कोठा तताउन कोइला बालेर सुत्दा…

कोइला ताप्दा बेहोस भएका तीन वर्षीय दिवस भट्टराई उपचारका क्रममा भेरी अस्पतालमा ।

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मातहतको मेडिकल स्टोरको क्वार्टरमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईलाई सोही कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौपानेले धेरैपटक सम्पर्क गर्न खोजे । उनले भट्टराईलाई खोजी गर्नुको मुख्य कारण थियो, मेडिकल स्टोरको तापक्रम यथावत् राख्न जेनेरेटर चलाइराख्नुपर्ने अवस्था । जेनेटर चलाउने जिम्मा थियो धनप्रसादको । यो कामका लागि फार्मेसी अधिकृत न्यौपानेले धनप्रसादलाई बिहीबार बिहान साढे ५ बजेदेखि नै खोजेका थिए ।

जेनेरेटरमा तेल राख्न फोन गर्दा नउठेपछि न्यौपाने आफंै उनी बस्दै आएको क्वार्टरमा पुगे । उनले ढोका ढकढकाए । तर खुलेन । पटकपटकको ढ्याक ढ्याकपछि धनप्रसाद पत्नी सुशीलाले ढोका खोलिन् । त्यसपछि त्यहाँको अवस्था जे देखियो त्यो आफंैमा अकल्पनीय थियो । कोठाभित्र भट्टराईसहित ६ जना ढलिरहेका थिए । ढोका खोल्न आइपुगेकी धनप्रसाद पत्नी सुशीला पनि घाइते थिइन् ।

केही समयपछिको परीक्षणमा कोठाभित्र रहेका सात जनामध्ये धनप्रसादसहित चार जनाको मृत्यु भएको पुष्टि भयो । उनकी श्रीमतीसहित तीन जना घाइते भएकाले तत्काल थप उपचार थालियो ।

मंगलबार रातिदेखि नै नेपालगन्जसहित मुलुकभर चिसो बढेको थियो । त्यही चिसो छल्न कार्यालय सहयोगी धनप्रसादले कोठा तताउन कोइला बालेका थिए । कोइला बालेरै उनीहरू सुतेका थिए । तर, कोठा तताउन बालिएको कोइलाले नै उनीसहित चार जनाको निधन भयो । तीन जना घाइते भए । घाइते तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरिएको छ ।

कोइलाबाट निस्केको कार्बन मोनोअक्साइड ग्याँसका कारण अक्सिजन घट्न गई स्वासप्रश्वासमा समस्या भएर यो घटना भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेको भनाइ छ ।

यो घटनामा कालिकोट खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसादसहित उनका तीनमहिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई भेरी अस्पताल लगिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

धनप्रसाद दुई छोरा र पत्नीसहित मेडिकल स्टोरको क्वार्टरमा बस्दै आएका थिए । आमा कोपिला, भाइ नरेन्द्र र बहिनी नन्दीकली भने उनीहरूलाई भेट्न आएका थिए ।

कोठामा आगो बालेर सुत्नु अत्यन्तै घातक
डा. प्रमोद श्रेष्ठ, फरेन्सिक विज्ञ

कोठामा आगो बालेर सुत्नु अत्यन्तै घातक हो । सामान्य सावधानी अपनाएनौं भने यसले ज्यानसमेत जान्छ । बन्द कोठामा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन । त्यो धुवाँ शरीरमा जान्छ । वास्तवमा कोइला बालेर सुत्दा जुन धुवाँ निस्कन्छ, त्यो धुवाँबाट कार्बनमोनोअक्साइड ग्याँस निस्कन्छ ।

अर्काे कुरा मानिसको रगतमा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । हेमोग्लोबिनले अक्सिजन लिन्छ र शरीरका विभिन्न भागमा सञ्चार गर्छ । तर, मकल र हिटर बालेर सुत्दा हामीले फेर्ने श्वाससँगै कार्बनमोनोअक्साइड पनि जान्छ ।

कार्बनमोनोअक्साइडसँग हेमोग्लोबिनभन्दा १५ गुना बढी अक्सिजन लिने शक्ति हुन्छ । कार्बन मोनोअक्साइडको धेरै अक्सिजन लिने शक्ति भएकाले शरीरले अक्सिजन पाउँदैन । शरीरमा अक्सिजन कम हुँदै गएपछि बेहोस हुँदै जान्छ र मृत्यु हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा