स्थानीय निर्वाचन मतदानका लागि अब एक महिना मात्रै बाँकी छ । अब सबै नागरिक स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको व्यक्ति र दललाई भोट हाल्न प्रतीक्षा गरेर बसिरहेका छन् । अतः सबै यसका लागि तयार देखिएका छन् । कतै कतै निर्वाचन टार्ने वा पछि धकेल्ने हल्ला पनि चलिरहेको छ । तर, पनि सबैको तयारी भने समयमै निर्वाचन गर्ने तिरै गएको देखिएको छ । यसको सफलताका लागि निर्वाचन आयोगले सबैका लागि समान रूपमा लागू हुनेगरी आचारसंहिता लागू गरिसकेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आवश्यक सबै प्रावधानको व्यवस्था गरेको छ । निर्वाचन समयावधि निकै छोटो भए पनि निर्वाचन आयोगले निकै सह्रानीय काम गरेको छ । यसले देशलाई अस्थिरतातिर जानबाट रोक्ने देखिएको छ । प्रजातन्त्रमा आवधिक निर्वाचन नै यसको प्राण हो । यो रोकिनु भनेको मुटुको धड्कन रोकिनु बराबर हो । त्यसैले पनि राजनीतिक दलले निर्वाचनको तयारी तोकिएको समयमै गरिसक्नुपर्छ । हो, पहिलेका निर्वाचनका तुलनामा यस वर्षको तयारी निकै कम रहेको छ । तर, पनि समय कम वा अपुग भएको भने होइन । तयारी मूलतः सरकार र प्रतिपक्षीले नै गर्ने हो ।
निर्वाचन आयोगले यी सबैको सल्लाह लिएर यी काम पूरा गरेको देखिएको छ । आचारसंहिताबमोजिम दलबाट निर्वाचन प्रचारका काम सुरु त भएका छन्, तर आमजनतामा सोचेअनुसार उभार भने आउन सकिरहेको छैन । अर्कातिर विगतभन्दा यसपटक आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ पनि गरेको छ । जुन निकै राम्रो हो । सबै राजनीतिक दल र उम्मेदवारले आचारसंहितालाई मनन गर्न जरुरी छ । उम्मेदवारले तडकभडक नगर्ने व्यवस्था पनि राम्रो छ । अबका दिनमा आचारसंहितालाई सबैले पालना गरी अघि बढ्नुको विकल्प देखिँदैन । निर्वाचनको मुखैमा आएर आचारसंहिताको उल्लंघन कसैका लागि पनि फाइदाजनक छैन । आचारसंहिता सबैका लागि हो र यो समान रूपमा लागू हुनुपर्छ पनि । यसको कार्यान्वयन समान रूपमा गरिनु जरुरी हुन्छ । हालका लागि विद्युतीय प्रचार सामग्रीमा कडाइ गरिनु पनि जरुरी छ । हातहातमा मोबाइल भएपछि विद्युतीय सञ्चार माध्यममा केही अप्ठ्यारा पनि देखापरिरहेका छन् ।
यसमा अनावश्यक उत्तेजक प्रचार प्रसार पनि भइरहेका छन् । यसमा प्रकाशित सामग्री सेयर गरिनुले पनि समस्या पैदा गरिरहेका छन् । गलत, भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउन्ट सञ्चालन गर्न वा कसैको चरित्र हत्या हुने गरी व्यक्तिगत लाञ्छना लगाउन निषेध गरिनु आचारसंहिताका निकै राम्रा पक्ष हुन् । आचारसंहिता लागू भइसकेकाले दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टी–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट आदि लगाएर हिंड्न मनाही गरिएको छ । त्यसैगरी स्टिकर, लोगो, झोला, ब्याच पनि प्रयोगमा ल्याउन बन्देज गरिएको छ । तर, पनि दलले आ–आफ्ना जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी काम गरिरहेका छन् । यसलाई संयमताका साथ सञ्चालन गर्न आयोगले सुझाएको छ । प्रचारप्रसार कार्यक्रमका लागि बाधा व्यवधान आयोगले गरेको छैन । बरु संयमित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि व्यवस्था गरिएकाले आचारसंहिताको पालन र कार्यान्वयन हुनु जरुरी छ ।






