बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा

 

काठमाडौं । काठमाडाै विश्वविद्यालयको शिक्षा सङ्कायबाट विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आएको छ ।

लामो सयमदेखि नेपाली महिला आन्दोलन नियालिरहेकी पाण्डेले भनिन्, ‘मैले राजनीतिलाई परिवर्तनको साधन मानें । महिलाहरुलाई त्यसको अभिन्न अङ्गका रुपमा अनुभूत गरें । अनि नेपाली राजनीतिमा महिला सशक्तीकरणको प्रकृति र प्रक्रियालाई महिलावादी दृष्टिकोणबाट हेर्ने जमर्को गरें ।’

सोही क्रममा समग्रमा नेपाली लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका नियालेको उनको भनाई थियो । शताब्दी पार गरेको नेपाली महिला आन्दोलनको उकाली–ओराली विश्लेषण गर्दै महिला समानता प्राप्तिका विषयसँग जोडिएका अवरोध हटाउने उपाय खोज्ने प्रयत्न गरेको र त्यसैको अभिलेख समानताका पाइलाहरू रहेको उनको भनाई थियो ।

पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै पाण्डेले भनिन्, ‘महिला अधिकारकर्मी, राजनीतिज्ञ, बौद्धिक समुदायहरूलाई आमन्त्रित गरेर पुस्तकमाथि बहस गरी पुस्तकको विमोचन गर्ने सोच बनाएका थियांै । तर कोरोना भाइरसको संक्रमणका कारण ठूला भेला गर्न अनुपयुक्त भएकाले यस पुस्तकलाई विमोचन नगरीकनश्रमिक महिला दिवसको छेको पारेर बजारमा पठाउने निर्णय गरेका हौं ।’

पुुस्तक’bout टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ‘अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ ।’

आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा गरिएको भन्दै उनले नयाँ चुनौतीको सविस्तार व्याख्या भएको धारणा राखे । ‘असङ्गतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन् । तसर्थ पुस्तक यथार्थपरक छ ।’ उनले भने ।

हाल जिफन्ट टे«ड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष र २०६५ मा नेकपा–एमालेको केन्द्रीय सदस्य रहेकी पाण्डे २०७१ सालबाट पोलिटब्युरो सदस्य हुँदै हाल नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य र २०६४ सालको पहिलो संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष रहेकी उनी सङ्घीयसंसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर पाण्डेले २०५८ सालमा बैङ्ककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट जेन्डर एन्ड डेभलपमेन्टमा पनि स्नातकोत्तर गरिसकेकी छन् । पाण्डेका “नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता” (नेपाली र अङ्ग्रेजी), “आजका युवा विद्यार्थी–भोलिका दक्ष जनशक्ति” र “विमेन इन नेपाली पोलिटिक्स” कृति प्रकाशित छन् । महिला र श्रमिकसम्बन्धी प्रशिक्षण सामग्री तथा समसामायिक राजनीतिक लेखरचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)

epaper

ताजा समाचार

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती