महाधिवेशनमय मंसिरलाई वैचारिक बनाऊ

राजनीतिक पार्टीहरूको नेतृत्व चयनको चहलपहलले मंसिर महिनालाई महाधिवेशनमय बनाएको छ । यो महिनामा सत्ताधारी पार्टी नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको महाधिवेशन सम्पन्न हुँदै छन् । समयक्रमले पुस महिनामा परे पनि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारीले पनि मंसिर महिनालाई नै तताएको छ । यो महिना देशका ठूला राजनीतिक पार्टीहरूको नेतृत्वको भाग्य फैसला हुने कुराले पनि जनसाधारणसम्मलाई आकर्षित गरिरहेको छ । पार्टीका महाधिवेशन र राष्ट्रिय सम्मेलन आफैंमा विचार नेतृत्व चयनका ठूला अवसर हुन् । यस्ता राजनीतिक अवसरमा देशमा विचार बहसले ठाउँ पाउनुपर्ने हो । सबै पार्टीका विचारले जनस्तरमा कौतुहलता ल्याउनुपर्ने हो । तर, कुनै पनि पार्टीले आफ््ना पार्टीको महाधिवेशन हुने र त्यहाँ नेतृत्व चयनका लागि आआफ्ना उम्मेदवारी वा सम्भावित उम्मेदवारी दिने कुराबाहेक विचार र नीतिका कुरा सार्वजनिक गरिरहेका छैनन् । यसले गर्दा राजनीतिक पार्टीहरूले बोकेको भनिएका राजनीतिक मूल्यमान्यतामा कुनै नयाँपन आउने छनक वा संकेत जनस्तरमा बोध हुन सकिरहेको छैन । नेताहरूले बिनाविचार र नीति तथा कार्यक्रम आआफ्ना उमेदवारीका मात्र कुरा गर्दा जनताले सबै पार्टीका महाधिवेशन विचारमूलक नभई आआफ्नो गुटको हारजितको लडाइँ मात्र देख्ने वातावरण निर्माण हुन गएको छ ।

सर्वसाधारण जनता पनि देशमा भएको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा विज्ञान प्रविधिको विकास र यसले ल्याएको परिवर्तित परिस्थितिमा नयाँ कुरा आओस् भन्ने चाहिरहेका छन् । देशमा समस्या नयाँनयाँ किसिम र रूपमा देखापरिरहेको छ । यसले जनसाधारण र तिनका दैनिक जीवकोपार्जनसम्बन्धी काममा बाधा र समस्या सिर्जना गरिरहेका छन् । परिवर्तित भौतिक परिस्थितिका तुलनामा पार्टी र तिनका नेतापछि परेका र तिनको सम्बोधनका लागि नयाँ विचार तथा कार्यक्रम निर्माण गर्न नसकिरहेका देखिन्छन् । देशमा हालै मात्र कार्यान्वयनमा आएको संघीयताको स्वामित्व कुनै पनि पार्टीले खुलेर लिन सकिरहेका छैनन् । अर्कोतिर संघीयता विरोधीमत र विचार बहसमा आइरहेका छन् । तर, राजनीतिक पार्टीहरू संघीयताको कुरा गर्न छाडी समाजवाद निर्माणको सपना देखाउन तल्लीन छन् । राजनीतिक पार्टी भनेका जनताका पार्टी हुन् । भलै ती पार्टीका आआफ्ना विचार होलान् । राजनीतिक पार्टीहरू अनुमोदित हुने भनेको तिनले अंगीकार गरिरहेका विचार, नीति तथा कार्यक्रमले गर्दा नै हो । त्यस्तो विचार निर्माण र पारित हुने भनेको पार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलनबाट नै हो । सबै पार्टीले देश र जनतालाई नै केन्द्रबिन्दुमा राखेर आआफ्नो नीति योजना र कार्यक्रम तय गर्नुपर्छ र त्यसलाई व्यवहारमा सशक्त रूपमा उतार्नुपर्छ ।

यसका साथै, विचार कार्यान्वयनका लागि पार्टीभित्र प्रजातान्त्रिक परिपाटीको विकास हुनु जरुरी छ । प्रजातन्त्र शब्दमा उच्चारण गरिने र केवल भाषणका लागि मात्र प्रयोग गरिने शब्द वाण होइन । बरु यो त विचारवाहक पनि हो । त्यहीँ विचारवाहक प्रक्रियालाई कुनै पनि पार्टीले जनताबीचमा लैजाने र जनतालाई सुसूचित हुने अधिकारबाट समेत राजनीतिक दलले वञ्चित गरिरहेका छन् । यो निकै ठूलो विडम्बनाको कुरा हो । हरेक पार्टी आफूलाई बढी प्रजातान्त्रिक भएको दाबी गरिरहेका छन् । तर, ती पार्टीभित्र प्रजातान्त्रिक परिपाटी हुर्किरहेको छैन भन्ने कुरा ती पार्टीका महाधिवेशन सम्मुखमा घटिरहेका घटनाले देखाइरहेका छन् । यी सबै कुरा नजरअन्दाज गर्ने विषय होइनन् । त्यसैले आमजनताले पनि सुन्न, पर्गेल्न र मतविमत राख्न पाउनेगरी नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माण गर्न सक्ने वैज्ञानिक, सिर्जनशील तथा व्यावहारिक विचार र जनताको चहराइरहेको घाउमा मलम लगाउने खालका नीति तथा कार्यक्रम महाधिवेशनमार्फत जनताका घरदैलोमा ल्याऊ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरद्वारा ३ वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति