राष्ट्रबैंकले अब ६ महिना भन्दा बढी आयात धान्न सक्दैन : पूर्व गभर्नर नेपाल ‍(भिडियाेसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् ।

पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए । डा. नेपालले मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवात देखि रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाई छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नितिगत सुधार समेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालको भनाई थियो । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गरे । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्य समेत पूरा नहुने बताए ।

‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा रहेको छ । सबै भन्दा ठूलो समस्या रेमिटेन्स घटेको छ । रेमिटेन्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएको छ ।’ उनले भने ‘५ महिना देखि सञ्चिति घट्दै गएर जम्मा ६ महिनाको लागि वस्तु आयात धान्न सक्ने मात्रै छ । यो अझै घट्दै गयो भने अझै गाह्रो पर्छ ।’

पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे । विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको जानकारी दिँदै सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने बताए । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 646 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न