अहिले कोरोना महामारीको तेस्रो लहर पनि धेरै शिथिल भइसकेको छ । यसले आममानिसमा विभिन्न भेरियन्ट आए पनि केही हुँदो रहेनछ भन्ने धारणा जन्माउन थालेको छ । यो आफंैमा गलत र हानिकारक रहेको छ । कोरोनाको तेस्रो लहर सुरु भएयता हालसम्मकै कम संक्रमण दर देखिएपछि सबैमा यस्तो खाले मनोविज्ञानले काम गर्न थालेको देखिन्छ । बितेका तीन सातायता कोरोना संक्रमण दर घट्दै गएपछि र मृत्युदर पनि कम हुँदै गएपछि मानिसमा केही लापर्बाही र बेवास्ताका व्यवहार फेरि पनि देखिन थालेका छन् । पछिल्लोपटक गरिएको ७ हजार ९६ जनाको नमुना परीक्षणमा ३ सय ५० जनामा संक्रमण फेला परेपछि अब महामारीको संक्रमणमा कमी आउन थालेको भन्ने गलत बुझाइले पनि काम गर्न थालेको छ । त्यसो त महामारी संक्रमणमा कमी नेपालमा मात्र नभर दक्षिण एसियामै ह्वात्तै घटेको छ । विश्व स्वास्थ्य संगठनले समेत दक्षिण पूर्व एसियामा नयाँ संक्रमण दरमा ३२ प्रतिशतले कमी आएको जनाएको छ ।
अहिले कमी आएको लहर नेपालको सन्दर्भमा तेस्रो लहर हो । पहिलो र दोस्रो लहरले नेपाललाई निकै सताएको थियो । ती दुईको सापेक्षतामा तेस्रो लहरले नेपाललाई कमै सतायो । तर, पनि कोरोना महामारीको लहर निरन्तर उत्सर्जन भइरहने कोरोना महामारीको नयाँ भेरियन्टले ल्याउने लहर हो । कोरोना महामारीले निरन्तर नयाँ स्वरूप ग्रहण गर्ने र त्यसले फेरि नयाँ संक्रमणको लहर निम्त्याइरहने भएकाले ओमिक्रोनको संक्रमण सकियो भनेर ढुक्क हुन सक्ने अवस्था भने छैन । स्वास्थ्य मन्त्रालयले पनि अबका दिनमा नयाँ भेरियन्ट नआएको खण्डमा संक्रमण दर घट्दै गएको र अहिले देशमा जनस्वास्थ्यको अवस्था सामान्य रहेको बताएको छ । तर, अबका दिनमा केही पनि हुँदैन भन्ने मानसिकता नलिन र सतर्कताको अवस्थामा रहिरहन सचेत पनि गराएको छ । जोखिम जुनसुकै बेलामा पनि निम्तन सक्ने र त्यसले भयावह रूप लिन सक्ने कुरालाई सबैले ख्याल राख्नैपर्छ । पहिलो र दोस्रो लहरपछि अन्य लहर कम जोखिमपूर्ण आउँछन् कि भनिरहेका बेलामा ओमिक्रोन निकै आक्रामक र संक्रामक रूपमा देखापरेको थियो । त्यसैले कोरोना संक्रमणको अवस्थालाई कहिल्यै पनि हल्का र सामान्य रूपमा लिनुहँुदैन । हरपल सचेत रहँदै सबै प्रकारका सुरक्षाका विधि अपनाएर हिँडडुल गर्नुपर्छ ।
अहिले नेपालमा ६० प्रतिशत जनताले खोप लिएको र जनसंख्याको ठूलो भाग खोपयुक्त हुँदै गएकाले अबका दिनमा प्रकट हुने लहरले कत्तिको असर पु¥याउला भन्ने कुरा अनुमान हुन गए पनि स्वास्थ्य मापदण्ड अपनाउने कुरामा भने हेलचेक्र्याइँ गर्नुहुँदैन । यसका लागि सर्वसाधारणसहित सम्बन्धित सबैले बेलैमा ध्यान पु¥याउनुपर्छ । अहिले पनि संक्रमित बिरामी बेडमा छन् । केही बिरामी आईसीयूमै छन् । साथै, कम मात्र भए पनि संक्रमणका कारण बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन । त्यसैले संक्रमण सुषुप्त भयो भन्दैमा हेलचेक्र्याई नगरौं, हरदम सतर्क र सचेत रहौं ।






