कम्युनिस्ट हुँ भन्न लाज लाग्छ

वर्तमान कम्युनिस्ट नेता तथा कार्यकर्ताको सोच र व्यवहार विलासी जीवनतर्फ मोडिनु दुःखान्त घटना हो । यस्तो दुःखान्त देख्नकै लागि कम्युनिस्टहरू कम्युनिस्ट पार्टीमा लागेका होइनन् । अहिलेका कम्युनिस्ट नेता तथा कार्यकर्तामा ऐयासीपूर्ण एवं भड्किलो जीवनशैली देखिन्छ । त्यसैगरी राज्यसत्ता, शक्ति र स्रोत दोहन गरी रजाईँ गर्ने एवं लाभको पद हासिल गर्न मरिहत्ते गर्ने प्रवृत्ति देखिन्छ । कम्युनिस्टमा यस्तो जीवनशैली र प्रवृत्ति देखिनु लाजमर्दो कुरा हो । त्यति मात्रै होइन, राष्ट्रप्रतिको गद्दारी र बेइमानी हो । हरेक निष्ठावान् कम्युनिस्टले त्यसको प्रतिवाद र प्रतिरोध गर्न अब विलम्ब गर्नुहुँदैन ।

नेताको कार्यशैली र आचरणका कारण आफूलाई कम्युनिस्ट भन्न लाज लागेको कुरा पार्टीका शीर्ष तहका नेताले नै व्यक्त गरेका छन् । डा. बाबुराम भट्टराई कम्युनिस्ट पार्टीको नेतृत्व खराब कार्यशैलीकै कारण पार्टी कमजोर हुँदै गएको र जनताबाट अलग हुने स्थितिमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘नेतृत्व प्रणाली, कार्यशैली र आचरणमा सुधार नभएका कारण कम्युनिस्ट भन्न लाज लाग्ने अवस्था छ ।’ त्यस्तै, सीपी मैनाली भन्छन्, ‘नेकपा वास्तवमा कम्युनिस्ट हुन सकेन, उनीहरूले कम्युनिस्टको सिद्धान्त र विचारलाई पच्छ्याउन सकेनन् ।

आफूलाई माक्सवादी भन्छन् तर उनीहरू माक्सवादी रहेनन् । उनीहरूले बाटो बिराएका छन् ।’ त्यसैगरी नेतृ लिमा अधिकारी भन्छिन्, ‘नेताहरूको शैली र गुटले राजनीतिलाई विकृत बनाइरहेको छ । अहिलेको जमात राजनीतिबाटै पैसा कमाउन लाग्यो । अहिले राजनीतिलाई नै कमाउने भाँडो बनाइएको छ । पार्टीलाई विकृतिले गाँजेको छ । यसले कम्युनिस्ट आन्दोलनलाई विकृत बनाएको छ । पार्टी नेताको यिनै अभिव्यक्तिले कार्यकर्तालाई लज्जित तुल्याइरहेको छ । म नेकपाको शुभचिन्तक हुँ, सदस्य हुँ भन्दा नै लाजमर्दो हुने अवस्था आएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार चलाएका बेलामा सीपी गजुरेल भन्थे, ‘जनताले यो सरकारलाई थुकिराखेका छन् । नेकपाले पनि हामी कम्युनिस्ट भन्छ । त्यसैले कहिलेकाहीं कम्युनिस्ट भन्न पनि हामीलाई लाजै लाग्छ ।’ त्यसैगरी राम कार्कीले सोही बेलामा भन्थे, ‘नेकपाको सरकार कम्युनिस्ट चरित्रको छैन । यसको रबैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’ तत्कालीन नेकपा सरकारले राज्यका संवैधानिक र कार्यकारी हरेक निकायमा आसेपासे स्वजन भनाउँदा लम्पट क्याडरलाई नियुक्ति दिने तथा निर्माण व्यवसायको ठेक्का दिई राज्यशक्ति र स्रोतको दुरुपयोग गर्ने लुटतन्त्र (क्लिप्टोक्रेसी) प्रणाली अपनाएका कारण कम्युनिस्ट पार्टीकै वरिष्ठ नेताले उपर्युक्त अभिव्यक्ति दिएका हुन् । यस्ता घृणित कार्यशैली र व्यवहारले कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको समाजवादी पार्टी भन्न लाजमर्दो स्थितिमा पु¥याएको छ ।

कम्युनिस्ट नेता तथा कार्यकर्तामा समाजवाद’bout पुनर्जागरण गराई कम्युनिस्ट आन्दोलनलाई झनै गतिशील र सशक्त बनाउन जरुरी देखिएको छ

फेब्रुअरी २१, १८४८ मा कम्युनिस्ट मेनिफेस्टो प्रकाशित भएपछि विश्वभर कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो । सन् १९१७ को अक्टोबर क्रान्तिको उपलब्धिस्वरूप विश्वको इतिहासमा मजदुर र किसानको पहिलो राज्य सोभियत संघको स्थापना भयो । अगस्ट १, १९४९ मा माओत्सेतुङको नेतृत्वमा भएको महान जनवादी सांस्कृतिक क्रान्तिको परिणामस्वरूप चीनमा कम्युनिस्ट शासन व्यवस्था स्थापना भयो । त्यसको प्रभावले पूर्वी युरोप र एसियाका केही मुलुकमा कम्युनिस्ट शासन व्यवस्था स्थापना हुँदै गए । विडम्बना, सन् १९७१ मा पेरिस कम्युनको स्थापना भयो तर ७२ दिनभित्रै ढल्यो । सन् १९९१ मा मिखाइल गोर्भाचोभको कार्यकालमा सोभियत संघ विखण्डित भयो । सोभियत संघको विघटनसँगै विश्वभर कम्युनिस्ट आन्दोलन संकटमा प¥यो ।

कतिपय कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थामा पुगे । विश्वभर कम्युनिस्ट मुलुक पतन हुँदै पुँजीवादी मुलुकमा रूपान्तरित हुँदै गए । यसको मूल कारण भूमण्डलीकृत विश्व र नवउदारवादी अर्थ प्रणालीको साम्राज्य स्थापित हुनु हो । माक्सले भनेका थिए, ‘पुँजीवाद निरन्तर प्रगतिशील पद्धति हो, पुँजीवादजत्तिको क्रान्तिकारी पद्धति अरू केही पनि छैन । पुँजीवाद सकिने कल्पना गर्न सकिन्छ, यो उच्चतम बिन्दुमा पुगेपछि ओरालो लाग्छ ।’ तर, लेनिनले माक्स बुझेनन्, पुँजीवाद त्यति बेलै उच्च बिन्दुमा पुगिसक्यो भन्दिए, जबकि पुगेकै थिएन । बेलै नआई हठात् लेनिनले अक्टोबर क्रान्ति गराए, जसले गर्दा कम्युनिस्ट व्यवस्था संकटमा प¥यो ।

भ्लादिमिर, लेनिन र माओत्सेतुङले जे सोचेर क्रान्तिमार्फत कम्युनिस्ट शासन व्यवस्था स्थापना गरे । त्यस कदमलाई पछ्याएर विश्वभर ४६ वटा मुलुकमा कम्युनिस्ट शासन व्यवस्था पनि स्थापना भयो । तर, अधिकांश मुलुकमा कम्युनिस्ट शासन असफल भयो । विश्वमा हाल ५६ वटा देशमा १ सय १५ वटा पार्टी संसद्मा पुगेका छन् । ती सबैले आफूलाई कम्युनिस्ट र पुँजीवाद विरोधी भएको बताए पनि यथार्थमा उनीहरू त्यस्तो होइनन् ।

विश्वमा अहिले ५ वटा देश (चीन, भियतनाम, क्युबा, लाओस र उत्तर कोरिया)मा मात्र समाजवादी व्यवस्था कायम छ । तर, तीमध्ये पनि अहिले चीन पुँजीवादी मुलुकका रूपमा रूपान्तरित भइसकेको मानिन्छ र भियतनाम पनि पुँजीवादी भएर प्रगतिको शिखरमा छ । अहिले विश्वमा लाओस, क्युबा र उत्तर कोरिया मात्र कम्युनिस्ट मुलुकको गणनाभित्र पर्दछन् । लेनिन र माओले सोचेको कम्युनिस्ट शासन त उत्तर कोरियाको जस्तो हो । उनीहरूले सोचे जस्तो व्यवस्था रुस र चीनमै पनि कायम हुन सकेन ।

समाजवादको परिकल्पना गरेका नेता तथा कार्यकर्ता नै सत्तासुख र सुविधामा अल्झिनु देश र जनताका लागि दुर्भाग्य हो । २०२८ साल जेठदेखि २०३० कात्तिकसम्म चलेको नक्सलाइट आन्दोलनबाट प्रेरित एवं प्रभावित झापा विद्रोह तथा ‘रिम’ तथा ‘रअ’ जस्ता संस्थाबाट निर्देशित भई २०५२ सालदेखि २०६२ सम्म चलेको माओवादी सशस्त्र युद्धमा होमिएका सहादत प्राप्त र जिँउदा सहिदको त्याग र बलिदानस्वरूप प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको राज्यसत्ता हाँकेका कम्युनिस्ट नेताबाटै गुट, फुट, झुट र लुटको प्रवृत्ति प्रदर्शनले आमवामपन्थी चिन्तक, विचारक एवं समर्थक आजित मात्रै होइन, त्यसबाट तड्पिएका समेत थिए । कम्युनिस्ट व्यवस्थाका हिमायती हुँ भन्नेमा नै समाजवादप्रतिको आस्था र विश्वास पराजित हुँदै गएको थियो । सरकार र सरकार समर्थित दलभित्रको अन्तर्विरोध या अन्तरकलहको मुख्य कारण नै सत्तासुख र सुविधा थियो । त्यतिखेर एकातिर सत्ता, शक्ति र स्रोत दोहनमा सत्ताधारीको स्वेच्छाचारी रूपमा रजगज थियो भने अर्कातिर, आफ्नो लम्पट कार्यकर्ताले चाहेको निकायमा नियुक्ति पाएन, ठेक्का पाएन भन्ने असन्तुष्ट पक्षको कुण्ठा थियो । यसरी कुण्ठाले जलेका र अतृप्तिको भावनाले ग्रसित अल्पसंख्यक राजनेताको मनोकांक्षा आफ्नै दलको सरकारले पूरा नगरिदिँदा असन्तुष्ट पक्षले अन्त्यमा आफ्नै सरकारलाई मात्रै ढलाएनन्, पार्टीलाई नै फुटको स्थितिमा पु¥याए ।

बहुसंख्यक जनताको आशा र विश्वास मानिएको देशको मुख्य पार्टी कम्युनिस्ट पार्टीको एउटा मुख्य समस्या भनेकै पार्टीमा पटक पटक फुट आउनु हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख १० गते स्थापित पार्टी अहिले चिरा–चिरामा विभाजित छ । पार्टीभित्र समान हित वा स्वार्थका लागि मतैक्य हुने र त्यसबाट गुट निर्माण हुने संस्कारले जरा गाडिसकेको अवस्था छ र प्रकारान्तरले फुटसमेत आएको छ । कम्युनिस्ट पार्टी फुट हुनुको प्रधान कारण राजनेताले आफ्नो धरातल बिर्सनु, कोबाट निर्देशित या सञ्चालित हुने र पार्टीका लागि के सहयोग गर्नुपर्ने हो भन्ने चाल नपाउनु हो । यस्तो चेत आफूलाई समाजवादीको लेपन लगाएका धूर्त नेता तथा कार्यकर्तामा नआउनाले नेपालका कम्युनिस्ट पार्टीमा बारम्बार विभाजन आएको देखिन्छ ।

अहिलेका कम्युनिस्ट नेता तथा कार्यकर्तामा ऐयासीपूर्ण एवं भड्किलो जीवनशैली मौलाउँदै गइरहेको छ

गणतन्त्र चीनका वर्तमान राष्ट्रपति सी चिन पिङले नेपालका कम्युनिस्टले विलासी जीवन बिताएको देखेरै सादा जीवन बिताउनका लागि केही उपयोगी सल्लाह दिएका छन्, ‘धन सम्पत्तिको जोहो गर्ने कम्युनिस्टले देश र जनताको सेवा गर्न सक्दैन । सम्पतिको लोभ गर्नेहरूले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन । कम्युनिस्टले विलासी जीवन त्याग्नुपर्छ, भ्रष्टाचारविरुद्ध लड्नुपर्छ ।’ माक्सवादका पण्डित घनश्याम भुसाल भन्छन्, ‘राजा र कांग्रेसले खाएकोभन्दा बढी नेकपाले खाँदै छ, कम्युनिस्ट भन्न लाजमर्दो भयो ।’ कम्युनिस्ट नेताकै यस्ता अभिव्यक्तिले पुँजीवादी मुलुकले अपनाउँदै आएको नवउदारवाद अर्थ प्रणाली र त्यसको आवरणमा राजनीति गरेका कम्युनिस्ट नेताका चरित्र र व्यवहारप्रति कम्युनिस्ट दर्शन एवं सिद्धान्त अंगिकार गरेका माक्स, लेलिन र माओका सच्चा अनुयायीमा लाज मात्रै होइन हीनताबोध पनि गराएको हुनुपर्छ ।

कम्युनिस्ट पार्टीको सिद्धान्त भनेको सर्वहाराको नेतृत्वमा समतामूलक शासन पद्धति सञ्चालन गर्नु हो । तर, कम्युनिस्ट नेतृत्वले आफ्नै सदस्यमाथि स्वेच्छाचारी शैलीमा अभद्र र अपमानजनित व्यवहार गरिरहेको अनुभूति गराइरहेछ । समाजवादी सिद्धान्तमा आस्था र विश्वास गर्नेहरूमा सामन्ती सोच हुनु भनेको घृणाजन्य र लज्जास्पद कुरा हो । नेकपाकै वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले भनेकी छन्, ‘गणतन्त्र आए पनि कम्युनिस्ट नेतृत्वको सामन्ती सोच हट्न सकेन । पार्टीभित्रै अन्याय गर्नेले अरूलाई न्याय दिन सक्दैन ।’ अर्की नेतृ सुनिता न्यौपाने भन्छिन्, ‘कम्युनिस्ट नेतामा न गणतन्त्रवादी संस्कृति छ न पुँजीवादी संस्कृति छ । नेताहरू सामन्ती र फासिस्ट खालको चिन्तन बोकेर हिंडिरहेका छन् । यी दुई नेतृको अभिव्यक्तिले कम्युनिस्ट नेताका बोलीमा समाजवादी र व्यवहारमा सर्वसत्तावादी चरित्रलाई उदांग पारेको प्रस्ट हुन्छ । कम्युनिस्ट आन्दोलनबाट देशमा गणतन्त्र त स्थापना भयो तर कम्युनिस्ट नेताको सामन्ती सोच, शैली र व्यवहारमा परिवर्तन आउन सकेन भन्ने जनतामा सन्देश गएको छ । जुन दुःखान्तक कुरा हो ।

समाजवाद अन्याय, शोषण र उत्पीडन नहुने, आर्थिक, सामाजिक आदि अवस्थामा समानता ल्याउने र नागरिकमा आत्मनिर्णयको अधिकार भएको आर्थिक र राजनीतिक व्यवस्था हो । तर, यसलाई गलत रूपमा प्रयोग गरियो । शासन प्रणाली आफंैमा दोषपूर्ण हुँदैन, पात्र र प्रवृत्ति नै दोषी हुन्छ । माक्ससिजममा आस्था र विश्वास गर्नेहरूले कार्ल माक्सले परिकल्पना गरेको समाज’bout बुझ्न जरूरी देखिन्छ । समाजवादमा सुरुवाती अवस्थामा सर्वहारावर्गको अधिनायकत्वमा शासन व्यवस्था स्थापित हुन्छ । सर्वहारा अधिनायकत्वको उद्देश्य प्रकारान्तरले सबै अधिनायकत्वको अन्त्य गर्नु र लोकतन्त्र नै लोकतन्त्र भएको उदात्त मानवीय स्वतन्त्रतासहितको समाज निर्माण गर्नु हो । यो व्यवस्थाले वर्ग र राज्यलाई क्रमशः समाप्त गर्दै लगेर अन्त्यमा वर्गविहीन, राज्यविहीन र शोषणविहीन समाज स्थापना हुनेछ भन्ने परिकल्पना गरेको छ । यो परिकल्पना नबुझेर गलत रूपमा प्रयोग गर्नाले कम्युनिस्ट व्यवस्थाको पतन भयो । त्यो दुर्भाग्य हो ।

प्रा.डा. रामप्रसाद उप्रेती भन्छन्, ‘कम्युनिस्ट नक्कली हुन्, लुटेरा हुन्, देशद्रोही हुन्, द्रव्यपिचास हुन् । सत्तामा कसरी जाने र आर्जन गरेको सम्पत्ति कसरी बचाउने भन्ने खेलमा छन् ।’ नक्सलाइट आन्दोलनका सूत्राधार एवं सञ्चालक कानु सन्यालले नेपालका कम्युनिस्ट नै पुँजी संग्रहमा लागेको देखेर दुःखेसो पोखेका थिए । यी दुवै भनाइ र दुःखेसोले हाम्रो समाजमा कम्युनिस्ट राज्य व्यवस्थाप्रति नै घृणाभाव सिर्जना गराएको छ । सियो सापट लिएका छौ भने त्यो पनि फिर्ता गर भन्ने माओको भनाइलाई अंगीकार गर्ने समाजवादीलाई लाजमर्दो बनाएको छ । समाजशास्त्री चैतन्य मिश्र र कम्युनिस्ट नेता राम कार्कीले अब नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीको कुनै आवश्यकता छैन, चाहिँदैन कम्युनिस्ट पार्टी, लेलिनले माक्स बुझेनन् भन्ने निष्कर्ष निकालेका छन् । यस्तो निष्कर्षले नेपालमा कम्युनिस्ट पार्टीको औचित्य सकिएको बुझिन्छ । वर्तमान नेकपा नेतृत्वगणले ‘आफू र स्वजनको हित, सत्तासुख र सुविधा’ जस्ता लालचलाई प्राथमिकता दिन्छन् भन्ने बुझाइलाई झनै प्रमाणित गरिदिएको छ । जसले नेपालको कम्युनिस्ट मुभमेन्टलाई झनै शिथिल र निष्प्रभावी बनाउँदै लगेको देखिन्छ ।

नेपालको कम्युनिस्ट नेतृत्वमाथि बाह्य शक्तिकेन्द्रबाट सञ्चालित रहेको, सर्वसत्तावादी सोच र कार्यशैलीबाट चलेको, माफिया र दलालको घेराबन्दीमा फसेर उनीहरूकै स्वार्थसिद्धि गरेको, राजनीतिलाई सेवा होइन अर्थोपार्जन गर्ने पेसाका रूपमा लिएको जस्ता रंंगीन आरोप लागेको छ । यस्ता आरोपले कम्युनिस्ट नेतृत्वले मूल्यमान्यता, विचार, आदर्श, सिद्धान्त र संस्कारको राजनीति गरेको छैन भन्ने कुरा प्रस्ट पारिदिएको छ । त्यति मात्र होइन, नीति, लोकसम्मति, विधि, पद्धति र मर्यादाबमोजिम पार्टी चलेको छैन भन्ने कुरा जनाएको छ । जसले गर्दा बामपन्थीलाई कम्युनिस्ट हुँ भन्न नै लाजलाग्ने अवस्थामा पु-याएको छ । तसर्थ, तमाम कम्युनिस्ट नेता तथा कार्यकर्तामा समाजवाद’bout पुनर्जागरण गराई कम्युनिस्ट आन्दोलनलाई झनै गतिशील र सशक्त बनाउन जरुरी देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,091 times, 1 visits today)

epaper

ताजा समाचार

भारत भ्रमणअघि प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता