काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्व सहकर्मी तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’को संज्ञा दिएका छन् ।
काठमाडौं पार्टीको जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको काम नभएको भन्दै गफाडी रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली गफ दिन माहिर रहेको टिप्पणी गरेका छन् ।
‘कमरेडहरु, विश्वासका साथ अगाडि बढ्नुस् । हाम्रो पार्टीको भविष्य छ, यही पार्टीको भविष्य छ । गफाडीहरुको कुनै काम छैन् । गफाडीलाई गफ गर्न दिनुस् । अरुको अपमान गर्न दिनुस् । हामी काम गरेर देखाऔँ’ ओलीतर्फ संकेत गर्दै नेपालले भने ।
उनले एकीकृत समाजवादीलाई पार्टीलाई एउटा क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढाउन आफूले चाहेको बताए । पार्टीले नेपाली समाजमा विचारमा तरंग पैदा गरेको दावी नेपालको छ । व्यवहारमा पनि एउटा नयाँ उदाहरण प्रस्तुत गर्न चाहेको उनले बताए ।
इमानदारिता, निष्ठा, समर्पणको, देश निर्माणको, जनताको जीवनमा रुपान्तरणको संकल्प बोकेर नेपाल देशको गरिमालाई माथि उठाउँदै, नेपालीको स्वभिमानलाई माथि उठाउँदै विदेशीहरुसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले बताए ।
यस्तै उनले टावर र गेट निर्माणमा पैसा खर्च गर्न बन्द गर्नुपर्ने बताए । टावर र गेटले खान र लाउन नदिने बताउदै यस्ता काममा पैसा खर्च गर्न नहुने बताए । टावर र गेट बनाउँदा लागेको खर्च जोड्न आग्रह गर्दै उनले भने, ‘आवश्यकता नभएको टावर बनाउने चलनलाई बन्द गरिदिनुपर्छ । त्यसमा खर्च हुने करोडौँ रुपैयाँले बरु हामीले दुई सय वटा परिवारलाई बिना ब्याजको पैसा दिएर लगानी गर्न लगायौँ भने कल्याण हुन्छ ।’
उनले अघिल्लो सरकारका पालामा पानीजहाजको चर्चा भएको भन्दै अहिले त्यो हिन्द महासागरमा डुबिसक्यो कि भन्दै व्यंग्य गरे । आफूहरु त्यस्ता हावादारी कुरामा लाग्न नचाहेको उनले बताए ।
अध्यक्ष नेपालले आफूहरु स्वच्छता र इमानदारिताको उदाहरण बन्न चाहेको बताए । ‘राम्रो समाज बनाउनका लागि असल पालिका बनाउनका लागि व्यापक छलफल र बहसमा रमाउन चाहन्छौँ । नमूना नगरपालिका बनाउने कसरी ? ती गाउँपालिका र नगरपालिकामा हुनुपर्ने न्यूनतम सुविधाका कुराहरु त्यो ठाउँमा विद्यमान छ कि छैन ? हाम्रो ध्यान त्यहाँ जान्छ’ उनले भने ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले ओली प्रधानमन्त्री भएको बेलामा देशलाई दक्षिणपन्थी अवसरवादतिर लगेको आरोप लगाए । ओलीकै कारण देशलाई दक्षिणपन्थी अवसरवादको आहालमा डुबाउने खतरासमेत पैदा गरिएको उनले बताए ।
‘उनले अमेरिकाको सेवाको सेवा गर्न थाले, विदेशी गुप्तचरहरुको प्रमुखहरुसँग आधा रातमा साँठगाँठ गर्न थाले । के कुरा गरे, आज दुई करोड ९२ लाख नेपालीलाई केही पनि थाहा छैन् । हाम्रो परराष्ट्र मन्त्रालयलाई केही पनि थाहा छैन्, खै ‘मेमोरी’ ? कुनै पनि देशका प्रधानमन्त्रीले अरु देशमा मान्छेसँग कुरा गर्छन् भने ‘मेमोरी’ राख्ने चलन हुन्छ । त्यसलाई ‘इन्स्टिच्युसनल मेमोरी’ भनिन्छ, त्यो छैन्’ खनालले भने ।
ओलीजस्ता गैरजिम्मेवार मान्छेको हातमा नेतृत्व पुगेको हुनाले देशले दुःख पाएको खनालले बताए । यस्तै खनालले ४२ महिनासम्म सरकारमा बसेर ओलीले केही नगरेको बताए । ‘नेकपा एमालेको नेतृत्व गुटको नायक खड्गप्रसाद शर्मा ओलीको सरकारले एउटा फुटेको कौडी पनि गरेन । कुनै पनि काम गर्न सकेन’ खनालले भने ।
खनालले एमाले अध्यक्ष ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशौं टनको बनिरहेको दाबी गरेका छन् ।
उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्ला–जिल्लामा जान पनि ओलीलाई चुनौती दिदै भने, ‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरुलाई चाँही ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाँहि टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस् । अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौं टनको पार्टी बन्दैछ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु ।’
खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे । उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
माजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्ने गरी लाग्नुपर्ने उनले बताए ।






