ससुरा बुहारीको हत्या गरि फरार अभियुक्त सात वर्षपछि पक्राउ

सप्तरी, राजविराज । तीन वटा हत्या घटनामा संलग्न भएपछि फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले सात वर्षपछि पक्राउ गरेको ।

साविक सप्तरीको पटेर्वा गाविस हाल सुरुङ्गा नगरपालिका १० थलहा बस्ने ६० वर्षिय गुलजार मियाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

छिमेकी जिल्ला सिरहाको सखुवनकारीकट्टी गाउँपालिका १ स्थित महेश्वरी टोलको एक घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका मियाँले २०७२ बैशाख २७ गते सप्तरीको साविक जण्डौल गाविस ८ हाल अग्निसाइर कृष्णासवरण गाउँपालिका २ निवासी २४ वर्षिया दुलारीदेवी साह र २०६९ असोज १० गते साविक कल्याणपुर गाविस ८ हाल खडक नगरपालिका ३ बस्ने सहबुद मियाँ र उनका बुहारी सागिरा खातुनको हत्या गरेको प्रहरीको भनाई छ ।

घटना लगत्तै फरार भएका उनी हाल छिमेकी गाउँमा लुकिछिपि बस्दै आएको गोप्य सूचना आएपछि प्रहरीले घेरा हाली पक्राउ गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्याका दुबै छुट्टाछुट्टै घटना पैसाका लागि गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीका अनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका निवासी दुलारीका पति धिरेन्द्र कर्तव्य ज्यान मुद्दाका आरोपित रही पूर्पक्षका लागि राजविराज कारागारमा थिए । आफ्नो माथीसम्म पहुँच रहेको र ६ लाख रुँपैया दिए धिरेन्द्रलाई कारागारबाट छुटाइदिन्छु भन्दै गुलजारले दुलारीलाई झुटो आश्वाशन दिएका थिए । पति छुट्ने आशमा ६ लाखमा जग्गा बिक्रि गरि दुलारी पुग्दा गुलजारले सो रकम लुटी चुरे फेदीमा लगेर हत्या गरि कुलोमा गाडेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।

उक्त घटनाको केही दिनपछि दुलारीको कंकाल प्रहरीले सोही स्थानबाट फेला पारेको थियो । प्रहरीका अनुसार त्यस्तै प्रकृतिको घटना पटेर्वा गाविसमा पनि भएको थियो । त्यहाका मो. आलम भन्ने व्यक्ति कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । उनलाई पनि छुट्याइदिन्छु भन्दै गुलजारले ३ लाख रुँपैया उनका बुबा सहबुदसँग मागेका थिए । गुलजारको भ्रममा परी सहबुद र बुहारी सगिरा ३ लाख रुँपैया लिएर जाँदा उनको पनि रकम लुटेर हत्या गरिएको थियो ।

प्रहरीले ससुरा बुहारीको खोजतलास गर्दै जाँदा घटनाको करिब २ महिनापछि गुलजारका साथी मो. सकिल हुसैनको कुखुरा फर्म नजिकै गाडिएको अवस्थामा दुबै जनाको नरकंकाल बरामद गरेको थियो ।

‘पक्राउ परेका गुलजार छिमेकी जिल्ला सुनसरीको इनरुवामा सात वर्ष अघि भएको एक सामुहिक हत्या काण्डमा समेत सामेल भएको आशंका गरिएको छ, डिएसपी काफ्लेले भने, यसतर्फ पनि हाम्रो अनुसन्धान अघि बढेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल