काठमाडौँ । भदाै ३ मा सार्वजनिक हुने चलचित्र ‘प्रेमगन्ज’काे पहिलो गीत सार्वजनिक भएकाे छ । मंगलबार दरबारमार्गस्थित हलमा औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘तरबार’ बोलको यो गीतमा अभिनेत्री बेनिशा हमालले लोभलाग्दो नृत्य गरेकी छिन् ।
बेनिशा हमालले गीतलाई लिएर आफू साँच्चिनै उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन् । ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ बेनिशाले भनिन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन् । चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’लाई स्पट ब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । निर्माता अनन्तमान श्रेष्ठले फिल्म क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी रहनुपर्छ तब मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचसहित फिल्म निर्माणमा संलग्न भएको धारणा राखे ।
थुप्रै नेपाली फिल्मको मुख्य सहायक भई काम गरेका परिच्छेद सेनले ‘मदर’, ‘स्ट्राइक’जस्ता अवार्ड विजेता फिल्मको निर्देशन गरेका छन् । ‘प्रेमगन्ज’ भने उनको फिचरमा डेब्यू हो । उनले मनोरञ्जक चलचित्र बनाउने प्रयास गरेको बताएका थिए ।
वाइल्ड रिपर्ज क्रिऊको कोरियोग्राफी रहेको गीतलाई किरण भुषालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
फिल्ममा तेज र बेनिशाका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित विष्ट आदिको अभिनय रहेको छ । फिल्मबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यू गर्दैछन् ।






