काठमाडाैं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने जोसुकै व्यक्तिलाई पनि व्यक्तिगत विवरणसहित पार्टीमा सम्पर्क गर्न अपिल गरेको छ ।
शनिबार प्रगतिशील पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकपश्चात् महासचिव भरतकुमार थापाले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिलाई विवरणसहित पार्टी कार्यालयमा सम्पर्क गर्न भनेका छन् ।
कुनै पनि स्थानीय तहमा सक्षम तथा क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने प्रगतिशील पार्टीले निर्णय गरेको छ । महासचिव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका महानुभावले आफ्नो व्यक्तिगत विवरणसहित पार्टीमा सम्पर्क गर्न यो बैठक अपिल गर्छ ।’
प्रगतिशील पार्टीले स्थानीय तहमा दलीय आधारमा चुनाव गर्न नहुने निष्कर्ष छ । स्थानीय तहमा दलीय आधारमा चुनाव गर्दा सक्षम, क्षमतावान र इमानदार मान्छे जनप्रतिनिधि हुन कठिन हुने जनाएको छ । त्यसैले यसलाई स्वतन्त्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
‘स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुहँुदैन भनी जनता प्रगतिशील पार्टी नेपालको स्पष्ट धारणा रहँदै आएको छ । दलीय आधारमा हुँदा सक्षम, क्षमतावान् र इमानदार जनप्रतिनिधिको निर्वाचित हुन कठिन हुने, धन, बल र कथित दलीय अनुशासनको अत्यधिक प्रयोग भएको विगतको निर्वाचनको कटु अनुभव छ’ पार्टीको निष्कर्ष रहेको छ ।
पार्टीको सम्पन्न केन्द्रीय समितिको बैठकले स्थानीय तहमा उम्मेदवारलाई टिकट प्रदान गर्न प्रगतिशील पार्टीले जिम्मेवारी पनि तोकेको छ । प्रदेश १, मधेश र बाग्मती प्रदेशमा वरिष्ठ उपाध्यक्ष शिवजी यादवलाई र गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महासचिव ईश्वर दयाल मिश्रलाई टिकट प्रदान गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई संवैधानिक प्रावधानअनुसार पूर्वसरकारद्वारा जारी अध्यादेशलाई सर्वोच्च अदालतबाट रोक लगाएको निर्णयलाई पुनः सर्वोच्च अदालतद्वारा गल्ती सच्याएको निर्णयलाई कार्यान्वयनका लागि पुनः सो अध्यादेश जारी गर्न पार्टीले सरकारसँग माग गरेको छ ।
कैलालीका प्रतिनिधिसभा सदस्य रेशम चौधरीको अविलम्ब रिहाइ गर्न प्रगतिशील पार्टीले माग गरेको छ । घटनास्थलमा उपस्थिति नै नरहेका व्यक्तिलाई बन्दी बनाई राख्नु सर्वथा अनुचित र पूर्वाग्रहपूर्ण भएको निष्कर्ष बैठकको छ ।
बैठकले पार्टीको केन्द्रीय समिति सदस्य रामविलास दासलाई सहमहासचिवमा नियुक्त गरेको छ । यस्तै, केन्द्रीय सदस्यमा श्रीमन नारायण मिश्र र राम निवास यादवलाई मनोनित गरिएको छ । पार्टीको संगठन विभाग, निर्वाचन विभाग, विदेश विभाग, अर्थ विभाग र युवा तथा विद्यार्थी विभाग गठन गर्ने निर्णय बैठकले गरेको छ ।






