जोहान हेन्डरिच पेस्तालोजीलाई युरोपको आधुनिक शिक्षा प्रणालीका प्रवर्तक मानिन्छ । १८औं शताब्दीमा स्विटजरल्यान्डमा जन्मिएका पेस्तालोजीले स्विजरल्यान्डमा आधुनिक शिक्षाको जग बसाले । यसको प्रभाव युरोप, अमेरिकालगायत अन्य मुलुकहरूमा पनि पर्दै गयो । उनले स्विजरल्यान्डको शिक्षामा व्यावहारिक पाठ्यक्रम निर्माण गर्नुका साथै पेडागोजीमा रूपान्तरण गरे । उनले वर्णनात्मक शैलीको शिक्षक केन्द्रित शिक्षण सिकाइलाई बदलेर विद्यार्थी केन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेले । गुरुजनहरूले विद्यार्थीहरूलाई सिस्नोले पोल्छ भनेर कण्ठ गराउने होइन । पोलेको अनुभव गराउनुपर्दछ । पानीले रुझाउँछ भन्ने विषयको भाषण गर्ने होइन, भिजाएर देखाउनुपर्छ भन्दै सिकाइलाई जीवन्त एवं स्थायी बनाउन विद्यार्थीहरूलाई सक्रिय सहभागी बनाउनुपर्नेमा जोड दिए ।
स्विजरल्यान्डको शिक्षा पद्धतिलाई वैज्ञानिक, आधुनिक एवं व्यावहारिक बनाउन पेस्तालोजीको ठूलो योगदान रहेको पाइन्छ । पेस्तालोजी भन्छन्, शिक्षकहरूले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई जबसम्म लागू गर्दैनन्, तबसम्म शिक्षाको हेड, हार्ट र ह्यान्डबीच अन्तर सम्बन्ध हुँदैन । सिकाइमा विद्यार्थीको तत्परता नै महत्वपूर्ण हुन्छ । विद्यार्थीको तत्परता नभएसम्म प्रभावकारी सिकाइ हुन सक्दैन । पेस्तालोजीले आधुनिक शिक्षण सिकाइका विधि प्रयोगमा ल्याएपछि त्यहाँको परम्परागत शैलीमा रहेको शिक्षाको समग्र संरचनामा परिवर्तन भयो । यसो गर्दा उनले शिक्षाको नीति, उद्देश्य, पाठ्यक्रम निर्माण, शिक्षण सिकाइ, मूल्यांकनलगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेले । उनको शैक्षिक अवधारणा र शिक्षण सिकाइलाई अमेरिकामा जोन डिबे, बेलायतमा मारिया मन्टेश्वरीलगायत अन्य देशका दार्शनिक एवं शिक्षाविद्हरूले पनि अनुसरण गरे । यसरी शिक्षालाई आधुनिक, व्यावहारिक, वैज्ञानिक एवं जीवन्त बनाउन पेस्तालोजी मोडेल अत्यन्त प्रभावशाली मानिन्छ ।
आज युरोप र अमेरिकाका देशहरू विकसित हुनुको पछाडिको आधार त्यहाँको गुणस्तरीय शिक्षा हो । युरोपको शिक्षा प्रणालीलाई विश्वजगत्ले प्रशंसा गरेको पाइन्छ । युरोपले उत्कृष्ट अनुसन्धानकर्ता जन्माएको छ । वैज्ञानिकहरू उत्पादन गरेको छ । युरोपमा जन्मिएका वैज्ञानिकहरूको बलमा अमेरिकाले विज्ञानको क्षेत्रमा विकास गर्न सक्षम भएको यथार्थ छर्लंग छ । युरोप विज्ञान र प्रविधिमा मात्र अगाडि छैन, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक, राजनीतिक, कृषि, पशुपालनलगायतका क्षेत्रमा उन्नत छ । उल्लेखित क्षेत्रको विकासका लागि गुणस्तरीय शिक्षाको खाँचो हुन्छ । यो खाँचोलाई युरोपले सफलतापूर्वक प्राप्त गर्न सफल भयो । त्यसो त युरोपको शिक्षा क्षेत्रको विकासमा अन्य धेरै व्यक्ति एवं व्यक्तित्वहरूको योगदान रहेकोमा दुई मत छैन । युरोपले जन्माएका वैज्ञानिक, विज्ञ, विशेषज्ञ, चिन्तक एवं दक्ष जनशक्तिको पर्याप्त भूमिका रहेको छ । तथापि, आधुनिक शिक्षाका पिताका रूपमा जोहान हेन्डरिच पेस्तालोजीलाई मान्ने गरिन्छ ।
गुरुजनले विद्यार्थीलाई सिस्नोले पोल्छ भनेर कण्ठस्थ गराउनुको सट्टा पोलेको अनुभव गराउनु नै पेस्तोलोजी शिक्षण सिकाइ हो
विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्टाइनलाई पनि युरोपले जन्म दिएको हो । भौतिक विज्ञानको विकासमा उनको योगदान जति चर्चा गरे पनि अपुरो नै रहन्छ । असाधारण व्यक्तित्व एवं वैज्ञानिक आइन्टाइनले शिक्षण सिकाइ’bout गहन अवधारण राखेका छन् । उनी भन्छन्, ‘विद्यार्थीहरूलाई शिक्षकहरूले कण्ठस्त हुनेगरी घोकाउने होइन, उनीहरूलाई पढ्ने र सिक्ने वातावरणको सिर्जना गरिदिनुपर्छ ।’ आइन्सटाइनको यो भनाइमा मेल खानेगरी शिक्षाविद् विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीहरूलाई बिषयवस्तु भन्छन्, राम्रा शिक्षकले व्याख्या गर्छन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट् गर्छन् भने महान् शिक्षकले प्रेरित गर्छन् भने । यसरी हेर्दा शिक्षण सिकाइमा विद्यार्थीहरूलाई प्रेरित गर्ने कार्य अति महत्वपूर्ण ठानिन्छ ।
अहिले हाम्रो देशको समग्र शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने राष्ट्रिय बहस छ । शिक्षालाई समय सापेक्ष बनाउनुपर्ने विषयले ठाउँ पाएको छ । तर, विडम्बना † समयसापेक्ष शिक्षाको मोडेल ठोस रूपमा आउन सकेको छैन । कस्तो शिक्षा दिई के कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति, तहगत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्यांकन प्रणाली आदिले निर्धारण गर्दछन् । अहिले विद्यमान उल्लेखित क्षेत्रहरूमा विद्यालयदेखि विश्वविद्यालयसम्म संशोधन, परिमार्जन एवं परिवर्तनको आवश्यकता रहेको छ । यसो गर्दा एउटा आधार पेस्तालोजीको मोडेललाई मान्न सकिन्छ । ’cause, उनको मोडेलमा शिक्षामा ज्ञानात्मक, भावनात्मक, क्रियात्मक र व्यावहारिक पक्षलाई जोड दिइएको छ । शिक्षण सिकाइ सिकारुको हेड, हार्ट र ह्यान्डको फ्युजन हुन सके मात्र जीवन्त एवं स्थायी सिकाइ हुन सक्छ, भनिएको छ ।
सुन जहिले वा जहाँ पनि सुन नै हुन्छ । सत्य, सत्य नै । यस सन्दर्भमा हेर्दा विश्वजगत्ले पत्याएको र प्रयोग गरेको पेस्तालोजी विधिलाई स्वदेशीपनको मौकिताका आधारमा विकसित गर्न सकेमा देशको शिक्षा क्षेत्रमा सुधार हुनेमा द्विविधा छैन । राज्यले शिक्षाको सुधारको नाममा राजनीतिक कार्यकर्ताहरूको शिक्षा आयोग बनाउने र सिफारिस जम्मा गर्ने काम गर्दै आयो । तर, सफल भएन । अब तरिका बदल्नुपर्छ । समस्या राज्यको पुरानो चिन्तनमा छ । कार्यशैलीमा छ । अदूदर्शितामा छ । अध्ययन र अनुसन्धानको कमीमा छ । त्यसैले राजनीतिक दलहरू, राज्य र शिक्षा क्षेत्रको संयन्त्रमा रहेको पुरानो चिन्तन र अदूरदर्शिताको छाया हटाउनुपर्छ । शिक्षालाई आधुनिक, वैज्ञानिक एवं व्यावहारिक बनाउन राज्यले विज्ञहरूको थिंकटयांक बनाएर उनीहरूसँग सहकार्य गर्नुपर्छ । विद्यमान न्यारेसन सिकनेसबाट ग्रस्त भइरहेको शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउन राज्य र गुरुजनको घैंटोमा कहिले घाम लाग्ला ? छिट्टै लाग्न सकोस् ।
हाम्रो देशमा समग्र शिक्षाको रूपान्तरण’bout बहस हुने गरेको छ । पाठ्यव्रmम र पाठ्पुस्तक’bout प्रश्न उठेका छन् । देशको शिक्षण प्रणाली वर्णनात्मक विधिमा आधारित छ । शिक्षक केन्द्रित शिक्षण प्रणालीबाट विद्यार्थी केन्द्रित शिक्षण सिकाइ विधिमा बदल्ने सतहरूपी कुरा आउने गरेका छन् । शिक्षालाई समयसापेक्ष बनाउनुपर्ने विषय राज्य, सम्बन्धित निकाय, विज्ञ, शिषेषज्ञ, प्राध्यापक, विद्यार्थी, अभिभावकलगायतले महसुस गरेको अवस्था छ । तर, शिक्षाको सुधारमा राज्य हिँडिरहेको राजमार्गबाट गन्तव्यमा पुग्न नसकिने पक्का छ । कुन राजमार्गबाट अगाडि बढ्दा शिक्षाले व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय मागलाई पूरा गर्न सक्छ भन्ने कुरा प्रस्ट छैन । अलमलमा छ । यदि शिक्षाको गन्तव्य व्यक्ति र राष्ट्रको विकास र समृद्धिमा जोड्ने हो भने शिक्षा सुधारको राजमार्ग परिवर्तन गर्नुको विकल्प छैन । यसो गर्दा पेस्तालोजी मोडेल एउटा मार्गचित्र बन्न सक्छ ।
राजनीतिक दल, राज्य र शिक्षा क्षेत्रको संयन्त्रमा रहेको पुरानो चिन्तन र अदूरदर्शिताको छाया हटाउनुपर्छ
शिक्षालाई समय सापेक्ष बनाउनुपर्छ भन्नुको अर्थ आजको समाज र भोलिको भविष्यसँग शिक्षालाई जोड्नु हो । शिक्षाका व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्य पूरा गर्न सक्नु हो । यसो गर्दा शिक्षालाई आधुनिक, वैज्ञानिक, सिर्जनशील, व्यावहारिक, मौलिक, रोजगारमूलक, व्यावसायिक एवं असल आचरण निर्माणको माध्यम बनाउन आवश्यक हुन्छ । यसका लागि तत्अनुरूपको शिक्षा नीति, पाठ्यक्रम निर्माण, शिक्षण विधि एवं मूल्यांकन प्रणालीलाई बदल्नु नै पर्छ । परम्परागत शिक्षण पद्धति आउट्डेटेड भइसक्यो ।
शिक्षक, प्राध्यापक पे्ररणाका स्रोतव्यक्ति, भविष्यको मार्ग दर्शक, नैतिकताको प्रतिमूर्ति तथा प्रेरणाका स्रोत व्यक्ति हुन् । गुरुजनहरू विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता तथा एकेडेमिक मित्र पनि भएकाले तद्अनुरूपको व्यवहार वाञ्छनीय हुन्छ । शिक्षाविद् वान्डुराले गुरुजनहरूलाई मोडल हिरोका रूपमा प्रस्तुत गरेका छन् । वान्डुराका अनुसार गुरुजनहरूको व्यवहार, दक्षता, शैक्षिक गुण आदिले विद्यार्थीहरूलाई गहिरो प्रभाव पार्छ भन्नेछ । त्यसैले प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षक व्यक्ति एक व्यक्तित्व अनेक हुन आवश्यक ठानिन्छ । हाम्रा आदरणीय गुरुजनहरू यस्तै बन्न सकून् ।
अन्त्यमा आधुनिक शिक्षाका पिता शिक्षाविद् पेस्तालोजीले कुनै पनि कुरा सिक्नका लागि सिकारुको तत्परता अनिवार्य हुन्छ भनेका छन् । यो तत्परता जगाउन गुरुजनहरूमा प्रभावकारी शिक्षण कला आवश्यक हुन्छ । त्यसो त शिक्षण सिकाइमा एउटा मात्र विधि उपयक्त नहुन सक्छ । तथापि, शिक्षक केन्द्रित न्यारेटिभ शिक्षण सिकाइलाई बदलेर विद्यार्थी केन्द्रित बनाउने एउटा विधि पेस्तालोजी मोडेल हो । तावा नताति रोटी पाक्दैन भनेझैं विद्यार्थीहरू सिक्नका लागि तत्पर नभएसम्म शिक्षण सिकाइ प्रभावकारी हँुदैन । त्यसैले आइन्टाइनले भनेजस्तो विद्यार्थीहरूले सिक्ने वातावरणको सिर्जना गरौं । वान्डुरालेले भनेझै गुरुजनहरूले एकेडेमिक मोडेल हिरोको भूमिका खेलौं । पेस्तालोजीले भनेजस्तो सिकाइमा विद्यार्थीहरूलाई सक्रिय सहभागी बनाआंै । शिक्षणलाई कलात्मक बनाऔं ।
लेखक शिक्षाविद् हुन् ।






