भ्रुणहत्या गर्न बाध्य पारेको आरोप लागेका गाउँपालिका अध्यक्ष धरौटिमा रिहा

सांकेतिक तस्वीर

पाँचथर । १९ बर्षीया दलित मसुदायकी किसोरीलाई भ्रुणहत्या गर्न बाध्य पारेको आरोप लागेका जिल्लाको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत पाँचथरका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले चेम्जोङलाई बिहीबार ५५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । चेम्जोङमाथि २१ हप्ताको गर्भ फाल्न बाध्य पारेको मुद्धा छ । पीडित किशोरीले गत माघ २२ गते गाउँपालिका अध्यक्ष चेम्जोङसहित सात जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेपछि कार्यकक्ष बाहिर रहेका चेम्जोङ ३५ दिन कटेपछि अदालतमा हाजिर भएका हुन् ।

आरोपितमध्ये प्रहरीले पक्राउ गरेका तीन जना यसअघि नै जनही ८० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भइसकोका छन् । यसअघि धरौटीमा छुट्नेमा फिदिमस्थित समर्पित अस्पतालका चिकित्सक बिशालचन्द्र सुवेदी, सोही अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङ्बो र कुम्मायक–१, यासोकस्थित यासोक फार्मेसीका सञ्चालक खगेन्द्र घिमिरे रहेका छन् ।

कुम्मायक–५, का रमेश खड्काले यासोक बजारमा बस्दै आएकी सुकुम्बासी परिवारकी १९ बर्षीया किसोरीसँग प्रेम बिवाह गरेका थिए । पीडित किशोरीका अनुसार साउन २८ गते फिदिमस्थित शिवालय मन्दिरमा उनीहरुले बिवाह गरेका थिए । बिवाहपछि किशोरी गर्भवती बनेकी थिइन् । रमेशले बिवाह गरेपनि परिवारमा पीडित किशोरीलाई बुहारी नस्वीकारेको उनले बताइन् ।

उनै किशोरीको २१ हप्ताको गर्भ पुष २४ गते फिदिमको समर्पित अस्पतालमा फालिएको थियो । उक्त रहस्य बाहिर आएपछि आफूलाई गर्भपतन गराउन बाध्य पारेको भन्दै पीडित किशोरीले गाउँपालिका अध्यक्षसहित सात जनाबिरुद्ध जाहेरी दिएकी थिइन् । पीडित किशोरीको जाहेरी अनुसार प्रहरीले मुद्धा अगाडि बढाएको थियो ।

गर्भपतन नगरे गाउँपालिकाबाट दिइने सेवा, सुबिधाबाट बञ्चित पार्ने भन्दै अध्यक्षले दबाब दिएको पीडित किशोरीको भनाई छ । गर्भपतनका लागि अनुमति समेत नपाएको अस्पतालमा उनको गर्भपतन गराइएको थियो । श्रीमती, एक छोरा र एक छोरीका बाबु समेत रहेका रमेशले पीडित किशोरीसँग दोस्रो बिवाह गरेका थिए ।

बिपक्षी पारिएकामध्ये रमेश, उनका दाजु सन्तोष खड्का र दिदी कमला खड्का भने हालसम्म पनि फरार रहेका छन् । गाउँपालिका अध्यक्ष चेम्जोङले भने घटना’bout सामान्य जानकारी भएको तर आरोप लगाइएको जस्तो दबाब नदिएको बताउँदै आएका छन् । प्रहरीमा आफूबिरुद्ध जाहेरी परेदेखि नै सम्पर्कबिहीन अवस्थामा रहेका अध्यक्ष चेम्जोङले भने ब्यक्तिगत कामबिशेषले आफू केहि दिन कार्यकक्ष बाहिर रहेको पत्रकारहरुलाई बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान