कांग्रेस जिल्ला सभापतिमा संस्थापन पक्षको झिनो बहुमत


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्ला तहको नेतृत्व चयन धमाधम जारी छ । शनिबार अबेरसम्म प्राप्त परिणामअनुसार ३९ जिल्लामा नेतृत्व चयन भइसकेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ३९ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चुनिएका छन् ।

हालसम्मको परिणामअनुसार ३९ जिल्लामध्ये २१ जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापति चुनिएका छन् । यस्तै, १८ जिल्लामा रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहको नेतृत्व आएको छ ।

हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ । केही जिल्लामा भने केन्द्रमा रहेका एकै गुटका पक्षमा पनि प्रतिस्पर्धा भएको छ । यस्तो प्रतिस्पर्धा ललितपुर र कञ्चनपुरमा देखिएको छ । ती जिल्लामा संस्थापन पक्षका नेताहरू नै विभाजित बनेर आआफ्ना पक्षमा उम्मेदवार उठाएका छन् ।

हालसम्म सार्वजनिक मत परिणामअनुसार संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चयन भएका छन् ।

यसैगरी, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा वेदराज सिंह, पाँचथरमा रूपनारायण जवेगु, लमजुङमा डा. टंकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् । जाजरकोटका सिंह र मनाङका गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।

यसैगरी, ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् भने पर्वतमा युवराज जोशी आएका छन् । यसैगरी, रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् ।

यस्तै इलाममा पनि संस्थापन समूहबाट उम्मेदवार बनेका डम्मर खड्का जिल्ला सभापति निर्वाचित बनेका छन् । यसैगरी, रूपन्देहीमा रामकृष्ण खाँण सर्वसम्मत रूपमा जिल्ला सभापति निर्वाचित बनेका छन् । उनी कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । स्याङ्जा सभापतिमा निर्वाचित राजु थापा पनि संस्थापननिकट हुन् ।

यस्तै, संस्थापनइतर समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल जिल्ला सभापति बनेका छन् ।
यसैगरी, अर्घाखाचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पामा किशोर आचार्य जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी, इतर समूहबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् । यस्तै, नुवाकोटको नेतृत्व पनि इतर समूहकै हातमा परको छ । नुवाकोटमा रमेश महत र दार्चुलामा ललितसिंह बोहोरा संस्थापन इतर समूहबाट जिल्ला सभापति चुनिएका छन् ।

कांग्रेसले एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन तोकेको थियो । केही जिल्लामा भने अझै जिल्ला अधिवेशन सुरु नै भएको छैन ।

कांग्रेसले संविधानअनुसारको संघीय संरचनाका लागि १६ र १७ मंसिरमा सातै प्रदेशमा प्रदेश तहको अधिवेशन गर्नेछ भने २४, २५ र २६ मंसिरका लागि केन्द्रीय महाधिवेशन तय छ ।

प्रदेश २ का आठ जिल्लामा सुरु नै भएन

प्रदेश २ का आठ जिल्लामा जिल्ला अधिवेशनको प्रक्रिया सुरु नै भएको छैन । केन्द्रीय निर्वाचन समितिमा सचिव जगन्नाथ श्रेष्ठका अनुसार प्रदेश २ का सप्तरी, सिराहा, बारा, रौतहट, धनुषा र पर्सामा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन धमाधम छ । त्यसपछि प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुनेछ भने सो अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ । यस्तै, महोत्तरीमा केही क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको छ भने जिल्ला अधिवेशनको तयारी भइरहेको छ । सर्लाहीमा आइतबार बल्ल वडा अधिवेशन सुरु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित