बाह्रबिसे नगरपालिका–५ गातीस्थित भयौलीकुण्ड पुग्ने जो कोही प्राकृतिको अनुपम छटामा पानीपानी हुन्छन् । निर्माणधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाको पावरहाउस जम्बुनजिकैबाट करिब १२ किलोमिटर यात्रापछि पुगिन्छ, यहाँ । विकट क्षेत्र भए पनि पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण ठाउँ विकासका लागि बाह्रबिसे नगरपालिकाले केही वर्षअघिदेखि यहा“को भौतिक पूर्वाधार थालेको थियो ।
समुन्द्री सतहदेखि २८ सय मिटर उचाइ । वरिपरी हिमाल । घनाजंगल । चौरीका बथान अनि चिसो मौसममा पनि बिहानै लाग्ने तातो घामको स्र्पशले सा“च्चै नै स्वर्ग अनुभूति हुन्छ यहाँ आइपुग्दा । नगरपालिकाले कुण्ड पुनर्निर्माण गरेर आर्कषक बनाएपछि धार्मिक आस्था र पर्यटकीय गन्तव्य बन्न पुगेको छ । विगतमा सामान्य कुण्ड भयौलीले बेहुलीको रूप धारण गरेको छ ।

कुण्ड विकासका लागि संघीयता र स्थानीय तहमा आफ्नै गाउँको नेतृत्व आउँदासम्म स्थानीयले पर्खनुप¥यो । अनेकौं सम्भवनाले भरिपूर्ण भयौलीमा राज्यको ध्यान नपुग्दा यसको मात्रै होइन, सिंगो मान्द्रा, व्यार्सा सोताङ, भन्ज्याङलगायत गाउँ विकास र समृद्धिबाट गुमनामजस्तै थिए । स्थानीय सरकार आएपछि ओझेलमा रहेको भयौलीकुण्ड अहिले धार्मिक र पर्यटकीय गन्तव्य बन्न पुगेको स्थानीय आङदोर्जे शेर्पा बताउँछन् । स्थानीयसमेतको सक्रियतामा भयौलीकुण्डको रूप फेरिएको उनी सुनाउँछन् ।

तीन वर्षअघिदेखि निर्माण सुरु भयौली कुण्ड सम्पन्न चरणमा छ । बाह्रबिसे नगरपालिका, बाग्मती प्रदेश सरकार र संघीय सरकारले यसलाई प्राथमिकतामा राखेपछि झन्डै एक करोड लागतमा कुण्ड यो अवस्थामा आइपुगेको हो । कुण्डमा वर्षको तीनपटक मेला लाग्छ । शिवरात्रि, बुद्ध पूर्णे अर्थात् जेठ पूर्णिमा र धान्य पूर्णे यहाँ मेला लाग्ने मुख्य तिथि हुन् । यीमध्ये बौद्ध धार्मिक सम्प्रदायअन्तर्गत बोन समुदायले विशेष महत्वसाथ मनाउने बोनै पूर्णिमा र हिन्दूले मनाउने जनैपूर्णिमा एकैदिन पर्ने हुनाले यहाँ त्यसदिन धेरै ठूलो मेला लाग्छ ।
भयौली कुण्डमा महादेवको बास रहेकाले मागेको ‘बर’ पाइने विश्वाससाथ श्रद्धालु भाकलसहित यहाँ आउने गर्छन् । यस क्षेत्रमा बौद्ध धर्मलम्बीको बाहुल्यता भए पनि सहज व्यवस्थाका लागि भयौलीकुण्डबीच शिव मन्दिरसमेत निर्माण गरिएको छ । ‘हामीले सबै धर्मप्रति आस्था राख्नेलाई भयौलीकुण्डसम्म आउन शिव, बुद्धथान निर्माण गरेका छौं,’ बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पा भन्छन् ।
विगतमा टाढाबाट कष्टसाथ पुग्नुपर्ने भयौली प्रवेश स्थानसम्मै अहिले सहज रूपमा सवारी साधन पुग्दछन । हाइकिङ र टे«किङमा रुचि राख्नेका लागि यहाँदेखि कालिञ्चोक र देउढुंगासम्मको यात्रा पनि तय गर्न सकिन्छ । सिन्धुपाल्चोक उच्च क्षेत्रमा रहेका ताल र कुण्डमध्ये भयौली पनि एक हो । पाँचपोखरी, भैरवजस्ता भयौलीकुण्ड पनि महत्वपूर्ण पयर्टकीयस्थल भए पनि प्रचारप्रसार अभावले ओझेल परेको बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पाको गुनासो छ ।

प्राकृतिक कुण्डमात्रै होइन, ’round घना जंगलमा पाइने विभिन्न जनावर अनि जुगल हिमालको सिरेटोले वातावरण निकै मोहक बनाएको छ । भयौलीकुण्ड मात्रै होइन, यहाँबाट केही तल रहेको आनी गुम्बा, गोरखनाथ आधरभूत विद्यालय, मठ मन्दिर र नगरपालिकाले स्थानीयस्तर सुधारका लागि ल्याएको योजनाले पनि यो ठाउँ महत्वपूर्ण छ ।
१० रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको विशाल आनी गुम्बा अर्काे आर्कषक हो । नगरपालिकाले यहाँको जग्गामा स्याउखेतीका लागि माटो परीक्षण र प्राविधिक आएर सर्वेक्षणसमेत सुरु गरिसकेका छन् । अबको केही वर्षमा सबै क्षेत्रका लागि अध्ययन गर्न आउनेका लागि पाठशाल नै हुनेगरी काम गरिरहेको नगरप्रमुख शेर्पा सुनाउँछन् । शैक्षिक, धार्मिक, कृषि र पर्यटकका लागि यहाँबाट महत्वपूर्ण ज्ञान मिल्ने विश्वास उनको छ ।
भयौलीकुण्ड संरक्षण
समुन्द्री सतहदेखि २० मिटर उचाइमा भए पनि भयौलीकुण्ड संरक्षण गर्न सुरु गरियो । जनप्रतिनिधि आएसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बाह्रबिसे नगरपालिकाले संरक्षण सुरुवात ग¥यो । कुण्ड पुनिनिर्माण सम्पन्नपछि गएको जनैपूर्णिमामा ठुलो मेला लाग्यो । २०७२ को भूकम्पबाट असर परेपछि अहिले कुण्डलाई नगरपालिकाले प्राकृतिक स्वरुपमै निर्माण गरेको छ । यसको प्राकृतिक ‘सेप’ नबिग्राने र केही आधुनिकता पनि झल्कनेगरी कुण्ड निर्माण गरिएको नगरप्रमुख शेर्पा बताउँछन् । ‘अझै केही संरचना निर्माण गर्न बाँकी छन्,’ उनी भन्छन्, ‘यसै वर्षभित्र अन्य संरचना निर्माण सम्पन्न हुने गरेर काम गरिरहेका छौं ।’
प्राकृतिक कुण्डको पानी भूकम्पका कारण अन्यत्र गएपछि यहाँ तालमा ढुंगा बिच्छयार रेलिङ राखेर सुन्दर बनाइएको छ । तल ढुंगा बिच्छ्याएपछि माथिबाट हेर्दा प्राकृतिकजस्तै ताल हरियो देखिन्छ । ‘भक्तजनमात्रै होइन, जंगलका जीवजनवारसमेत पोखरीमा नपरुन्’ भनेर अग्ला रेलिङ हालिएको छ । कुण्ड अवलोकन र धार्मिक पर्वमा आउने तिर्थालुका आसपास बस्ने, खाने स्थानका साथै शौचालयलगायत पूर्वाधार यही वर्ष निर्माण सम्पन्न गर्ने योजना नगरपालिकाको छ ।
उच्चस्थानमा रहेको खेलमैदान
भयौलीकुण्डको प्रचारप्रसार उदेश्यले कुण्डनजिकै विशाल खेल मैदान निर्माण जारी छ । १ सय ५० मिटरभन्दा बढी लम्बाई र ९० मिटरभन्दा बढी चौढाइको खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । यो सम्भवतः नेपालकै उच्चस्थानमा रहेका खेलमैदानमध्ये पर्ने बाह्रबिसे नगरपालिका प्रमुख शेर्पा दाबी गर्छन् । फुटबल, भलिबलगायत प्रतियोगिता सञ्चालन गरेर खेलका माध्यमबाट पनि यहाँको प्रचारप्रसार गरिने उनी बताउ“छन् । मैदानस“गै पर्यटकलक्षित होमस्टे, पार्किङलगायत संरचना निर्माण कार्य सुरु गरिएको छ ।
चौरी र याक संरक्षण क्षेत्र
उच्च हिमाली क्षेत्रमा रहेको भयौलीकुण्ड आसपास स्थानीयले चौरी र याक पाल्ने गरेका छन् । यसको संरक्षणका लागि पनि नगरपालिकाले विशेष योजना बनाएको छ । पर्यटकीयस्थल अवलोकणका लागि आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि चौरी र याक हेर्ने र चौरीको दूधबाट बनेका परिकार पनि बिक्री वितरण योजना नगरपालिकाले बनाएको छ ।
कुण्ड संरक्षणलगायत संरचना निर्माण, खेलमैदान र नयाँ सडक विस्तारका लागि बाह्रबिसे नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ ।






