लमजुङ । लमजुङका कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालकले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसीसहर नगरपालिका–३ बहुनबेसीस्थित यशोब्रह्म माविमा अध्ययनरत किरण अधिकारीले पछिल्लोपटक ड्रोन बनाएका हुन् ।
उनले कक्षा ४ मा पढ्दाखेरि नै बालबालिकाले खेलाउने गाडी बनाएका थिए । त्यसपछिका दिनमा पनि उनले लाइट, फोन, वाटर पम्प, इलेक्ट्रिक म्यागेन, एक्जाभेटर, डोजरलगायत निर्माण गरिसकेका छन् ।
उनी सोही वडाको दनाई गाउँ निवासी मदन अधिकारी र विष्णुमाया अधिकारीका छोरा हुन् । उनकी एक दिदी छन् । सरकारी स्कुलमा साधारण विषयमा अध्ययन गर्दै आएका उनले सुरुका दिनमा आफू सानो भएको हुँदा बाबाआमाले यस्तो राम्रो काम गर्छ भन्ने नपत्याएको हुँदा आफूले बनाउने वस्तुका लागि सामग्रीको जोगाड गर्न खर्च नपाएर कठिन भएको किरणले बताए ।
उनका अनुसार पछिपछि यो त राम्रो काम हो भनेर छिमेकी, इष्टमित्र र बाहिरबाट आउनेहरूले समेत भन्न थालेपछि पछिल्ला दुई वर्षदेखि उनलाई बाबुको सहयोग प्राप्त भएको छ ।
‘सुरुका दिनमा त दसैंको बेलामा टीका लगाएर पाएको पैसा, स्कुलमा खाजा खान दिएको पैसा जोगाएर यस्तो काम गरेको हुँ,’ उनले भने, ‘ड्रोन बनाउने सोच युट्युबमा हेरेर आएको हो ।
ड्रोन बनाउन करिब ७० हजार रुपैयाँ खर्च लागेको किरणले बताए । ‘यसले तीन किलोमिटरको दूरी र उचाइमा पनि ३ किमि नै उड्न सक्छ,’ उनले ठोकुवाका साथ भने, ‘मैले बनाएको यो ड्रोनले औषधि बोक्ने, सभा समारोहमा फूलको वर्षा गराउने, राष्ट्रिय झन्डाको प्रदर्शन गर्नेजस्ता काम सहजतापूर्वक गर्न सक्छ ।’ यसले डेढ किलोसम्मको तौल बोक्न सक्ने उनले जानकारी दिए ।
उनले खर्च अभावमा त्यसको दूरी र उचाइ नाप्ने मेसिन राख्न सकेका छैनन् । ‘मेरो अनुमान हो यो, एक किमिको दूरी भने ड्रोनले दुई÷तीनपटक पार गरिसकेको छ,’ किरणले सुनाए ।
१ लाख ५० हजार रुपैयाँ खर्च गर्ने हो भने आफूले बनाउने ड्रोनले डेढ किलोको सामग्री सजिलै बोक्न सक्ने उनले बताए ।
उनले यो ड्रोन तयार गरेको एक महिना जति मात्र भयो । उनले भने, ‘ड्रोन बनाउने सोच भर्खरभर्खर आएको हो, यो बनाउने सामग्री खोज्न, जोड्न १० दिन जति लाग्यो र बनाउन एक महिना जति लागेको हो ।’
कक्षा–९ मा पढ्दै गर्दा गत वर्ष बनाएको रिमोट कन्ट्रोलको गाडीमा चढेर उनले एक किमीको यात्रा गरेर सबैलाई चकित पारेका थिए । कक्षा–८ मा पढ्दा उनले डोजर बनाएको बताए । उनका बाबुआमा दुवै किसान हुन् । घरमा बुबाआमाले ज्योति भैंसी फर्म चलाएका छन् । फार्ममा सातवटा दुहुना भैंसी छन् ।






