तीन महिनामै व्यापार घाटा सवा ४ खर्ब

काठमाडौं । तीन महिनाको अवधिमा मुलुकको शोधनान्तर स्थिति ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

तीन महिनामा मुलुकबाट बाहिरिने र नेपालमा भित्रिने कुल रकमबीचको अन्तरका कारण शोधानान्तर स्थिति कमजोर हुन गएको हो । मुलुकको चालू खाता पनि १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा गएको छ । यस अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स घट्नुका साथै व्यापार घाटा बढ्न जाँदा मुलुक बाहिरिने रकम बढ्न गएको र भित्रिने रकम कमी हुन गएकाले यस्तो भएको हो ।

शोधनान्तर स्थिति ७६ अर्ब ऋणात्मक

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव २४ प्रतिशत रहेको छ । मुद्रास्फीतिले तीन महिनामा सवा चार प्रतिशत मूल्यवृद्धि भएको इंगित गर्छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १ दशमलव २ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दाबी ७ दशमलव ८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव २ प्रतिशत र निजीक्षेत्रमाथिको दाबीको वृद्धिदर ३० दशमलव ८ प्रतिशत छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५ दशमलव ९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमलव ५ प्रतिशतले वृद्धि भइ ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

चालू आवको प्रथम त्रैमासमा विदेशी मुद्राको सञ्चितिसमेत घटेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको व्यापार घाटा ५८ दशमलव ३ प्रतिशतले बढेको छ ।

मुलुकबाट विभिन्न मुलुकमा हुने निर्यात १ सय ९ दशमलव ५ प्रतिशतले बढ्दासमेत व्यापार घाटा उच्च बिन्दुमा पुगेको हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म मुलुकको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयात ६३ दशमलव ७ प्रतिशतले र निर्यात १ सय ९ दशमलव ५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७ दशमलव ६ प्रतिशत र अमेरिकी डलरमा ७ दशमलव ७ प्रतिशतले घटेको छ । कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च २ सय ३४ अर्ब ५२ करोड र राजस्व परिचालन दशमलव २ सय ५५ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने विस्तृत मुद्राप्रदाय २ दशमलव २ प्रतिशतले बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा