काठमाडौं । सस्तो ब्याजदरको लोभ देखाई कर्जा दिई बिनाजानकारी ब्याज बढाएर ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डूप्रति सर्वसाधारण मात्र नभई सेलिब्रिटीहरूसमेत ठगिएका छन् ।
लोभ देखाई कर्जा वितरण गर्दा बैंकको खराब कर्जा नै १.४५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
कर्जामा ठग्दै आएको सो बैंकले मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा लिने गरेको अभिनेत्री लक्ष्मी बर्देवाले बताइन् ।
उनले आफ्नो फेसबुकमार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
यसैगरी, बीओकेका अर्का ग्राहक प्रमोद रेग्मी भन्छन्, ‘यस्तो झुर बैंकको इन्टरनेटवर्कको कारणले सेवा नलिनु नै उत्तम हो या खाता बन्द गरी अर्को बैंक प्रयोग गर्दा सर्वोत्तम ।’
अर्का ग्राहक अरुण बाबु श्रेष्ठ भन्छन्, ‘बिनासूचना यो बैंकले मेरो खातामा इन्टरनेट बैकिङ चार्ज भनी कटाएको रकम थाहा पाएपछि मैले निवेदन दिएर कट्टी गरिएको रकम रिभर्स गर्न लगाएको छु ।’
बैंकको सेवाबाट आजित भएका सुदर्शन सुवेदीले भने, ‘बीओकेले सर्वसाधारण बचतकर्ताको नियमित बचतसमेत दुई÷तीन महिनामै खाता ब्लक गरेर केवाईसी, आयकर प्रमाणपत्र आदि झन्झटिलो बनाई पैसा ब्लक गरेर हैरान गर्ने गरेको छ । यो बैंकमा विश्वास नगरौं, कुनै पनि बेला फस्न सक्छ ।’
राष्ट्र बैंकका अनुसार कुनै कार्डबाट भुक्तानी हुँदा रिफन्ड गर्नुपर्ने रकम १४ दिनभित्र ग्राहकको खातामा फर्काइसक्नुपर्ने हुन्छ ।
तर, प्राविधिक समस्याका कारण अभिनेत्री बर्देवाको भुक्तानी गर्नुपर्ने रकम दुईपटक काटियो । यसपछि उनले भाटभटेनीमै समस्या राख्दा सुनुवाइ नभएको बताइन् ।
यसअगाडि पनि यसैगरी दोहोरो रकम काटिने समस्या भोगेको कुरा पनि उनले खुलाएकी छन् ।
बैंक अफ काठमान्डुका यस्ता ग्राहक असन्तुष्ट पार्ने प्रवृत्तिका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २५.५३ प्रतिशत घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । ग्राहकलाई कर्जा लोभ्याउँदै फसाउन थालिएपछि बैंकको कर्जा तिर्न असमर्थ भएपछि बैंकको खराब कर्जा पनि बढ्न थालेको हो ।
बैंकको कर्जा चंगुलमा फस्नेमा सर्वसाधारण मात्र नभई विशिष्ट व्यक्ति पनि परेका छन् । भन्नेबेलामा एकथरी र हस्ताक्षर गराउने समय अर्कोथरीमा हस्ताक्षर गरी बैंकले ग्राहकलाई समस्या पार्दै आएका छन् । सानो अक्षरमा प्रिन्ट गरिएको र पढ्न पनि धेरै समय लाग्ने सर्तमा हतारहतार हस्ताक्षर गराई बीओकेलाई ग्राहकलाई फसाउने गरेको छ ।
२०७३ सालमा हायर पर्चेजमा कर्जा लिएका एक ऋणी बीओकेको कर्जा जालमा अहिले पनि फसी नै रहेका छन् । उनले कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ ।
मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्नेगरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदाहुँदा ब्याज झन्झन् बढाउँदै लगेको उनले गुनासो गरे ।
कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यतित्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो ।
उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जतिजति ईएमआई भर्दै गयो त्यतित्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’
२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥याइयो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन्झन् बढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो छ । नेपाल राष्ट्र बैंकको निर्देशिका उल्लंघन गर्दै बीओकेले कर्जामा अस्थिरता कायम गरी नै रहेको छ ।
बीओकेले २०७७ को फागुनमा पनि बिनाजानकारी ब्याज बढाई ईएमआई भराएको थियो । २०७८ को जेठमा र गत मंसिरमा पनि बीओकेले कर्जाको ब्याजदरमा मनपरी गरेको उनको भनाइ छ ।
यस्तै, बैंकको चंगुलमा फस्नेमा पर्छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । घर धितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनकी श्रीमती सीता भट्टराईले राजधानीलाई बताइन् ।
९ प्रतिशतमा कर्जा पाउने भएपछि अर्को बैंकमा प्रक्रिया रोकेका कालाखेती परिवार तब झस्किए जब कर्जा लिनेबेलामा ११ प्रतिशत ब्याज हुने भनियो । लौ त अब के गर्ने भनेर हार मानेर कर्जा लिन सहमत भएका कालाखेतीले कर्जाको कागजमा १३ प्रतिशत ब्याजदर हुने कुरा हस्ताक्षर गरी प्रक्रिया पु¥याइसकेपछि मात्र थाहा पाएको बताए ।
८४ किस्ता तिरिसकेपछि अब कर्जामुक्त भएको ठानेका निलमणि कालाखेती तब झस्किए जब सबै किस्ता तिरिसक्दा पनि अझै १ लाख ५५ हजार कर्जा बाँकी रहेको भनेर बैंकले जानकारी दियो ।
यस्तै, कारणले गर्दा ग्राहकले बीओकेलाई पत्याउन छाडेका छन् । जसले गर्दा बैंकको निष्क्रिय कर्जा बढ्दो क्रममा छ । बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंक अफ काठमाण्डूको गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२१ प्रतिशतले नाफा घटेकोे हो ।
यसले गर्दा बैंक अफ काठमाण्डू वर्तमान अवस्थामा दिन प्रतिदिन खस्किँदै गएको छ । बैंक खस्किएसँगै कर्मचारीहरूमा गुटबन्दी र एकले अर्कालाई फसाउने धन्दासमेत चलेको छ । सो बैंकका पूर्वसीईओ अजय श्रेष्ठलगायत उच्चपदस्थ कर्मचारी त झन् बैंकिङ कसुरमा परेपछि विश्वसनीयता गुम्दै गएको छ ।
बैंक पाँच वर्षअघिभन्दा पनि कमजोर अवस्थामा पुगेको छ । बैंकका महŒवपूर्ण सूचक घट्दो क्रममा देखिएका छन् ।
बैंक सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ छन् । सञ्चालक सदस्यमा राधेश पन्त, विजयकुमार श्रेष्ठ, गोविन्दप्रसाद शर्मा रेग्मी, मदनलाल जोशी, अमृता उप्रेती र मोहोना लोहनी छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा श्रवणलाल मास्के छन् ।
बैंकको पाँच वर्षको तथ्यांक हेर्दा विगतका दुई वर्षमा न्यून प्रतिसेयर आम्दानी रहेको छ । बैंकको आर्थिक वर्ष २०७३÷७४ मा प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा थियो यो घट्दै आर्थिक वर्ष २०७७÷७८ मा १७ रुपैयाँ ८८ पैसामा सीमित भएको छ ।
बैंक अफ काठमाण्डूले आर्थिक वर्ष आर्थिक वर्ष २०७४÷७५ मा २५ प्रतिशत लाभांश दिएकोमा यो प्रत्येक वर्ष घट्दै आए र २०७७÷७८ मा आइपुग्दा १४ प्रतिशत मात्र दिन सकेको छ ।
बैंकप्रति असन्तुष्ट राधा तामाङ भन्छिन्, ‘म पनि परेको छु बीओकेको फन्दामा ५ वर्षमा १५ लाखको ब्याज ७ लाख तिराए । अब पुग्यो बीओके ।’
अर्का ग्राहक बालकृष्ण रिजाल लेख्छन्, ‘बैंक अफ काडमाण्डुबाट धेरै पीडितमा म पनि हो । ६० किस्ता तिर्ने भनेर लिएको ६८ किस्ता पु¥यायो ।’ यस्ता बैंकको छानबिन गरियो भने धेरै कुरा पत्ता लाग्ने वीरेन्द्र धामी उल्लेख गर्छन् । उनले भने, ‘सुरुमा कर्जा लिने बेलामा ब्याज एउटा तमसुक बनाएपछि अर्को गर्छन् ।’






