शिक्षामा भिन्न दृष्टिकोण समेट्न जरुरी

नागरिकहरूलाई शिक्षा दिने दायित्व राज्यको हो । कस्तो शिक्षा दिई कस्ता नागरिकहरू उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति र कार्यान्वयनको पक्षले निर्र्धारण गर्छ । समाजमा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा असन्तुष्टि, आलोचना वा गुनासा बढिरहेका छन् । शिक्षा समयसापेक्ष भएन भन्नेमा बहस, अन्तरक्रिया, विचार, विमर्श छलफल भइरहेको छ । बारम्बार परिवर्तन भइरहने सरकार र शिक्षा मन्त्रालय समाल्ने मन्त्रीजनहरूले शिक्षामा सुधार गर्नुपर्ने कुरा भन्दै जाँदै गरेको पाइन्छ । परन्तु शिक्षामा सुधार गर्न के गर्ने ? कसले गर्ने ? कहिले गर्ने ? कसरी गर्ने भन्नेमा ठोस अवधारणा निर्माण भएको पाइँंदैन ।

त्यसो त शिक्षाको क्षेत्र व्यापक छ । मानिसमा अन्तर्निहित भावनाहरूलाई उजागर गर्ने माध्यम शिक्षा हो । शिक्षाविद् बिल डुरान्टले शिक्षा मानिसको प्रगतिशील खोज तथा अनुसन्धानको क्षेत्र हो, भनेका छन् । अहिलेको २१औं शताब्दीको तेस्रो दसकसम्म आइपुग्दा विज्ञान र प्रविधिमा भएको चामत्कारिक विकासले उनको भनाइलाई पुष्टि गर्छ । आज मानिसले धर्तीमा मात्र होइन पानीमा पनि यातायातका साधनहरू गुडाएको छ । समुन्द्रमुनी राजमार्ग र पुलहरू निर्माण गरेको छ । आकासमा विमानहरू उडाएको छ । प्रकृतिको गुप्त गर्भमा रहेका खानी एवं खजानाको पहिचान, उत्खनन, उत्पादन र उपयोग गरेको छ । चन्द्रमामा पाइला टेकेको छ । ब्रह्माण्डका अरू ग्रहमा मानव वस्तीको सम्भावनाको खोजी गरिरहेको छ । अहिले विश्व जगत्मा आविष्कार भएका चामत्कारिक कार्यहरूको आधार शिक्षा हो ।

अहिले कम्प्युटर र इन्टरनेटको विकासले मानिसको जीवनशैली बद्लिएको छ । सञ्चार र यातायातले संसारलाई एउटा गाउँजस्तो बनाएको छ । संसार डिजिटलाइज्ड भइसकेको छ । उल्लेखित उपलब्धिहरू पनि शिक्षाका देन हुन् । यस दृष्टिकोणबाट हेर्दा शिक्षा आविष्कारको जननी हो । विकासको आधार हो । अश्वेत नेता नेलसन मन्डेलाले भनेझैं सिंगो भूगोललाई परिवर्तन गर्ने शक्ति शिक्षा हो । शिक्षाले आजको संसारलाई बदलेको छ । मानिसको जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ ।

आजका विकसित देशहरूले कृषि, उद्योग, पशुपालन एवं हर्टिकल्चरलगायतका क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छन् । उल्लेखित क्षेत्रको आधुनिकीकरण एवं यान्त्रीकीकरण गरी अधिकतम उत्पादन गर्न सफल भएका छन् । आजको बढ्दो जनसंख्याको खाद्यान्न आपूर्ति गर्न विकसित देशहरूको ठूलो योगदान छ । नेपाल कृष्रिधान देश भएकाले अहिले विश्व बजारमा उपलब्ध हुन सक्ने कृषि औजार, बीउविजन, उत्पादनको तरिका, उत्पादित वस्तुमा आधारित उद्योगहरूको स्थापना, आधुनिक पशुपक्षीपालन र फलपूmल खेतीलगायत क्षेत्रको विकासका लागि कृषि र प्राविधिक शिक्षाको ठूलो भूमिका हुन्छ ।

देशका थिंकटयांकसँग सहकार्य गरी आएका उचित राय, सल्लाह एवं दृष्टिकोणहरूलाई समेट्नुपर्छ

हो, हरेक देशमा एउटै मोडेलको शिक्षा उपयुक्त नहुन सक्छ । देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, सांस्कृतिकलगायतका क्षेत्रहरूको आधारमा शिक्षाको मोडेल तय गरिएको हुन्छ । हाम्रो देशको सन्दर्भमा उल्लेखित क्षेत्रहरू र शिक्षाको सम्बन्ध हेर्दा मेल खाएको देखिँदैन । शिक्षाले समाज रूपान्तरण गर्न सकेको छैन । प्रकृतिमा रहेका खानी, खजनाको पहिचान, उत्खनन र उपयोग हुन सकेको छैन । आधुनिकताका नाममा सांस्कृतिक चालचलनमा विचलन आएको छ । राजनीति अवसरवादको पराकाष्ठामा रुमलिएको छ । हरेक नागरिकहरूमा लोकतान्त्रिक चेतनाको विकास हुन सकेको छैन । आयआर्जन गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षा असफल छ । शिक्षित वर्ग आत्मनिर्भर बन्न सकेको छैन । यसरी हेर्दा शिक्षा अधुरो देखिन्छ । अपुरो देखिन्छ । आउटडेडेट महसुस हुन्छ ।

राज्यले विभिन्न कालखण्डमा शिक्षा आयोग बनाएर उनीहरूको सिफारिसका आधारमा शिक्षालाई समयसापेक्ष बनाउन प्रयास नगरेको पनि होइन । तर, आशातीत परिवर्तन हुन सकेन । प्रजातन्त्रको अभ्याससँगसँगै पछिल्ला दशकहरूमा शिक्षासम्बन्धी विभिन्न विचार आउने गरेका छन् । विभिन्न व्यक्ति, व्यक्तित्व एवं क्षेत्रबाट आउने व्यावहारिक सुझावलाई राज्यले सुन्दैन । चिन्तन मनन गर्दैन । त्यसैले शिक्षा क्षेत्र लथालिंग भएको छ । विभिन्न तह र तप्काका व्यक्ति, व्यक्तित्व, लेखक, चिन्तक, बुद्धिजीवी, अधेता, प्राज्ञिक वर्ग, पाठ्यक्रमविद्, शिक्षक, विद्यार्थी, अभिभावकलगायत भिन्न व्यक्ति, व्यक्तित्व एवं क्षेत्रबाट आउने व्यावहारिक सुझाव राज्यले सुन्नुपर्छ ।

समाजमा शिक्षालाई बुभ्mने दृष्टिकोण पनि फरकफरक रहेको पाइन्छ । इतिहासविदहरू भन्छन्, ‘शिक्षाले देशको ऐतिहासिक गौरवगाथा, पुर्खाहरूको योगदान, चालचलन, संस्कार एवं संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । पुर्खाहरूको योगदान उनीहरूले निर्माण गरेका धार्मिक, सांस्कृतिक एवं सामाजिक चालचलनसँग समाज जोडिएको हुन्छ । शिक्षामा इतिहास झल्कनुपर्छ । इतिहाससँग राष्ट्रिय भावना जोडिएको हुन्छ । ऐतिहासिक गौरवगाथालाई नयाँ पुस्ताले महसुस गर्न सक्नुपर्छ । यसैगरी, पूर्वीय दर्शनशास्त्री भन्छन्, ‘शिक्षाले नैतिकवान् नागरिक उत्पादन गर्नुपर्छ । ठूलालाइ इज्जत, सानोलाई माया गर्ने, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनका साथै आप्mनो भाषा, संस्कृति, धर्म, परम्परा एवं सामाजिक मूल्य र मान्यताप्रति सकारात्मक सोचको भावनात्मक विकास गराउन शिक्षाले भूमिका खेल्नुपर्छ ।’

अहिले कम्प्युटर र इन्टरनेटको विकासले मानिसको जीवनशैली बदलिएको छ

यसका साथै जन्मदिने मातापिता र शिक्षा दिने गुरुको आदेश र उपदेशलाई शिरोधार्य गर्न सक्ने सकारात्मक सोच भएका नागरिक उत्पादन गर्न हाम्रो शिक्षा प्रणाली काबिल हुनुपर्छ । के यसो हुन सकेको छ त ? उनीहरू प्रश्न उठाउँछन् ।

अभिभावक भन्छन्, ‘हाम्रो शिक्षा समयसापेक्ष भएन । रोजगार मुलक भएन । छोराछोरीलाई ठूलो रकम खर्चेर पढाइ लेखाइ गराए पछि देशमा रोजगार पाइँदैन । उनीहरू स्वरोजगार बन्न सक्दैनन् । अनि विदेश पलायन हुन्छन् । शिक्षकहरू भन्छन्, ‘सरकारले शिक्षकलाई निजामतीसरह सुविधा दिएको छैन । विभेद गरेको छ । आत्मसम्मानमा चोट पु¥याएको छ । विद्यार्थीहरू भन्छन्, ‘बालमनोविज्ञान बुझेर पढाउने शिक्षकको कमी छ । पाठ्यक्रमविद् भन्छन्, ‘शिक्षालाई समयसापेक्ष बनाउने हो भने अहिलेको तहगत पाठ्यक्रम र पाठ्पुस्तकमा आमूल परिवर्तन गर्न आवश्यक छ ।’ शिक्षाशास्त्रीको कथन छ, ‘शिक्षा क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तनको खाँचो छ । तथ्यांक बोल्छन्, ‘सामुदायिक विद्यालयको अवस्था दयनीय छ ।

शिक्षालाई बुभ्mने क्रममा उद्योगी एवं व्यापारीको बुझाइ फरक छ । उनीहरू भन्छन्, ‘देशका नागरिकहरू सक्षम, क्षमतावान्, सिर्जनशील, व्यावसायिक एवं आयआर्जन गर्न सक्षम नभएसम्म गरिबीको अन्त्य हुन सक्दैन । स्वरोजगार सिर्जना हुन सक्दैन । व्यावसायिक सीपको माध्यम शिक्षा हो । शिक्षालाई मानव विकास र आर्थिक समृद्धिको आधार मानिन्छ । व्यक्तिलाई जागरुक, चेतनशील, व्यावसायिक, आत्मविश्वासी बनाउनु हाम्रो शिक्षा शिक्षा काबिल छैन ।

शिक्षाविद् थोमसनले पनि शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणामा स्थायी रूपमा परिवर्तन गर्ने साधन भनेका छन् । यसैगरी, महात्मा गान्धीले त शिक्षालाई बालक र मानिसको शरीर, मन र आत्मामा रहेका असल कुरालाई सम्पूर्ण रूपमा बाहिर निकाल्ने साधन हो भने । अहिले समाजमा बढ्दै गएको भ्रष्टाचार, दुराचार, अनियमितता, बेथिति, आदि इत्यादि घटना एवं परिघटनाले थोमसन र गान्धीका विचारलाई शिक्षाले अवलम्बन गर्न नसकेको अनुभूति हुन्छ । यसरी शिक्षा, व्यक्ति र समाजको सम्बन्धलाई हेर्दा हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्तिमा आत्मअनुशासन, व्यावसायिक दक्षता एवं सिर्जनशीलताको अभाव रहेको छ ।

राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भए तापनि यसको आउटपुट सन्तोषजनक हुन नसक्नुका पछाडि राज्यको अदूदर्शिता नै प्रमुख कारण हो । अहिले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययनले शिक्षित वर्गमा कुनै पनि व्यवसाय रोज्ने, खोज्ने, टिकाउने र आयआर्जनको सिर्जना गर्न सक्ने क्षमतामा नभएका शिक्षित भएको कारण देशको समग्र शैक्षिक प्रणालीप्रति नै प्रश्न चिह्न खडा भएको हो ।

यस सन्दर्भमा राज्यले शिक्षालाई राजनीतिक र प्रशासनिक दृष्टिकोणबाट बाहिर निकालेर यस क्षेत्रमा गाँसिएर र टाँसिएर रहेका कमीकमजोरी हटाउनुपर्छ । हिजो, आज र भोलिको समाजको सम्बन्धलाई जोड्नुपर्छ । यसो गर्दा देशका थिंक टयांकसँग सहकार्य गर्नुपर्छ । भिन्न क्षेत्रबाट आएका उचित राय, सल्लाह एवं दृष्टिकोण समेट्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्दै अमेरिकी डलर, मजबुत बन्दै थाई भाट