गत मंगलबार परेको हिमपात र वर्षासँगै हिमाली तथा उच्च पहाडी इलाकाका पशुपालक आफ्ना भेडीगोठ र चौरीगोठसँगै न्यानोको खोजीमा पहाडको तल्लो भागतिर झरिरहेका छन् । गोठ सर्दै र न्यानोको अनुकूलता हेर्दै ठाउँठाउँमा बिसाउनीसहित उनीहरू उधौली झर्ने प्रक्रियामा छन् । पुख्र्यौली स्थानका हिसाबले पूर्वी नेपालमा बसोबास गर्दै आएका किराँत जातिमा यो प्रक्रियालाई उधौलीपर्वका रूपमा लिने गरिन्छ । इतिहासमा सीमित भइसकेको घुमन्ते पशुपालनको युग अन्त्य भए पनि नेपालको उच्च तथा तल्लो हिमाली क्षेत्रमा भने यो अवशेषका रूपमा अझै अस्तित्वमा छ ।
थोरै मात्र संख्यामा पशुपालक र तिनीहरूसँग रहेका भेंडा, च्यांग्रा तथा चौरीको संख्यालाई हेर्दा घुमन्ते पशुपालन नेपालमा मुख्य प्रवृत्तिका रूपमा भने अस्तित्वमा नरहेको स्पष्ट देखिन्छ । तर, पनि पहाडको उपल्लो भेगमा गोठ राख्ने र तल्लो भेगमा स्थायी बसोबासका लागि घर बनाउने चलन अहिले पनि मुख्य प्रवृत्तिकै रूपमा रहिरहेको छ । लेकबेंसी, घरगोठ र शिखर–औल्यान नेपालको पहाडी जनजीवनको विशेषता नै हो । यो जनजीवन प्रकृतिप्रदत्त ऋतु परिवर्तनसँगै अभिन्न रूपमा जोडिएर आएको छ । यो वर्ष पनि हिमालको तल्लो बेल्ट तथा उच्च पहाडी भूभाग हिउँले ढपक्क ढाक्न थालेपछि पशुपालक दक्षिणतिर लाग्न थालेका हुन् । हेर्दा यो प्रक्रिया निकै रोमाञ्चकारी जस्तो देखिए पनि प्रकृतिको निरंकुश र निर्मम प्रकोप मानिस र पशुकालागि सह्य र पाच्य दुवै छैन । हिउँ परिसकेपछि पशुहरूको आहारामा कमी, चरन अभाव, बाटोघाटोको अभाव, मानिसका लागि खाद्यान्नको कमी, आवतजावतको लाइफलाइनमा कटौतीआदिका कारण पनि सापेक्ष सुविधा हुने तल्लो भेगमा बसाइ सर्नुको विकल्प हुँदैन । अहिले अधिकांश भेडीगोठ बेंसीतिर झारिसकिएका छन् ।
गर्मी याम सुरु भएसँगै हिउँ पग्लन थाल्दै गर्दा पशुहरू उच्च पहाडी तथा हिमाली भेगतिर लैजान सुरु गरिन्छ । गर्मीयाममा भेडाच्यांग्रा र चौरी चरनका लागि पाटन तथा लेकाली क्षेत्रमा लगिन्छ भने चिसो सुरु भएपछि बेंसी झारिन्छ । यो प्राकृतिक नियमसँगै बाँधिएको कुरा भए पनि यसले किसान तथा पशुपालकको जीवन त्यसैअनुरूप निश्चित पद्धतिमा बाँधिदिएको छ । यो नेपाली खेती, किसानी
तथा पशुपालनको विशिष्टता पनि हो । नेपालको कृषि तथा पशुपालनलाई आधुनिकीकरण गर्न र यसमा व्यावसायिकता ल्याउन राज्यसत्ताले सोच, नीति तथा कार्यक्रम बनाउनुपर्छ । नेपाली अर्थतन्त्रलाई उकालो लगाउन नेपाली विशिष्टतामा रहेका उत्पादन सम्बन्ध, उत्पादनका साधन तथा उत्पादक शक्तिमा देखिने अन्तरविरोध र अन्तरसम्बन्धलाई राम्रोसँग नियालेर तिनलाई सक्दो गति दिन सक्नुपर्छ । नेपालको आफ्नो उत्पादन भनेको कृषिजन्य, पशुजन्य र केही घरेलु उद्योगजन्य वस्तुहरू नै हुन् । पशुपालन नेपालमा आधुनिक रूपमा सुरु पनि हुन गएका छन् । तर, घुमन्ते खालको पशुपालनमा पनि सरकारले उचित ध्यान दिनैपर्छ । यसले पहिलो त पौष्टिक र नेपाली विशिष्टताको स्वाद भएको प्रांगारिक प्रकारको मासुको आपूर्ति गर्न सक्छ । दोस्रो कुरा, घुमन्ते पशुपालनले पर्यटन र पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न ठूलो टेवा पु¥याउँछ । त्यसैले घुमन्ते पशुपालनलाई सरकारी तहबाटै प्रोत्साहित गर्न जरुरी छ ।






