भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर २ हनुमन्ते खोला नजिक कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु भएका युवक सूनपा–१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका प्रहरीले जानकारी दिएको छ । गएराति साढे ९ बजे उनलाई बोलाएर केही समूहले गठ्ठाघर लगेको खुल्न आएको छ । उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले दिएको जानकारी अनुसार प्रहरीले श्रेष्ठलाई राति करिब १० बजे सूनपा–२ बालकोटको बसिटोल स्थित हनुमती खोलाको फलामे पुल नजिकै बाटोमुनिबाट उद्धार गरी अस्पताल पुर्याएको थियो । उनलाई मध्यपुर अस्पतालले करिब ११ः५० बजे मृत घोषित गरेको उनले जानकारी दिए । घटनास्थलमा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी प्रमुख डिएसपी नरहरी रेग्मीको नेतृत्वमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पुगी अनुसन्धान अघि बढाईएको बताइएको छ ।
आपसी लेनदेनका कारण उत्पन्न बिबाद मृत्युको कारण बन्न पुगेको हुन सक्ने अनुमान गरिएको छ । मृतक श्रेष्ठमाथि क्रमणकारीले ह्याम्मर लगायतले प्रहार गर्दा मृत्यु भएको बताइएको छ । मृतक श्रेष्ठ बिबाहित रहेका थिए । उनको श्रीमती र अढाई वर्षकी एक छोरी छन् । बस्तीकै बीचमा हत्याका कारण परिवार र आफन्त मात्र नभई स्थानीय समेत आतंकित बनेका देखिन्छन् । मृत्ककले हिजोमात्र नयाँ गाडी किनेको उनका साथीभाइले जानकारी दिएका छन् । उनको उक्त गाडी भने गठ्ठाघरमा पार्क गरी राखेको अवस्थामा फोला परेको थियो ।






