मुस्ताङ । राजधानी राष्ट्रिय दैनिकका संस्थापक अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको शोकमा मुस्ताङको खासाङ २ कोवाङस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिएको छ ।
सो विद्यालयका प्रधानाध्यापक खिमबहादुर गुरुङका अनुसार विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षको नाताले शेरचनको निधनप्रति शोक व्यक्त गर्न शुक्रबार एक दिन विद्यालय बन्द गरिएको हो । यसअघि शुक्रबार विहान बसेको विद्यालयका शिक्षकहरूको बैठकले शोक प्रस्ताव पारित गर्दै विद्यालय बन्द गर्ने निर्णय लिएको थियो ।
शोक व्यक्त गर्दै एक दिन विद्यालय बन्द
प्रधानाध्यापक गुरुङका अनुसार विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरचनले विद्यालयका लागि हिमाली आवासीय छात्रवृत्ति कोटा उपलब्ध गराएका थिए । यसैगरी, सांसद विकास कोषबाट विद्यालयका लागि छात्रवाससमेत निर्माण गरेका थिए । शेरचनले विद्यालयका लागि आवश्यक कम्प्युटरलगायत अन्य भौतिक सामग्रीसमेत उपलब्ध गराएका थिए ।
प्रधानाध्यापक गुरुङले विद्यालयका पूर्वअध्यक्ष शेरचनको निधनले विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक स्तब्ध भएको पनि बताए । सो विद्यालयमा अहिले १ सय ६० विद्यार्थी अध्ययनरत छन् ।






