पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्रका ९ वटै तालको नयाँ मापदण्ड तोकेको छ । बुधबार राति सम्पन्न महानगर कार्यपालिका बैठकले फेवातालसहित ९ वटै तालहरुको मापदण्ड तोकेको हो ।
तोकिएको मापदण्डमा फेवातालको अब ३० मिटर मापदण्ड कायम भएको छ भने अन्य तालहरुको पनि घटाइएको छ । फेवाको यसअघि ६५ मिटर थियो ।
सर्वोच्चको आदेशको कार्यान्वयन नहुँदा अदालतको मानहानी मुद्दा खेप्दै आएकोमा चुनावको मुखमा आएर महानगरले बल्ल मापदण्ड तोकेको हो । महागनरले नयाँ मापदण्ड तोक्न पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीलाई जिम्मा दिएको थियो । उनको संयोजकत्वमा गठित समितिले प्राप्त सुझाव आधारमा नयाँ मापदण्ड तोकेको महानगरले जनाएको छ ।
पोखरामा फेवापछिको दोस्रो ठूलो ताल बेगनासको मापदण्ड घटाएर ५५ मिटर कायम गरिएको छ । यसअघि रुपाको पनि समान ५५ मिटर कायम गरिएको थियो । बेगनास र रुपातालको १ सय मिटर रहेकोमा दुवैको मापदण्ड ४५ मिटर घटाइएको छ ।
महानगरका गुँदे, न्यूरेनी, खास्टे तालको मापदण्ड २० मिटरमात्र कायम गरिएको छ । मापदण्ड बढी तोक्दा तालछेउका स्थानीयवासीलाई असर पर्ने देखेपछि मापदण्ड घटाइएको बताइएको छ ।
बैठकले तालका अलावा पोखराको पर्यटकीय एवं धार्मिक सम्पदाहरुको पनि मापदण्ड घटाइएको छ । अब मापदण्ड बाहिरका कित्ताहरुको जग्गा फुकुवाका लागि सम्बन्धित निकायलाई सिफारिस गर्न सकिने छ ।
झण्डै डेढ दशकअघि पोखरा उपत्यका नगर विकास समितिले तालको संरक्षणका लागि भनी ताल छेउका जग्गा रोक्का राख्ने निर्णय गरेकोमा जग्गाधनीले भने आफूहरुलाई सो निर्णयले अन्यायमा पारेको भन्दै विरोध जनाएका थिए ।
सर्वोच्चले आजभन्दा ४ वर्षअघि फेवातालको चार किल्ला कायम गर्न–गराउन सरकारका नाममा आदेश दिएको थियो । आदेशअनुसार विश्वप्रकाश लामिछाने संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार ६ महिनाभित्र तालको चारकिल्ला कायम गर्न–गराउन सरकारका नाममा आदेश दिएबमोजिम ढिलो गरी गत वर्षमात्र पुण्यप्रसाद पौडेल संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनअनुरुप फेवाको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकनसहित नयाँ नक्सा सार्वजनिक गरिएको थियो । प्रतिवेदनअनुसार हाल तालको कुल क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम छ ।






