हिउँदेबालीका लागि समयमा नै मल उपलब्ध गराऊ

विगतको तुलनामा यस वर्ष समय समयमा पानी परिरहेकाले किसानको हिउँदे बालीमा मल राख्ने बेला आइसकेको छ । गहुँ पसाउने बेलामा मल राख्नैपर्नेहुन्छ । त्यसमा पनि अहिलेको रहर लाग्दो बालीमा समयमै मल राख्न पाए राम्रो फसल भिœयाउन सकिने आशामा किसान छन् । तरकारी बाली पनि पहिलो लट भिœयाइसकेकाले दोस्रो लटको तयारीमा छन् उनीहरू । तर, बजारमा मल भने छैन । स्थानीय कृषि ज्ञान केन्द्रमा मल माग्नका लागि किसानहरूको भिड लाग्ने गरे पनि त्यहाँबाट समस्या समाधान हुन सक्ने कुनै पनि उपाय छैन । बजारका मल डिपोहरू खाली छन् । विगतमा मल बेच्दै आएका खुद्रा पसलेहरूले पसलका सटर तथा भित्तामा ‘मल छैन’भनेर भँगेरा टाउके अक्षरमा सूचना टाँस गरिसकेका छन् । तै पनि किसानहरू कतै पाइन्छ कि त भनेर हरेक दिन बजारमा मलको सोधखोज गर्न भने छाडेका छैनन् । उता बारीमा हिउँदे बाली पसाउन र फल्न थालिसके । मल राख्न याम पनि गुज्रिन थालिसक्यो । किसानका लागि वर्ष दिनमा आधा वर्ष धान्ने खाद्यान्न भनेको हिउँदे बाली नै हो । त्यसमा पनि यो वर्ष पानी परिरहेकाले भकारी भर्न नसके पनि थैला र बोरामा राख्ने गरी हिउँदे बाली भित्रने आशामा छन् किसानहरू ।

तर, हरेक वर्षझैं यो वर्ष पनि किसानलाई मल उपलब्ध गराउन सरकार र सरकार मातहतका निकाय सक्षम हुने देखिँदैन । मल किन्नका ठेक्कापट्टा पनि गरिएको छैन । मल किनमेलका लागि खुला बजारलाई छोडिएको छ । त्यहाँ कालाबजारी चल्ने गरेको छ । यस्ता कालाबजारीयाबाट खरिद गरिएको मल नक्कली हुने गरेको र त्यसले राम्रो प्रतिफल नदिने गरिरहेको किसानहरूको गुनासो छ । त्यही नक्कली मल पनि बजारमा पाइन छाडेको छ अहिले । पाइए पनि यसको निकै चर्को मूल्य राखिएको छ । यसले माटोमा अम्लीय पन ल्याएर उर्वरा शक्ति नै नष्ट गरिरहेको छ । किसान स्वीकार गर्छन्, नक्कली मल राख्न थालेपछि उब्जनीमा कमी त आउँदै गइरहेको छ, त्यसमा पनि माटो साह्रो भएर जोतवाह गर्न सकिने अवस्था पनि छैन । किसानको चाहना छ, यति नै बेला सरकारी सहुलियत मल पाए बालीनाली राम्रो अवस्थामा भिœयाउन पाइने थियो । तर, सरकार मौन छ । सीमा इलाकामा रहेका किसानहरू सीमापारी भारतमा गएर मल ल्याउने गरिरहेका छन् । सीमा प्रहरीले पनि आवश्यक मात्रामा मल नेपालतर्फ ल्याउन दिँदैनन् ।

सरकारले मल र बीउ मात्र उपलब्ध गराउने हो भने पनि किसानहरूले बेलैमा खेतीकिसानी गरेर मनग्यै आम्दानी गर्न सक्ने थिए । तर, यस्ता कुरा किसानहरूका लागि सपनाजस्ता हुन गएका छन् । समयमा मल नपाइने, बीउमा ठगी गरिने, पानी समयमा नपर्ने र कुलो नहरको व्यवस्था नभएकाले ठगिँदै आएका किसान यो वर्षको हिउँदमा पानी परिरहेकाले हिउँदे बाली राम्रो गरी भिœयाउने प्रयत्नमा लागि परिरहेका छन् । तर, समयमा मल नपाइएकाले उनीहरूको सपनामा तुषरापात हुन थालेको छ । यस्तोबेलामा देशैभरका किसानका लागि सरकारले ठूलो मात्रामा रसायनिक मलको व्यवस्था गर्नुु जरुरी देखिन्छ । किसानको यो समस्यामा सरकार कानमा तेल हालेर बस्नुहँुदैन । तत्काल सम्बोधन गरिनुपर्छ र छिटोभन्दा छिटो किसानका खेतहरूमा मल पुग्ने उचित प्रबन्ध गरिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुर दलित बस्ती निर्माणमा वालेन सरकारको अवरोध किन ?