बलात्कार र यौन हिंसाका घटनाहरू आदिकालदेखि नै, जुनबेला फिल्म तथा इन्टरनेटजस्ता माध्यमहरू थिएनन्, हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर, प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटना निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटना यसरी बढ्नुका पछाडि स्वयं हाम्रो समाज पनि दोषी छ ।
थुप्रै सामाजशास्त्रीले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डरधाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, को लक्षण पनि हो भनेका छन् । अर्को कुरा, हाम्रो जस्तो समाजले यस्ता घटनाहरूलाई लुकाउन छिपाउन नै ठीक ठान्छ । यसरी बलात्कार तथा यौनहिंसाका घटनालाई लुकाउने छिपाउने दबाउने प्रवृत्तिका कारण एकातिर बलात्कारीको मनोबल बढ्ने गर्छ भने अर्कोतिर बलात्कारको आघातले पीडितलाई आँसु पिएर आतंकित जीवन बाँच्नुपर्ने हुन्छ । कतिपय पीडितमा यस्तो आतंक यति भयवाह हुन्छ कि यसले गम्भीर मानसिक समस्या पैदा हुन्छ । कतिपयले त पीडा सहन नसकेर आत्महत्या नै गर्छन् ।
बलात्कार किन हुन्छ ?
बलात्कारका अनेक कारण हुन्छन् । तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरणले पनि बलात्कारीलाई बलात्कारका लागि उत्प्रेरित गर्ने गर्छ । अध्ययन भन्दछ, ‘पोर्नोग्राफी’ हेर्ने व्यक्तिको मस्तिष्क बढी ‘अब्सेसिब’ हुनुको साथै मन कामुक हुने गर्छ । अधिकांश यस्ता व्यक्तिमा पोर्न भिडियोमाझैं यौनक्रिया गर्ने लालसा पैदा हुन्छ । अनि जब अनुकूल वातावरण पैदा हुन्छ, यस्ता व्यक्ति बलात्कार गर्न पनि पछि पर्दैनन् ।
प्रेम, आदर र सहानुभूतिको वातावरण सिर्जना गर्न सकेमा घरबाहिर र घरभित्र बलात्कारका घटनामा धेरै कमी आउने पक्का छ
मनौवैज्ञानिक दृष्टिमा पुरुषमा हुने पुरुषत्वको अहम् तथा महिलालाई यौनसन्तुष्टिको साधन मान्नु पनि बलात्कारको एक प्रमुख कारण हो । यस कुरामा जोड दिँदै महिलावादी लेखिका सुशन ब्राउनमिलरले भनेकी छिन्, ‘बलात्कार कामुकता (लस्ट) का कारणले होइन कि नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ ।’
बलात्कार एक सामान्य घटना होइन । त्यो ’cause, बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा समेत गहिरो चोट परेको हुन्छ । यस्ता महिलाले लोकलाज, अपमानित, भ्रम, भयत्रास, तनाव, क्रोध तथा बदलाको अनुभव गर्छन् । यस्ता लक्षण एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म पनि देखा पर्न सक्छन् । तर, धेरै बलात्कृत महिला ‘पीटीएसडी’को सिकार बन्न पुग्छन् भने कतिपयले आत्महत्या गर्छन् । मेरो इज्जत लुटियो अब सबै खत्तम भयो भन्ने मानसिकता हाम्रो समाजले नै सिकाएको हो र यस्तो मनस्थिति सिर्जना गर्न फिल्महरूको पनि प्रभाव छ ।
बलात्कार समाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि बढ्दै गएको बलात्कारका घटना रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपाय अपनाएका छन् । कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।
बलात्कार तथा यौनहिंसाका घटनालाई लुकाउने प्रवृत्तिले बलात्कारीको मनोबल बढ्नुका साथै बलात्कारको आघातले पीडितलाई आँसु पिएर आतंकित जीवन बाँच्नुपर्ने हुन्छ
हो, कठोर दण्डसजायले केही हदसम्म भए पनि बलात्कारका घटनामा न्यूनीकरण गर्न सक्षम देखिन्छ । तर, कठोर सजाय मात्र बलात्कार रोक्ने उपाय भने होइन । न त कुनै देश पोर्न, अश्लील साहित्य तथा सिनेमा पूर्णतया प्रतिबन्ध गर्न सफल हुन सक्दछ, न त प्रतिबन्ध तथा कडा ‘सेन्सरसिप’ नै यसको समाधान हो ।
बलात्कारजस्तो क्रूर हिंसा प्रायः यौनिकताबाट प्रेरित हुन्छ, त्यसैले यसलाई जीवविज्ञान तथा मनोविज्ञानका स्तरबाट बुझ्न र बुझाउन आवश्यक छ । यौन इच्छा, यौन सम्र्पक तथा प्रजननलाई जब वैज्ञानिक तरिकाले बुझ्ने र बुझाउने प्रयास हुन्छ, तब मात्र यौनको रहस्यात्मकता, कौतुहलता तथा यससँग जोडिएको आक्रामकताको समन हुन सक्दछ । इन्टरनेट तथा सोसल मिडियाको विवेकपूर्ण तथा सुरक्षित ढंगबाट उपयोग गर्न सिक्नु र सिकाउनु पनि एक महत्वपूर्ण कडी हो ।
कतिपय चिकित्सक, प्रहरी, वकिल तथा न्यायाधीशको संवेदनहीन रवैया र सहानुभूतिको अभावका कारण बलात्कृतले न्याय नपाउने स्थितिसमेत पैदा हुन्छ । यही कारणले कतिपय बलात्कार पीडितले आफ्नो रिपोर्ट फिर्ता लिन्छन्, कतिपयले त रिपोर्टै गर्दैनन् । वास्तवमा यो अहिंसा, करुणा, सहानुभूति (इम्प्याथी) तथा मानवीय गरिमाप्रति सम्मानको भावना विकसित गर्ने एक महान् सामाजिक तथा सभ्यतामूलक चुनौती हो ।
बलात्कारका घटनामा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो ’cause, समाजका घटेका अधिकांश बलात्कारका घटनाहरू पुरूषद्वारा नै गरिएको देखिन्छ । त्यसैले, यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा तथा यौनशिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ ।
महिलाहरू पनि बलात्कारप्रति सचेत हुने, यसबाट बच्ने उपाय अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र यौन शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायमा उजुरी गर्ने साहस देखाउने र मानिसहरूले समाजमा प्रेम, आदर र सहानुभूतिको वातावरण सिर्जना गर्ने हो भने घरबाहिर होस् वा घरभित्र होस्, बलात्कारका घटनामा धेरै कमी आउने पक्का छ । हो, प्रेम, आदर, सहानुभूति सिक्ने/सिकाउने तथा सिर्जना गर्ने सभ्यताको बाटो निश्चित रूपमा बहुत गाह्रो र लामो छ, तर असम्भव चाहिँ छैन ।






