दैलेख ठाटिकाँध गाउँपालिका–१ का मनबहादुर विक ११ वर्षदेखि गाउँमै छन् । अन्य पुरुष रोजगारी लागि मुग्लान कालापहाड जाने गर्छन् । तर, उनी भने पैसा कमाउन भारत नगएको दशक बढी भयो । आर्थिक अवस्था कमजोर भएका विक १५ वर्षकै उमेरमा विदेश गए । त्यहाँ कमाउने रकम घरमै बाख्रा–कुखुरापालनबाट पाउन थालेपछि उनलाई परदेश ‘पराई’ लाग्यो ।
दैलेखमा सञ्चालन भएको गरिबी निवारण कार्यक्रमबाट साबिकको लकान्द्र गाविस–८ बस्ने विक परिवारले २०६४ सालमा मालिका (क) डाँडावन सामुदायिक संस्थाबाट बाख्रा र कुखुरापालन व्यवसायका लागि ऋण लिए । त्यसैबाट व्यवसाय थालेका उनले आठ जनाको परिवार पालिरहेका छन् ।
कुखुराभन्दा बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी भएपछि सुर्जा विकका श्रीमान् घरमै बस्न थालेपछि चिठी लेख्नुपरेको छैन । भारत भएका बेला श्रीमान्लाई घर आउन देउडागीतबाटै आग्रह गरेको सम्झिन्, उनी । घरमा छोराछोरी चिठी लेख्ने नहुँदा गाउँ डुल्नुपर्ने बाध्यता थियो । ‘अब त्यो छैन, श्रीमान घरमै छन्, कसलाई लेख्ने चिठी ?’ उनले भनिन् ।
२०६४ सालमा मनबहादुर दम्पत्तिले डा“डावन सामुदायिक समूहमा ऋण लिई बाख्रा र कुखुरापालन गरेका रहेछन् । व्यवसायबाट तत्कालन फाइदा नहुने भएपछि सुर्जाका श्रीमान् मजदुरीका लागि मुग्लान हानिए । श्रीमान् विदेश गएका बेला स्यालले कुखुरा खाइदियो । भारतमा रहेका श्रीमान्लाई सुर्जाले घर आउन देउडागीतबाट आग्रह गरेकी रहिछिन्,
देश बस्ने काम नगर, घर आउर भैगो
माऊ किनी छोड्या काँ थियौं स्यालले माउ लैगो
भारतमा रहेका मनबहादुर घरमा पठाएको चिठी आफन्तलाई पढ्न लगाएका रहेछ । घर चिठी आउँदा कोही बिरामी भएकी भनेर चिठी पढ्न लगाए । ‘श्रीमतीले घरमा गरिबी निवारण कार्यक्रमबाट ऋण ल्याई पालेको कुखुरा स्यालले खाएको रैवार देउडागीतबाट पठाएकी रहिछिन्, मैले पनि घर फर्किनेका हात गीत उत्तर लेखेर पठाइदिए,’ मनबहादुर
हाँस्दै सुनाए,
तँ घर घरिना कसी म माऊ किन्या कसो
कसरी हुल्याकी थियौं कहरी स्याल पस्यो
केही समयपछि विदेशबाट सोही गाउँका मानिस घर फर्केछन् । श्रीमान’bout सञ्चो बिसञ्चो सोध्न विदेशबाट फर्किएकाको घरमा पुगिन् । श्रीमान्ले विदेशबाट पठाएको चिठी दिन लगाएको खुलासा गरिन् । ‘मैले त श्रीमान्ले चिठी पठाउँदा कतै पैसो पानी पठाएको खबर सुनिन्छ कि भनेर ध्यान दिएर सुनें,’ सुर्जाले भनिन्, ‘नानाका बाबाले त कहाँ पैसा पठाउनु ? मेरो गीतको उत्तर पठाएका रहेछन् ।’
तर, सुर्जालाई चिठी लेख्नु नपरेको दशकभन्दा बढी भइसक्यो । बाख्रापालनबाट राम्रो हुन थालेपछि मनबहादुर घरमै राम्रो आम्दानी गरेका छन् । छोराछोरी पढाउन लेखाउन हातमुख जोड्का लागि साहु महाजनका घरमा जानुपरेको छैन । बाख्रापालन व्यवसायबाटै उनको सबै खर्च टरिरहेको छ ।
बाख्रापालनबाट राम्रो आम्दानी भएकाले भारत जानु नपरेको मनबहादुरको भनाइ छ । ‘गाउँमा समूह गठन गर्ने मान्छे आयाँ, गरिबलाई सहयोग अ¥या सुनेपछि म समूह सदस्य भएँ,’ उनी भन्छन्, ‘समूहमा पैसा जम्मा गर्नुपर्छ भनेर पहिले त नबसांै कि लागेको थियो । श्रीमती नमानेपछि बस्न बाध्य भए“ । आज त्यही समूहबाट पाएको ऋण बाख्रापालन गरी छोराछोरीको पढाइलेखाइ र घरखर्च चलाउन सजिलो भएको छ ।’
मालिका डाँडावन संस्थाबाट १२ हजार ऋण लिई बाख्रा तथा कुखुरापालन व्यवसायबाट वार्षिक २० हजार कमाउँछन्, उनी । बाख्राको मलले खेतबारी र मकैले राम्रो उत्पादन भएकाले अन्न साहु महाजनबाट खोजेर ल्याउनुपदैन, विकले ।
छोराछोरीलाई किताबकापी किन्न पनि सजिलै भएको छ । ‘पहिले किताबकापी किन्न पैसा नभएकाले एक छोरा मात्र स्कुल जाने गर्थे, अहिले तीन छोरा एक छोरी विद्यालय पढ्न जाने गरेका छन्,’ सुर्जाले सुनाइन् । ‘हामी पनि प्रौढ पढेर नाम लेख्न जान्ने भएका छौं,’ उनले भनिन् । तत्कालीन जिल्ला विकास समिति स्थानीय विकास कोषद्वारा गठित साबिकको लकान्द्र–८ मा मालिका (क) डाँडावन सामुदायिक संस्थाबाट आयआर्जनका लागि मनबहादुर पतिपत्नीले कुखुरा तथा बाख्रापालन व्यवसाय गरे ।
द्वन्द्वका समय गाउँ सञ्चारविहीन हुँदा पैसा कमाउन भारत गएका आफन्तलाई घरका मानिसलाई चिठी लेखेरै पठाउने गरेको ठाटीकाँध गाउँपालिका–३ की मनसरा विक बताउ“छिन् । ‘हामीकन लेख्न पढ्न नआउन्याँ, पढन् लेख्न जानेका केटाकेटीलाई चिठी लेख्न लगाई आवश्यक समान पैसा पानी घर आउन्या मान्छेका पठाइदिनु भनेर लेख्नु भन्थ्यौं, लेखिदिना थियाँ,’ उनी सम्झिन्छिन् ।
चिठीमा मायाप्रेमका कुरा सीधा भन्न नसकेर देउडागीत लेख्न लगाएको उनको अनुभव छ । ‘हामी पढ्नलेख्न नजान्याँका मान्छे गीत बुझ्ने भएकाले भारत गएकाले देउडागीत लेखेर घरमा चिठी पठाउने गर्थे,’ उनले थपिन् । रोजगारीको अवसर नभएकाले अधिकांश ग्रामीण भेगका बासिन्दा मजदुरी गरेर पैसा कमाउन भारत नैनीताल, सिम्ला अल्मोडा अम्ररेली, गुजरात जाने गर्छन् । वर्षको ६ महिना भारतमै बिताएर लालाबालालाई एकसरो कपडा लिएर घर फर्किने गर्छन् ।
तर, लकान्द्र–८ का मनबहादुर भने ११ वर्षयता घरमै बसेर आठ जनाको परिवार पाल्दै आएका छन् । आर्थिकस्तर कमजोर भएकाले सधै भारतलाई कर्मथलो बनाएका उनी २०६४ सालदेखि गाउ“मै बाख्रापालन व्यवसायतिर लागेका छन् ।
आयआर्जनका लागि साबिकको लकान्द्र गाविसमा गठित १९ सामुदायिक संस्थामा झन्डै १ करोड लगानी गरिएको तत्कालीन सामाजिक परिचालक (हाल ठाटिकाँध गाउँपालिका–१ वडाध्यक्ष नर्तमबहादुर बुढा बताउछन् । संयोग नै मान्नुपर्छ, तत्कालीन गरिबी निवारणका सामाजिक परिचालक बुढा वडाध्यक्ष र मनबहादुर सोही वडाको सडक हेरालु छन् ।






