थाइल्यान्डसँग नेपालको हार

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । पहिलो हाफमा थाइल्यान्डलाई रोके पनि दोस्रो हाफको अन्त्यतिर २ गोल खाएपछि नेपाल २–० ले पराजित भएको हो ।

चोनबुरीमा बिहीबार भएको खेलमा घरेलु टोली थाइल्यान्डले बल पोसेसनमा अत्यधिक पकड जमाए पनि गोल गर्न दोस्रो हाफ नै कुर्नुपरेको थियो । रक्षापंक्ति तोड्न निकै कठिन भएको थाइल्यान्डलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले केही सुन्दर बचाऊ गर्दै खतरा निराश पारेका थिए । दोस्रो हाफमा पनि थाइल्यान्डको एकतर्फी आक्रमण रोकिएन । तर, नेपालको रक्षापंक्तिले एकपछि अर्को आक्रमण विफल पारिरह्यो ।

६७औं मिनेटमा थाइल्यान्डको प्रहार पोस्टमा लाग्दा नेपाल भाग्यमानी साबित भएको थियो । तर, ८२औं मिनेटमा थाइल्यान्डले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालका तीन डिफेन्डरले एकसाथ क्लियर गर्ने प्रयास फिलिप रोलरलाई लाग्दै गोल भएको थियो । निर्धारित समयको १ मिनेट बाँकी रहँदा थाइल्यान्डले अग्रता दोब्बर बनायो ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका चओवात विराचार्टले सुन्दर गोल गर्दै जित सुनिश्चित गरे । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेले पनि हारको शृंखला दोहोरियो । सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध २ खेल खेल्दा दुवैमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रशान्त अवस्थीले सिनियर टोलीबाट डेब्यु गरे । उनी खेलको ७१औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । मरिससविरुद्ध मैत्रीपूर्ण खेलका दौरान पहिलोपटक टोलीमा परेका उनले डेब्युको अवसर पाएका थिएनन् । थाइल्यान्डमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनी सातदोबाटोबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने तेस्रो खेलाडी बने ।

यसअघि मौरिससविरुद्ध मिडफिल्डरद्वय सुदीप गुरुङ र आकाश बुढामगरले डेब्यु गरेका थिए । नेपालले अब आइतबार थाइल्यान्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ । सो खेल क्लबसँग रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउनेछैन ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र