सहकारी अभियानका राष्ट्रियस्तरका अधिकांश नेताहरु शनिवार दमक पुगेका छन् । काठमाडौंको राष्ट्रियस्तरको गोष्ठीमा जस्तो सहकारी अभियान्ताहरुको जमघट झापाको दमकमा देखिएको छ । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले रजत बर्षको सन्दर्भ पारेर प्रदेश १ स्तरीय गोष्ठीको आयोजना गरेर सहकारी अभियानका शिर्षस्थ नेताहरुलाई दमकमा भेला गराउन सफल भएको हो । २०५४ सालमा २९ जनाबाट एक लाख ४५ हजार रुपैयाँबाट शुरु भएको संस्थामा हाल करिब ८ हजार सदस्य आवद्ध छन् भने करिब २८ करोड शेयर पुँजी पुगेको छ । संस्थाका अध्यक्ष नारायण भट्टराईले रजत बर्षको अवसर पारेर आफ्नो उपलब्धीलाई अभियानले स्वामित्व लिनेगरी मनाएको बताए । सहकारी अभियानका महत्वपूर्ण व्यक्तित्वहरुको भेलापछि उत्साहित हुँदै अध्यक्ष भट्टराईले भने, ‘हालसम्मको हाम्रो उपलब्धीलाई साक्षात्कार गराउन हामी सफल भएका छौं ।’

प्रदेश १ उत्कृष्ट सहकारीमध्येमा रहेकाले मेची सहकारीको रजत बर्षको समारोहमा सबै सहकारीकर्मी दकम पुगेका हुन् । सुपथ मुल्यमा सदस्यलाई घर उपलब्ध गराउने कार्यक्रम अन्तर्गत संस्थाले नमुना आवास आयोजना संचालन गरेको छ । दमकमै अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्र स्थापना गरेको छ । १२ विगाहा जग्गामा संचालन सो उद्योगमा संस्थाको ४० प्रतिशत लगानी छ । संस्थाले सदस्यलाई उपचार खर्च, काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहतलगायतका सेवा सुविधासमेत दिएको छ । हजारौ सहकारीकर्मीले सो सहकारीको अवलोकन भ्रमण समेत गर्दै आएका छन् ।
शनिवार विहान विभिन्न झाँकीसहित दमकमा आयोजना गरिएको प्रभातफेरीमा महासंघका संचालहरुको उत्साहजनक सहभागीता रहेको थियो । प्रभातफेरीमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको सहभागिता थियो ।
कार्यक्रममा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा,उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक, शिव डाँगी, अमृता सुब्बा, गणेश ढकाल, पूर्व संचालक रामचन्द्र उप्रेतीको उपस्थिति रहेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र कुमार गिरी, बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीको पनि उपस्थिति छ ।
संस्थाका सिइओ खोम बगालेले नेपालको सहकारी अभियानलाई अगाडि बढाउन सहयोग पुगोस् भन्ने हेतुले राष्ट्रियस्तरका सहकारी अभियान्ताहरुलाई दमकमा भेला गराएको बताउनुभयो । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको समेत सहभागी हुने बताइएको छ । सो गोष्ठीमा प्रदेश १का जिल्लास्तरीय संघ, स्थानीय सरकार तथा संस्थाहरुका प्रतिनिधिको उपस्थिति रहेको छ । कार्यक्रममा शनिवार बागमती प्रदेशको सहकारी मन्त्रालयका सचिव बलराम निरौला, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।






