फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए

काठमाडौं । प्रहरी प्रशासनको बलमा काठमाडौं उपत्यकाको फोहोर फाल्न बन्चरेडाँडा पुगेका ट्रकहरू स्थानीयले काठमाडौं नै फर्काइदिएका छन् ।

उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका करिब डेढ सय ट्रक स्थानीयवासीले आन्दोलन गरेर काठमाडौं नै फर्काइदिएका हुन् । उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर बुधबार विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गरेपछि फोहोर बोकेर गएका ट्रक विसर्जन नै नगरी फर्काइएको हो । मंगलबार प्रहरीको बलमा काठमाडौंको फोहोर फालिएको थियो ।

सरकारले बुधबार पनि प्रहरीको सहयोग लिएर फोहोर विसर्जन गर्ने प्रयास गरेको थियो । ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएर फोहोर बोकेका ट्रकलाई रोकेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि फोहोर बोकेका गाडी फर्काइएको थियो ।

स्थानीयबासिन्दाले सरकारले प्रहरी प्रशासन लगाएर घरघरमा पसेर धरपकड गरेको जनाएका छन् ।

स्थानीयले शान्तिपूर्ण रूपमा यसअघिका सहमति कार्यान्वयन गर्न माग गर्दा राज्यले ज्यादती गरेको समेत जनाएका छन् ।

प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो । त्यस क्रममा ठूलो संख्यामा स्थानीय सडकमा जम्मा भएर आन्दोलनमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई हटाउन खोज्दा झडपको स्थिति सिर्जना भएको थियो ।

स्थानीयको आन्दोलनका कारण फोहोर बोक्ने तीन वटा गाडीको सिसा फुटेको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबार उपत्यकाबाट १ सय ५७ ट्रक फोहोर ल्यान्डफिल साइटमा लगिएको जनाएको छ । महानगरपालिकाले गत १२, १३ र १४ जेठसम्म सिसडोलमा फोहोर विसर्जन गरिएको र त्यसपछि स्थानीय अवरोधका कारण फोहोर ढुवानी रोकिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा