयन स्वतन्त्र र प्रतिस्पर्धात्मक बनाउँछ । मतदाताको स्वतन्त्र अभिमतले सक्षम र सामयिक नेतृत्व चयन गर्छ । देशको विकास र समृद्धिको लागि पार्टी र सरकारको नेतृत्वमा आउने परिवर्तनले नवीन ऊर्जा ल्याउँछ । नेता गुट होइन नीति र योजना बनाउने गर्छ । नेतृत्व गर्न चाहने हरेक नेता देश, जनता र पार्टीका लागि नवीन भिजन लिएर प्रतिस्पर्धामा उत्रन्छ । खुला बहस हुन्छ । पार्टीमा नेतृत्वको सहज विकास हुन्छ । पटकपटक निर्वाचन जित्नु र जिताउनुपर्छ भनेर भ्रष्टाचार गरेर धन थुपार्ने राजनीतिक आकांक्षा पनि सेलाएर जान्छ ।
प्रणालीगत रूपमा नयाँ व्यक्तिको हातमा नेतृत्व जाने कारण नेतृत्व गर्ने अवसर धेरै राजनीतिज्ञलाई उपलब्ध हुन्छ । उनीहरूमा शारिरीक, मानसिक एवं बौद्धिक क्षमता विकास गर्दै आफ्नो समयमा केही राम्रो काम गरौं भन्ने इच्छाशक्ति जागृत हुन्छ । मतदातालाई मतदान गर्न पनि रमाइलो लाग्छ र राजनीतिक संस्कारमा नवीन रक्तसञ्चार प्रवाह हुन्छ । यसकारण, हरेक कार्यकर्तामा नेताको मूल्यांकन गर्ने क्षमता र सामथ्र्य हुनुपर्छ ।
नेपाली राजनीतिक दलहरूले पार्टीको सर्वोच्च कार्यकारी पदमा लगातार वा पटकपटक गरी दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाउने वैधानिक व्यवस्था गरेका छन् । तर, नेपालको संविधानले गाउँपालिको अध्यक्ष र नगरपालिको मेयर सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था ग¥यो । प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, तथा प्रदेशको मुख्यमन्त्री, प्रदेश सभा अध्यक्ष पदमा दुईपटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था भने गर्न सकेन । यस प्रावधानले राजनीतिक दल र सरकारमा विकृति ल्याएको छ ।
संविधान संशोधन गरेर एक व्यक्ति देशको प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्रीलगायत निर्वाचन हुने कार्यकारी पदमा बढीमा दुईपटक निर्वाचित हुन पाउने व्यवस्था गर्न तथा देशको राष्ट्रपति उपराष्ट्रपति, प्रदेशको प्रदेश प्रमुखजस्ता संवैधानिक पदमा भने एकपटक मात्र नियुक्त वा निर्वाचित हुन सक्ने व्यवस्था गर्न आवश्यक छ । त्यसपछि शीर्ष नेताबीचकोे पद केन्द्रित विवाद त्यसै बिलाउँछ । दलहरूमा गुट बन्ने, विवाद हुने र टुक्रने प्रवृति पनि हराएर जान्छ ।
नेताहरू आफूपछि आफंै नेता बन्ने विषय छोडेर कुन नयाँ योग्य व्यक्तिलाई नेता बनाउने भनेर चिन्तन र मनन गर्न थाल्छन् । नयाँ जन्मेका र जन्मने राजनीतिक दलहरूमा पनि टुट्ने फुट्ने प्रवृति रहँदैन् । जसले राजनीति क्षेत्रलाई शान्तिकामी बनाइदिन्छ ।
संसदीय शासन प्रणालीमा राजनीतिक दलहरू सक्षम, जवाफदेही र पारदर्शी नभएसम्म देशको विकास, समृद्धि जनअपेक्षा हासिल गर्न सकिँदैन । यसकारण राजनीतिक दलहरूले आफ्नो राजनीतिक, आर्थिक प्रशासनिक क्षमता विकास गर्न र जनविश्वास प्राप्त गर्न अनिवार्य छ । सक्षम राजनीतिक दल निर्माणका लागि नेता कार्यकर्ताको त्याग, इमानदारिता र उत्तरदायी व्यवहारको खाँचो पर्छ । नेपालको राजनीतिक समाजले जहिले पनि राजनीतिक दलमा क्रियाशील, सुसूचित र दूरदर्शी पार्टीभित्र सिस्टम बसाल्न सक्ने इमानदार नेतृत्वको आशा गरिरहेको हुन्छ ।
राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक र प्रविधि परिवर्तन द्रुत गतिमा भइरहेको घडीमा हरेक पार्टीले अन्य राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न, नयाँ पुस्ता राजनीतिक प्रणालीमा आमूल परिवर्तन खोजिरहेको बेलामा नवीन राजनीतिक सोच निर्माण गर्न र देशको सर्वोतोमुखी विकास गर्न प्रत्येक राजनीति दलले आफ्नो राजनीतिक, आर्थिक सामाजिक दृष्टिकोण, संगठनात्मक संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तन र सुधार गरी नेतृत्व र निर्णय गर्न सक्ने क्षमताको विकास गर्नु आजको आवश्यकता हो ।






