फेरि गातोखोर नै, पारस खाम्चा बने वर्ष जवान


काठमाडौं । सशस्त्र प्रहरी बलले यो वर्ष पनि गोताखोरलाई नै वर्ष जवान छनोट गरेको छ । योसहित गोताखोरबाट वर्ष जवान बन्नेको संख्या ६ पुगेको छ ।

स्रोतका अनुसार वर्ष जवान छनोट समितिले यो वर्ष (२०७८)का लागि सिफारिस भएर आएकामध्येबाट गोताखोर पारस खाम्चालाई वर्ष जवान छनोट गरेको हो । यद्यपि, सशस्त्र मुख्यालयले यो निर्णयलाई सार्वजनिक गरेको छैन ।

९ माघमा मनाउन लागिएको वार्षिकोत्सवमा खाम्चालाई वर्ष जवान घोषणा गरिनेछ । सशस्त्र प्रहरी बलले वर्षभरि उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबल्दारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकोमा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।

वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ ।

यसपटक वर्ष जवान बन्न सफल खाम्चा सुर्खेत वीरेन्द्रनगरका स्थायी बासिन्दा हुन् । उनी अहिले नम्बर २० गण (विपद् उद्धार) सिनामंगलमा कार्यरत छन् । खाम्चासँगै सुर्खेतबाटै वर्ष जवान बन्नेको संख्या चार पुगेको छ । यसअघि वर्ष जवान घोषणा भएका डिल्ली भट्टराई, ललित खाम्चा र ओम सलामी पनि सुर्खेतकै हुन् । उनीहरू सबै गोताखोर हुन् ।

बंगलादेशबाट दुई महिना लामो गोताखोर तालिम लिएका खाम्चालाई सशस्त्र प्रहरीभित्र साहसिक उद्धारकका रूपमा चिनिने गरिएको छ । तालिमका क्रममा पानीको सतहबाट १८० फिटमुनिसम्म गएको उनको अनुभव छ । बंगलादेशबाट २५ जनाले गोताखोर तालिम लिएकोमा अहिले १८ जना मात्र कार्यरत छन् ।

अहिलेसम्म वर्ष जवान भएका अधिकांशले कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रमा काम गरिसकेका छन् । नयाँ वर्ष जवान घोषित पारस खाम्चाले पनि सो तालिम केन्द्रमा लामो समयसम्म काम गरिसकेका छन् ।

सो तालिम केन्द्रलाई मुलुकका जुनसुकै भागमा कुनै अप्रिय घटना भए उद्धारका लागि तत्कालै सम्झने गरिन्छ, अझै विशेषगरी पानीमा डुबेका व्यक्तिजन्य घटनामा । सो तालिम केन्द्रमा यस्ता तालिमप्राप्त गोताखोर छन् कि उनीहरूको प्रशंसा जति गरे पनि कमै हुन्छ । तिनै गोताखोरका कारण सो तालिम केन्द्र मात्र नभई सिंगो सशस्त्र प्रहरी बल जहिले पनि चर्चाको केन्द्रमा हुने गर्छ । तिनै गोताखोरका कारण विगतमा उद्धारका लागि बंगलादेशबाट गोताखोर ल्याइने काम पनि पनि अन्त्य भएको छ । आफ्नो ज्यानको बाजी मारेर उद्धारमा उनीहरू जहिल्यै पनि सक्रिय हुन्छन् । अपवादबाहेक उनीहरूले सफलता हात नपारेका घटना कमै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

epaper

ताजा समाचार

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ