पोखरा । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राखिने बताउँदै त्यसका लागि दिएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न पनि निर्देशन दिए ।
गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिको लागि शनिबार आयोजित प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला
उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणरूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै अझ मेहनत गर्न सुझाव दिए । २०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त एवं जनअपेक्षाअनुरुप चल्न प्रशिक्षण दिइएको स्पष्ट पारे ।
यसपालिको चुनावमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने अनुमान गरिएकोमा प्रभावकारी गठबन्धन अभावमा सोचेजस्तो नतिजा आउन नसकेको उनले स्वीकारे । माओवादी प्रभाव भएका कतिपय जिल्लामा गठबन्धन सम्मिलित दलले तालमेल मर्मविपरीत एमालेसँग मिलेर माओवादीलाई नै पराजित गरेको भन्दै उनले असन्तुष्टी जाहेर गरे ।
जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको दाबी गर्दै उनले संघीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैं सचेत हुनुपर्ने बताए । विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको औंल्याए ।
उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘हामीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रुणहरु बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला ।’
उनले जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी अहिले पहिचानको क्राइसिसमा छौं । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यसपटक त्यस्तो हुनु हुँदैन ।’
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठल पूँजीवाद भत्काउन र समाजवादको बाटोमा जानु अहिलेको कार्यनीति हो भने ।
संविधानविद् खिमलाल देवकोटालगायतले सहभागीलाई स्थानीय तह सञ्चालन, कानुन निर्माणलगायत विषयमा प्रशिक्षण दिएका हुन् । पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङका अनुसार प्रशिक्षणमा गण्डकीका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचन विषयमा रिपोर्टिङ गरेका थिए ।
गण्डकी प्रदेश सरकारले स्थानीय तह चुनावमा प्रदेशका ८५ पालिकाका प्रमुख उपप्रमुखहरुको लागि शुक्रबारदेखि आयोजना गरेको प्रशिक्षण अवसरमा माओवादीले पनि आफ्नो पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको हो ।






